खानेपानीको कारणले गर्दा आफ्नो थात थलो छोडेर हिड्नुपर्ने वाध्यता भएका घटना नेपालमा पनि बेला बेला सुनिन्छ । अझ तराई क्षेत्रमा गर्मीको मौसममा जमिनमूनिको पानीको सतह तल पुग्दा चापकलबाट पानी नआएर धेरै घरपरिवारहरुले डिप वोरिङको प्रयोग वढ्दो क्रममा छ ।
खानेपानीको अभावले मात्र होईन यो पटक आकाशबाट पानी वढि परेर धेरैले आफ्नो थातथलो छोडेर हिड्नुपर्यो । यो पटकको बाढी र पहिरोले थात थलोको सर्वनाश मात्र होईन यसले केही स्थानहरु जस्तै काभ्रेको रोशीखोलाको वरिपरि, दक्षिण ललितपुरको गोटीखेल र नख्खुखोलाको आसपासको भौगोलिक वनोटलाई नै वदलिदिएको छ । नेपालमा मात्र होईन संसारभर पानी बढी हुँदा यसले पारेका नकारात्मक प्रभावहरु वढिरहेका छन् केही दिन अगाडि मात्र स्पेनमा ५० वर्षयताकै खराब बाढी आएको छ । जसको कारणले गर्दा एक सय ५८ जना ज्यान गईसकेको छ ।
पानी कतै कम त कतै बाढी भएको कारणले गर्दा संसारभर मानिसहरुले दुःख पाएका छन् । चाहे संसारकै विकसितहरु हुन वा अल्पविकसित सवै स्थानमा पानी बढी भएर दुःख पाउने समुदाय छ । सवै गरिव, सिमान्तकृत, महिला र वालवालिकाहरुले दुःख भोग्नुपरेको अवस्था छ । धेरै विज्ञहरुले यी परिघटनाहरुलाई जलवायु परिवर्तनको असर पनि भनेका छन् । नेपालमा यो वर्षको असोजमा आएको तीन दिनको लगातार वर्षातको असरलाई पनि जलवायुको असर हो भन्ने छन् । सामान्यतया विना प्रमाण र तथ्याङहरु आधार विना जलवायु परिवर्तनलाई देखाएर हाम्रो विकास गर्ने परिपाटी र मानवीय गतिविधिहरुको कारणले सिर्जना भएका विपद्लाई विर्सने भूल गर्ने चेष्टा गरिनुहुदैन । पानी बढी र कमको कारणको उपज समाजको संरचना, भौगोलिक वनावट, र सास्कृतिक सन्तुलनमा समेत खलवल पुगेको छ । यी जटिल समस्याहरुको कारणले गर्दा मारमा पर्नेमा सवैभन्दा बढी त गरिव, सिमान्तकृत, एकल महिला र वालवालिका नै हुने गर्दछन् ।
संसारमा हाल प्रयोग भएको पानीको कुरा गर्दा ७२ प्रतिशत पानीको प्रयोग कृषिमा १६ प्रतिशत पानी उद्योगधन्दामा, १२ प्रतिशत पानी नगरपालिकाहरुले गर्ने गरेका छन् । वढ्दो जनसंख्यालाई खाद्यान्नको मागलाई परिपूर्ति गर्न र संसारमा विद्यमान भएको भोकमरीलाई अन्त्य गर्नको लागि अहिलेको भन्दा खाद्यान्नको उत्पादनलाई ५० प्रतिशतले वढाउनुपर्ने देखिन्छ । संसारभर अहिले पनि ८० करोड मानिसहरु भोकमरीको चपेटामा छन् । सन् २०५० सम्ममा संसारको जनसंख्या नौ अरव पुग्ने अनुुमान गरिएको छ । वढ्दो जनसंख्यालाई खाद्य सुरक्षाको कुरा गर्दा सिधै जोडिएर आउने भनेको पानीको व्यवस्थापन हो । यो वढ्दो जनसंख्यालाई खाद्यान्नको सुनिश्चितता गर्नको लागि पानीको माग पनि २० देखि ३० प्रतिशत सम्म वढ्ने देखिएको छ ।
बढ्दो पानीको मागलाई सम्बोधन गर्नको लागि पानी सँग जोडिएर आउने वहुआयमिक पक्षहरु जस्तै पानी, खाद्यान्न र उर्जाको अन्तरसम्वन्ध र यसको समग्र व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ । वैज्ञानिक खेती प्रणालीको शुरुवात भएसँगै यसले प्रविधिको प्रयोग र पानीको माग पनि वढाएको छ । नेपालमा पनि खेती उत्पादनको लागि नयाँ नयाँ प्रविधिहरु भित्रिएका छन् । तराईको कुरा गर्दा सिँचाईको लागि पम्पहरुको प्रयोग अत्यधिक रुपमा वढेको छ । तराईमा सवै प्रकारका खेती उत्पादनको लागि ट्याक्टरको प्रयोग वढ्दो छ । आजभोलि पहाड तिर पनि परम्परागत रुपमा प्रयोग गरिने गोरुको साटो हाते ट्याक्टरको प्रयोग खेतीको उत्पादनको लागि बढेको छ । कृषिको आधुनिकीकरण र पानीको व्यवस्थापनमा ईन्धनको माग वढाएको छ ।
नेपालमा पहाडका अधिकाँश स्थानमा खेती गर्न छाडिएको छ । ती सवै स्थानमा खाद्यान्न अन्यत्रबाट ढुवानी गरेर लैजानुपर्ने हुन्छ । लामो दुरी तय गरी खाद्यान्नलाई ढुवानी गर्दा यसले ईन्धनको खपतमा वृद्धि गरेको छ । अर्को भनेको स्थानीय स्तरमा उत्पादन भएको खाद्यान्न भन्दा आयातित चामल, तेल, गहुँ अझ भनौ आजभोलि पहाडका विभिन्न स्थानसम्म पनि भारतबाट आयतित तरकारीहरु पुगेको अवस्था छ । स्थानीय स्तरमा उत्पादन भएको खाद्यान्नको व्यवस्था गर्दै आयातित खाद्यान्नहरुको प्रयोग गर्दा यसले पानी र उर्जामा खपतमा कमी होइन वढावा दिएको अवस्था छ ।
पानी, खाद्यान्न र उर्जाको अन्तरसम्वन्धलाई नहेरी पानीको उचित व्यवस्थापन गर्न नसकिने देखिन्छ । पानीको व्यवस्थापनमा एकल तरिकाबाट हेरिनु र पानीको व्यवस्थापनसँग प्रत्यक्ष जोडिएका खाद्यान्न र उर्जालाई नजर अन्दाज गर्दा यसले कतिपय अवस्थामा अहिले जस्तो विपत्ति निम्ताएको छ । अर्को तर्फ खाद्यान्न उत्पादनमा वढ्दो ईन्धनको प्रयोगले गर्दा कार्वन उत्र्सजन वढेको छ ।
आगामी दिनमा पानी, खाद्यान्न र उर्जाको अन्तरसम्वन्धलाई मध्यनजर गरी पानीको व्यवस्थापन काम गर्ने सरोकारवालाहरुले फरक ढंगबाट कदमहरु चाल्न सक्छन् । कृषि उत्पादन र पानीको जोहो गर्दा भएको अत्यधिक ईन्धनको प्रयोग गर्नको लागि नवीकरणीय उर्जा जस्तै जलविद्युत, सौर्य उर्जा र हावाको प्रयोगबाट निकाल्न सकिने ईन्धनहरुको प्रयोग गर्न सकिन्छ । अहिले कृषि उत्पादनमा प्रयोग हुने पानी तान्ने पम्पहरुमा ईन्धनको प्रयोग गरिएको छ । नवीकरणीय उर्जाको प्रयोगले ईन्धनको खपतलाई कम गर्न सकिने उपाय छ ।
पानीको व्यवस्थापनसँग जोडिएको अर्को भूमि, माटो र पानीको एकीकृत प्रणाली पनि हो । यो प्रणालीमा खलवल पुग्दा अहिले देखिएको समस्याको मुख्य जड वनेको छ । अहिले गरिने विकासको मुख्य असर भनेको पारिस्थितिक प्रणालीमा परेको छ । जसले गर्दा पारिस्थितिक प्रणालीमा नै खलवल पुगेको छ । यसले गर्दा अत्यधिक भुक्षीयकरणको साथ साथै जैविक विविधतामा पनि असर पुगेको छ । यसको लागि माटो अनुसारको कृषि, कम पानी प्रयोगमा बढी उत्पादन हुने खेती र स्थानीय खेती प्रणालीलाई विशेष जोड दिन सकिन्छ ।
प्रकृतिको शक्तिलाई अवमुल्यन गर्ने परिपाटी मानव संस्कृतिमा वढ्दै गएको छ । माटो सुहाउँदो खेती प्रणाली, स्थानीय उत्पादनमा प्रयोगमा कमी र हरित विकासलाई कम जोड दिएको कारण पनि धेरै विपद्को सामना गर्नुपरेका उदाहरणहरु छन् । नेपालमा अहिले आएको बाढी र यसले निम्ताएको विपत्तिको मुख्य कारणमा करिव ८० प्रतिशत मानवीय कारण हो भन्ने भनाईहरु पनि आएका छन् ।
वढ्दो जनसंख्यालाई खाद्यान्नको माग सम्वधोन गर्न, भोकमरीलाई अन्त्य गर्न, कृषि उत्पादनमा वढ्दो पानीको माग र उर्जाको प्रयोगलाई सन्तुलन गर्न र पारिस्थतिक प्रणालीलाई वचाउनको लागि पानी, खाद्यान्न र उर्जा अन्तरसम्वन्धलाई गहन तरिकावाट हेरिनु पर्दछ । पानीको व्यवस्थापनको कुरा गर्दा खाद्यान्न र उर्जालाई पनि सँगै लैजान सकियो भने मात्र दिर्घकालीन र दिगो विकासमा टेवा पुर्याउन सकिन्छ । स्थानीय खेती, जहाँको उत्पादन त्यहीको प्रयोग, पानीको कम खपत हुने खाद्यान्न, जमिन र माटोको सन्तुलन कायम राख्ने गतिविधिहरु (पारिस्थितिक पद्धतिलाई खलवल नपुग्ने गतिविधिहरु), भूसंरक्षणमा स्थानीयहरुको सहभागिता साथै पानी पुनर्भरण र वैकल्पि उर्जा प्रयोगले पानी समुचित व्यवस्थापनमा टेवा पुर्याउन सक्दछन् ।
आनन्द गौतम
(Facebook, Anand Gautam | LinkedIn)
लेखक विगत दुई दशकदेखि खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थामा क्रियाशील हुनुहुन्छ।