काठमाडौ : खानेपानी तथा ढल निकास विभागले सत प्रतिशत घरमा चर्पी निर्माण भई प्रयोग भइरहेका जिल्लाहरुलाई तत्काल खुला दिसामुक्त घोषणा गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ ।
भोजपुर, संखुवासभा, पाल्पा, डोल्पा, हुम्ला, मुगु, दार्चुला र कञ्चनपुरका सबै घरमा चर्पी निर्माण भएकाले क्षेत्रीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मार्फत अनुगमन तथा प्रमाणीकरणको व्यवस्था मिलाउन जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरुलाई परिपत्र गरेको हो ।
सरसफाइ गुरुयोजना २०६८ ले खानेपानी तथा ढल निकास विभागलाई राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सदस्य तोकेको छ भने वातावरणीय सरसफाइ शाखाका प्रमुख, सचिवालयको सदस्य सचिव रहने व्यवस्था छ ।
यी जिल्लाले कात्तिक भित्र खुला दिसामुक्त घोषणा गर्नुपर्ने
विभागले सोलखुम्बु, सुनसरी, सिन्धुली, रुपन्देही, बाँके र कैलालीमा २ प्रतिशत भन्दा कम घरधुरीमा मात्र चर्पी बनाउन बाँकी रहेकाले ती जिल्लामा जनचेतना, समन्वय लगायत स्थानीयस्तरबाट गर्न सकिने क्रियाकलापहरु अवलम्बन गरी सबै घरधुरीमा चर्पीको सुनिश्चितता गर्न अनुरोध गरिएको छ । साथै ती जिल्लालाई पनि कात्तिक महिनाभित्रमा खुला दिसामुक्त घोषणा गर्ने व्यवस्था मिलाउन विभागले अनुरोध गरेको छ ।
अहिलेसम्म ४१ जिल्ला खुला दिसामुक्त भइसकेका छन् । सरकारले सन् २०१७ भित्र सबै नेपालीको घरमा सरसफाइको आधारभूत सुविधा पु-याउने राष्ट्रिय लक्ष्य राखेको छ । खानेपानी तथा ढल निकास विभागका अनुसार अहिलेसम्म ९२ प्रतिशत घरमा सरसफाइको आधारभूत सुविधा पुगेको छ ।