नुवाकोट : नुवाकोट र रसुवाका भूकम्प प्रभावित बस्दै आएको इन्द्रायणी अस्थायी शिविरका शौचालयको खाल्डो भरिएपछि प्रयोगविहीन भएका छन् । सबै जसो शौचालयका खाल्डो भरिदै गएकाले प्रयोग गर्न छाडेको शिविरमा बस्दै आएका नुवाकोट भाल्चेका डापेन तामाङले बताउनुभयो । ‘सेफ्टी ट्याङ्क भए त जसोतसो ठिकै हुन्थ्यो, खाल्डो भरिएर दिसापिसाब गर्ने सतहमै आएपछि प्रयोग गर्न गाह्रो भयो’ उहाँले भन्नुभयो
इन्द्रायणी अस्थायी शिविरमा रसुवा र नुवाकोटका गरी १ सय २१ घरको बसोबास छ । ती मध्ये २५५ महिला र २६४ पुरुष छन् । शिविरमा बस्दै आएका ५१९ जनाका लागि ५४ वटा अस्थायी शौचालय छन् ।
खाल्डो भरिएपछि कतिले आफ्नै प्रयासमा शौचालय अन्यत्र सारेर बनाएपनि धेरै जसोले खुला रुपमा वा ताला लगाएर राखेका छन् । एउटा शौचालय झण्डै १० जनाले प्रयोग गर्नुपर्ने र चाँडै भरिने भएकाले चार पटक सम्म ठाउँ ठाउँमा सारिसकेको शिविरमा बस्दै आएका रसुवा हाकुका छेवाङ तामाङले बताउनुभयो ।
भूकम्प गए लगत्तै खानेपानी र सरसफाइको अभावमा रोग फैलिन सक्ने भएकाले विभिन्न संघसंस्थाले शिविरमा शौचालय र खानेपानीको प्रबन्ध मिलाएको थियो ।
खुला दिसा हुने सम्भावना
इन्द्रायणी शिविरमा बसोबास गर्दै आएका भूकम्प प्रभावितले अहिलेसम्म शिविर आसपासको वातावरणलाई स्वच्छता कायम राखेका छन् । सड्ने फोहोरमैलालाई खाल्डो खनेर गाड्ने र जल्ने फोहोर जलाएका पनि छन् । जसका कारण शिविर आसपासको वातावरण प्रदुषित हुन पाएको छैन ।
तर शौचालयका खाल्डो दिसाले भरिदै गएपछि शिविर बाहिर दिसापिसाब गर्ने सम्भावना बढेको छ । ‘अहिलेसम्म त बाहिर कसैले पनि दिसा गरेका छैनन्, शौचालयमा पस्न जाँदा दिसापिसाबको आहाल भएपछि बालबालिका त बाहिर गएर दिसा गर्छन् नै, त्यसैले आफ्नै प्रयासमा शौचालय अन्यत्र सारेर भएपनि फोहोर हुन नदिन मैले सबैलाई भन्ने गरेको छु’ भूकम्प पीडित सहयोग समिति इन्द्रायणी चौरका संयोजक दिलमान तामाङले भन्नुभयो ।