काठमाडौं : काठमाडौ उपत्यकामा थप ४८ वटा सार्वजनिक चर्पी बन्ने भएका छन् । यसका लागि काठमाडौ महानगरपालिकाले आर्थिक बर्ष ०७३÷७४ को योजना तथा कार्यक्रममा सार्वजनिक चर्पी तथा सहरी सेवा केन्द्र निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा बन्न लागेको चर्पी अहिलेका भन्दा आधुनिक र सुविधा सम्पन्न हुने महानगरपालिकाले जनाएको छ । चर्पीमा सोलार बत्ती, बायोग्यास प्लान्ट र पानी कम खपत हुने प्रविधि पनि जडान गरिने महानगरपालिकाले जनाएको छ ।

अधिकांश चर्पी सडक छेउमा बनाइने भएकाले महानगरपालिकाले सडक विभागसँग स्वीकृति लिने प्रक्रिया अघि बढाएको छ । महागरपालिकाका अनुसार कलंकी, त्रिभुवन विमानस्थल, स्वयम्भू चोक, महाराजगन्ज लगायत अति व्यस्त ठाउँमा सुविधा सम्पन्न चर्पी बनाइनेछ । कलंकी लगायत अति व्यस्त हुने ठाउँमा रत्नपार्कमा जस्तै केही दूरीकै फरकमा अर्को चर्पी बनाइनेछ । नक्सा डिजाइन र स्थान महानगरपालिकाले उपलब्ध गराउनेछ भने निर्माणको जिम्मा लिएको कम्पनीले निर्माणपछि केही समय सञ्चालन गर्न पाउनेछ ।
अहिले काठमाडौं महानगरका ३५ वटै वडा गरी २९ सार्वजनिक चर्पी छन् । नयाँ चर्पी बनेपछि पुराना चर्पी बिस्तारै बन्द हुँदै जानेछन् । आर्थिक बर्ष ०७२÷७३ को बजेटमै तत्कालीन अर्थमन्त्री रामशरण महतले काठमाडौंमा ४ सय सार्वजनिक चर्पी बनाउने घोषणा गर्नुभएको थियो ।


903 पटक हेरिएको 

