
कैलाली : कैलालीको लम्कीचुहा नगरपालिकाका १३ हजार घरधुरीमा कर्णाली नदीको पानी आपूर्तिको लक्ष्यसहित खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार लम्कीचुहा–३, कैलाशधाम बल्चौरमा लम्कीचुहा सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको शुभारम्भ गर्नुभयो।
मुख्यमन्त्री शाहले लम्कीचुहाबासीलाई स्वच्छ कर्णाली नदीको खानेपानी घरघरमा पुर्याउने लक्ष्यसहित लम्कीवासीको सपना साकार पार्न यो खानेपानी आयोजना अगाडि बढाइएको बताउनुभयो ।
लम्कीचुहाका पाँच वडामा १३ हजार सात सय ९५ घरधुरीका ७४ हजार चार सय ५० जनालाई पानी आपूर्तिको लक्ष्य सहित आयोजना सुरु गर्न लागिएको हो ।
आयोजनाको निर्माण २०८२ साल भदौ नौ गतेसम्म गर्ने गरी सम्झौता भएको लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष तेजबहादुर चलाउने जानकारी दिए ।
लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष चलाउनेले आयोजनामार्फत लम्कीचुहाका वडा नंं १ र वडा नं २ मा पूर्ण तथा वडा नं ३, ४ र ५ मा आंशिकरुपमा कर्णाली नदीको पानी पुर्याइनेछ ।
कूल रु ९० करोडको परियोजना तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ । जसमध्ये पहिलो चरणमा कर्णाली नदीबाट लिफ्ट प्रविधिबाट पानी तानेर राखिने पाँच मिटर जमिनमुनि र पाँच मिटर जमिनभन्दा माथि गरी १० मिटरका पाँच वटा इनार निर्माण हुनेछ । त्यससँगै चार लाख ५० हजार लिटर क्षमता भएको भूमिगत ट्याङ्की पनि निर्माण गरिने निर्माण कम्पनी प्रशंसा कन्स्ट्रक्सनका सञ्चालक दीर्घराज जोशीले बताए ।
पहिलो चरणको आयोजना निर्माणका लागि कूल १४ करोड ७७ लाख ९५ हजार छ सय १३ रुपैयाँ २५ पैसा लागत लाग्नेछ । जसमा खानेपानी मन्त्रालयको ७० प्रतिशत अर्थात् १० करोड ३४ लाख ५६ हजार नौ सय २९ रुपैयाँ २८ पैसा, लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका २५ प्रतिशत अर्थात् तीन करोड, ६९ लाख ४८ हजार, नौ सय तीन रुपैयाँ ३१ पैसा र लम्कीचुहा नगरपालिकाको पाँच प्रतिशत अर्थात ७३ लाख ८९ हजार सात सय ८० रुपैया ६६ पैसा लगानी रहने छ ।
कर्णाली नदीबाट तानिएको पानीलाई पाइपमार्फत तीन हजार आठ सय मिटर बल्चौरबाट पश्चिमतर्फ (लम्कीतर्फ) चार लाख ५० हजार लिटर क्षमता भएको अर्को ओभरहेड पठाइने निर्माण कम्पनीका इन्जिनियर मुकेश न्यौपानेले बताएको खबर अर्थ चौतारीले प्रकाशन गरेको छ।
परियोजन निर्माण भएपछि प्रतिसेकेन्ड एक सय आठ लिटरका दरले पानी आपूर्ति हुनेछ । शिलान्यास कार्यक्रममा मुख्यमन्त्रीसहित लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशीला शाही, उपप्रमुख जुना चौधरीलगायतका जनप्रतिनिधि, लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष तेजबहादुर चलाउने, कार्यालय प्रमुख जगनाथ ढकाल, लम्कीचुहा–१ का वडाध्यक्ष नेत्रप्रसाद खनाल, वडा नम्बर ३ का वडाध्यक्ष लबबहादुर शाही, राष्ट्रियसभाका पूर्वसदस्य कमलाकुमारी ओली निर्माण कम्पनी प्रशंसा कन्स्ट्रक्सनका प्रतिनिधि र स्थानीयको सहभागिता थियो ।


466 पटक हेरिएको 

