खानेपानीले बदलियो बुहारी नपाउने गाउँ परिचय

  वास खबर सम्वाददाता  161 पटक हेरिएको

बैतडी : बैतडी शहीद दशरथ चन्द जन्मेको बैतडी जिल्ला सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला हो । पूर्वमा सेती नदी र पश्चिममा महाकाली नदीले फन्को मारेर अपार जलसम्पदाले घेरिएको बैतडीको भूगोलले पूर्वमा डोटी र बझाङ, उत्तरमा दार्चुला, दक्षिणमा डडेल्धुरा र पश्चिममा भारतको उत्तराखण्ड राज्यको पिथौरागढ र चम्पावत जिल्लालाई छोएको छ ।

एक सङ्घीय निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तहका ८४ वडा छन् । नेपाल सरकारले बैतडीलाई साक्षर जिल्ला घोषणा गरेको छ । यहाँको साक्षरता ९६।५ प्रतिशत रहेको छ ।

जल सम्पदा र जडीबुटी

चर्चित पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र पश्चिम सेती परियोजना बैतडीमै छन् । त्योबाहेक चमेलिया जलविद्युत् र सुर्नया नदीबाट लघु जलविद्युत् उत्पादन हुने गरेको छ । तर यहाँका ४५ हजार घरधुरीमध्ये हाल १२ हजार घरधुरीमा मात्रै विद्युत् पुगेको छ ।

यहाँ कृषि मल बन्ने फस्फोरस खानीसमेत रहेको छ । बैतडीको सिगास गाउँपालिका र पुरचौडी नगरपालिकामा फलाम खानी रहेका छन् । दशरथचन्द नगरपालिकाको ग्वाल्लेक संरक्षित वन र सिगास गाउँपालिकाको सिगास संरक्षित वनमा लौठसल्ला, सुगन्धवाल, पाँचऔँले, पाखनवेदलगायत ६५ भन्दा बढी जडीबुटी र स्वच्छ खानेपानीका मुहान छन् ।

ग्वाल्लेक संरक्षित वनको पानीले बैतडी सदरमुकामको खानेपानी आपूर्ति गरेको छ । प्रदेश सरकारले यहाँको संरक्षित वनको रेखदेख डिभिजन वन कार्यालयमार्फत गर्दै आइरहेको छ । ग्वाल्लेक र सिगास संरक्षित वनमा क्यान्सर रोग निको पार्न प्रयोग हुने औषधीय गुण भएको लौठसल्लासमेत पाइने डिभिजन वन कार्यालयको तथ्याङ्क छ ।

चौरासी प्रतिशतलाई खानेपानी

बैतडीका ८४ प्रतिशत घरधुरी खानेपानीको पहुँचमा पुगेका छन् । खानेपानीको पहुँच पुग्न बाँकी १६ प्रतिशत घरधुरीमा खानेपानी पु¥याउन १४४ वटा खानेपानीका क्रमागत योजना चालू अवस्थामा छन् ।

खानेपानी पहुँचबाट टाढा रहेका घरपरिवारका लागि जिल्लामा आठवटा लिफ्टिङ प्रविधिका गरी १४४ वटा खानेपानी योजना निर्माणाधीन अवस्थामा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताउनुभयो ।

बैतडीको मेलौली नगरपालिका, सिगास गाउँपालिकाको मैनलामा लिफ्टिङ प्रविधिबाट यसै वर्ष सबै घरधुरीमा धारा पु¥याउने लक्ष्यसाथ काम भइरहेको उहाँले बताउनुभयो ।

फेरियो बुहारी नपाउने गाउँ

खानेपानी समस्याका कारण ‘बुहारी नपाउने गाउँ’सरकारले सात करोड रुपियाँको लिफ्ट खानेपानी योजना दिएपछि सिगास गाउँपालिका–३ मा खानेपानी आइपुगेको छ ।
सिगास गाउँपालिका–३ का लगन, ठूलीसैनी, मझभ्वा, परचाल गाउँका स्थानीय पानीका लागि दुई घण्टा टाढा हिँडेर छिमेकी डडेल्धुराको नवदुर्गा गाउँपालिकाबाट पानी बोकेर जीविका चलाउँदै आएका थिए ।

सरकारको सात करोड रुपियाँमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको प्राविधिक सहयोग तथा उपभोक्ता समितिको अगुवाइमा गाउँमा खानेपानी पुग्दा खुसियाली छाएको उपभोक्ता सुन्दरसिंह धामीले बताउनुभयो ।

बैतडीमा चार वर्षअघि दुईवटा मात्रै नमुना विद्यालय थिए । अहिले नमुना विद्यालयको सङ्ख्या चार पुगेको छ । नमुना विद्यालयलाई सङ्घीय सरकारले वार्षिक एक करोड रुपियाँका दरले बजेटसमेत दिने गरेको ज्ञानेश्वर नमुना विद्यालयले जनाएको छ । नेपाल सरकारले नमुना विद्यालय घोषणा गरेपछि ज्ञानेश्वर मावि, विजयपुरले निकै राम्रो शैक्षिक प्रगति गरेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।

बैतडीमा विक्रम संवत् १९७६ सालमा विद्यालय स्थापना भएर शैक्षिक गतिविधि अघि बढेको देखिन्छ । बैतडी सदरमुकामको गढीमा बैतडी भाषा पाठशालाका नामबाट स्थापना भएको हालको दशरथचन्द आधारभूत विद्यालय बैतडीकै पहिलो विद्यालय भएको तथ्याङ्क छ ।

शिक्षा विकास तथा समन्वय एकाइ बैतडीको तथ्याङ्कअनुसार यहाँ हाल १३३ वटा मावि, १०४ वटा निमावि र ३२५ आधारभूत विद्यालय र सातवटा निजी संस्थागत विद्यालय गरी ५६९ विद्यालय छन् । उच्च शिक्षाका लागि बैतडीमा १४ वटा क्याम्पससमेत रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो । बैतडीको साक्षरता ९६।५ प्रतिशत पुगेपछि नेपाल सरकारले बैतडीलाई २०७६ सालमा साक्षर जिल्ला घोषणा गरेको थियो ।

फलाम खानी पनि

बैतडीको सिगास गाउँपालिका–१, सुगरखालमा रहेको फलाम खानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको परीक्षणबाट पुष्टि भएको छ । बैतडी–बझाङ जोड्ने जयपृथ्वी मार्गको विन्द्रावन पक्की सडकबाट तीन किलोमिटर ग्रामीण सडकखण्डमा फलाम खानी रहेको छ ।

खानी तथा भू–गर्भ विभागबाट उत्खननको अनुमति लिएर शुभम मिनरल्स प्राइभेट लिमिटेडले फलाम खोज तथा अनुसन्धान गर्दा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको पाइएको हो । फलाम खानी उत्खनन गर्न बिजुलीका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गरिएको कम्पनीका श्याम अधिकारीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार