
सुर्खेत : खानेपानीको माग गर्दै गाउँपालिकामा धाई रहने, आफूलाई समाजसेवीको रुपमा प्रस्तुत गर्ने व्यक्तिकै घरमा खानेपानीको पाईपै पाइप भेटिएको खबर पत्यार नलाग्न सक्छ । तर दैलेखको गुराँस गाउँपालिकामा केही समय अघि यस्तै घटना भएको रहेछ ।
दैलेखको गुराँस गाउँपालिकाको वडा नं. ६ बाट एक जना बसाई जान लागेको व्यक्तिको घरमा १६ कोयल पाईप भेटेपछि हंगामा मच्चिएछ । ती व्यक्ति अहिले बसाई सरेर बाँके पुगेका छन् रे ।
केही समय अघि कर्णाली प्रदेश स्तरीय खानेपानी, सरसफाइ र स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा गोष्ठीको शीलशीलामा स्थलगत अध्ययनका लागि गाउँपालिकामा पुगेको टोलीसँग पालिका अध्यक्ष टोप बहादुर बिसीले विगतमा पानी माग्ने जनतालाई पाईप वितरण गर्दा यस्तो स्थिति सिर्जना भएको बताउनुभयो ।

यसैको परिणाम हुनसक्छ, गुराँस गाउँपालिकामा ७१ प्रतिशत भन्दा बढी नागरिक अझै आधारभूत स्तरको खानेपानी सेवाबाटै वञ्चित रहेको पाईएको छ । गाउँपालिकाका वास फोकल पर्सन वसन्त शर्माले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार सुरक्षित खानेपानीको पहुँचमा पुगेको घरधुरी गाउँपालिका भरिमा शून्य रहेको छ ।
गाउँपालिकाकै पाइप व्यक्तिको घरमा भेटे पनि त्यसपछि के भयो भन्ने बारे उहाँले केही खुलाउनु भएन । वडा नं. ८ का अध्यक्ष पूर्ण बहादुर ओलीका अनुसार गुराँस गाउँपालिकामा २०७४ देखि २०७८ सम्म करिब १ करोड भन्दा बढीको पाइप बाँडिएको थियो ।
‘घर सर्च गर्दै जाने हो भने निक्कै घरमा अहिले पनि पाइप भेटिन सक्छ, कतिले त ५० प्रतिशत मूल्य घटाएर सुर्खेत लगेर बेचेको भन्ने पनि सुनिन आएको छ’ अध्यक्ष बिसीले भन्नुभयो ।
खानेपानीको समस्याले आकुलव्याकुल भएको जनतालाई पानीको प्रबन्ध मिलाउनुको साटो घरघरै पाइप बाँड्दाको परिणाम गाउँपालिकाले अहिले भोगिरहेकाले आफ्नो कार्यकालमा पानी नै वितरण गर्ने गरी काम भैरहेको उहाँले बताउनुभयो ।
‘हामीले डुँडापोखरी भन्ने ठाउँमा खानेपानीको प्रबन्ध मिलायौं, घरघरमा धारा पुर्याउनका लागि हामीले हेल्भेटास, सोसेक नेपाल, सुस्वा लगायत संघसंस्थासँग पनि साझेदारी गरिरहेका छौं’ उहाँले भन्नुभयो ।
जलउपयोग गुरुयोजना निर्माण, पालिका भरिमा १७९ योजना आवश्यक
गाउँपालिकाले पञ्चबर्षीय जलउपयोग गुरुयोजना निर्माण गरी प्राथमिकता निर्धारण एवं आवश्यकता पहिचान गरिसकेको र प्राथमिकता प्राप्त आयोजना निर्माण सम्पन्न भएपछि सबै जनसंख्यामा आधारभूत स्तरको खानेपानी सुविधा पुग्ने उहाँले बताउनुभयो ।
गुरुयोजना अनुसार गुराँस गाउँपलिकाका बाँकी जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सुविधा पुर्याउन नयाँ तथा पुराना गरी १७९ वटा खानेपानी योजना निर्माण गर्नुपर्नेछ ।
यसका लागि ३१ करोड ८ लाख ७१ हजार रुपैयाँ लगानी लाग्ने प्रक्षेपण गरिएको छ । ती मध्ये ८ करोड ६८ लाख ३५ हजार रुपैयाँ गाउँपालिकाले स्रोत जुटाउने, ४ करोड ६६ लाख ३१ हजार रुपैयाँ प्रदेश सरकारले बेहोर्ने र ३ करोड १० लाख ८७ हजार रुपैयाँ संघीय सरकारलाई अनुरोध गर्ने र १४ करोड ६३ लाख १८ लाख रुपैयाँ दातृ निकाय एवं संघसंस्थाबाट जुटाउने उल्लेख छ ।

गाउँपालिकामै पानी बोटलिङ गर्ने योजना
गाउँपालिकाले आन्तरिक आम्दानी वृद्धि गर्न गाउँपालिकामै पानीको बोटलिङ गर्ने योजना समेत बनाएको छ । गाउँपालिकाको गोगनपानी भन्ने स्थानमा शुद्ध पानीको मूल रहेको यसको बोटलिङ गर्न निजी क्षेत्रसँग छलफल चलाएको अध्यक्ष बिसीले बताउनुभयो ।
‘यहाँ नेपालगञ्ज देखिको पानी आयात हुन्छ । यहाँबाट दैलेख बजारमा पनि त्यहीको पानी जाँदो रहेछ । हामीले यही बोटलिङ गर्न सकेमा सुर्खेत तथा दैलेखमा आयात हुने पानीलाई प्रतिस्थापन गर्न सक्छौं’ उहाँले भन्नुभयो ।
तराईबाट भित्रिने बोतलको पानी भूमिगत पानी प्रशोधन गरेर ल्याउने भएकाले सतही स्रोतको पानी जस्तो नहुने उहाँको विश्वास छ । ‘पहाडबाट कलकल बग्ने पानीको स्वादै फरक हुन्छ, यसमा हामी सफल भयौं भने तराईबाट आयात हुने पानीलाई रोक्ने मात्र होइन तराईमा हाम्रो पनि निर्यात गर्न सकिने सम्भावना देखेको छु’ अध्यक्ष बिसीले भन्नुभयो ।



678 पटक हेरिएको 

