कर्णालीको जलस्रोत मन्त्रालयका ८ सय ७८ योजना कार्यान्वयन, ४९ प्रतिशत योजनाको सम्झौता

  वास खबर सम्बाददाता  144 पटक हेरिएको

सुर्खेत : कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा बजेट विनियोजन भएका ८ सय ७८ योजना कार्यान्वयनमा लगेको छ । मन्त्रालयले यो वर्ष १ हजार १ सय ३३ योजना मध्ये झण्डै ७७।५ प्रतिशत योजना कार्यान्वयनमा लगेको हो ।

जस अनुसार चालु आर्थिक वर्षमा बजेट विनियोजन भएकामध्ये झण्डै ४९ प्रतिशत योजनाको उपभोक्तासॅग सम्झौता भएका छन् । त्यसमध्ये पुस मसान्तसम्म ४२ योजना सम्पन्न भइसकेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सचिव इन्द्रदेव भट्टले बताउनुभयो।

मन्त्रालयले आइतबार र सोमबार आयोजना गरेको अर्ध वार्षिक समीक्षा कार्यक्रममा खानेपानी, सिॅचाइ तथा ऊर्जा विकास निर्देशनालय सहित १० जिल्ला कार्यालयहरूले गरेका योजनाहरूको समिक्षा गरिएको छ ।

दोस्रो त्रैमासिकसम्म ५ सय ५७ योजना सम्झौता भएको मन्त्रालयका सचिव भट्टले बताउनुभयो। उहाँका अनुसार मन्त्रालयले अहिलेसम्म ३५ प्रतिशत भौतिक प्रगति गरेको छ । यो वर्ष मन्त्रालयका लागि २ अर्ब ८६ करोड ४८ लाख १६ हजार बजेट विनियोजन भएकोमा अहिलेसम्म २३ करोड ४९ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा क्रमागत तर्फ २५ योजना कार्यान्वयनमा छन् भने यो वर्ष बजेट विनियोजन भएका ८४ मध्ये ४६ योजनाको ठेक्का सम्झौता भएको छ ।

जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले पहिचान भएका योजनाहरू छिटो कार्यान्वयनमा लैजान कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभयो। उहाँले विकास योजनामा दोहोरोपना हटाउन जरुरी रहेको बताउॅदै योजनाहरू छिटो सम्पन्न गरी गुणस्तरीय बनाउन सके जनताले सरकारको अनुभूति गर्ने बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार