
काठमाडौ : पहिले सरसफाइ भन्नासाथ धेरै मानिसको मनमा आउने चित्र थियो, मानिसले आफ्नै हातले सेप्टिक ट्याङ्क वा ढलभित्र पसेर फोहोर निकाल्ने जोखिमपूर्ण काम। साँघुरा ट्याङ्कभित्र पस्नुपर्ने, विषाक्त ग्यासको जोखिम झेल्नुपर्ने र सुरक्षाका पर्याप्त साधन नहुँदा सरसफाइकर्मीहरू सधैँ जोखिममा काम गर्न बाध्य हुन्थे।
यस्तो कामलाई समाजले सम्मानित पेशाको रूपमा भन्दा पनि बाध्यता वा निम्नस्तरको श्रमका रूपमा हेर्ने प्रवृत्ति लामो समयसम्म रह्यो। तर पछिल्ला वर्षहरूमा सरसफाइ क्षेत्रमा प्रविधिको प्रवेशसँगै यो पेशा क्रमशः व्यवस्थित, सुरक्षित र व्यवसायिक बन्दै गएको छ।
सरसफाइ व्यवस्थापनमा प्रयोग हुने विभिन्न उपकरण तथा मेसिनहरूको विकासले यस क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको छ। सेप्टिक ट्याङ्क वा पिटबाट दिसाजन्य लेदो पदार्थ निकाल्न प्रयोग हुने विभिन्न उपकरणले पहिले जस्तो मानिसलाई ट्याङ्कभित्र पस्नुपर्ने बाध्यता धेरै हदसम्म कम गरेको छ।

यसका साथै भ्याकुम ट्याङ्कर, मोटर चालित पम्प, पाइप प्रणाली जस्ता प्रविधिले फोहोर निकाल्ने र ढुवानी गर्ने कामलाई छिटो र सुरक्षित बनाएका छन्। यी उपकरणहरूको प्रयोगले सरसफाइकर्मीको स्वास्थ्य जोखिम कम हुनुका साथै कामको प्रभावकारिता पनि बढाएको छ।
यससँगै सरसफाइ क्षेत्रमा सुरक्षात्मक सामग्रीको प्रयोग पनि विस्तार हुँदै गएको छ। मास्क, ग्लोभ्स, गमबुट, हेल्मेट, सुरक्षा पोशाक र अन्य व्यक्तिगत सुरक्षात्मक उपकरणहरूको प्रयोगले सरसफाइकर्मीलाई विभिन्न संक्रमण, दुर्घटना र स्वास्थ्य समस्याबाट जोगाउन सहयोग गरिरहेको छ।
पहिले सामान्य कपडामै जोखिमपूर्ण काम गर्न बाध्य हुने सरसफाइकर्मीहरू अहिले क्रमशः सुरक्षित उपकरणसहित काम गर्न थालेका छन्, जसले यो पेशालाई सुरक्षित मात्र होइन सम्मानजनक पनि बनाउँदै लगेको छ।

काठमाडौ टेकुका मन बहादुर पोडे भन्नुहुन्छ ‘यो पेशा हामीले पुख्र्यौली पेशाको रुपमा निरन्तरता दिँदै आएका थियौं, तर अहिले यसप्रति अन्य समुदायको पनि आकर्षण बढ्दै गएको छ, यसलाई परम्परागत भन्दा पनि आधुनिक बनाउँदै लगिएको छ र व्यवसायीकरण हुँदै गएको छ।’
उहाँको भनाइमा प्रविधिको प्रयोगसँगै सरसफाइ सेवामा व्यवसायिक सोचको विकास हुँदै गएको हो। अहिले धेरै नगरपालिका तथा निजी सेवा प्रदायक संस्थाहरूले सरसफाइ सेवालाई व्यवस्थित सेवा प्रणालीका रूपमा सञ्चालन गर्न थालेका छन्। सेप्टिक ट्याङ्क सफा गर्ने, फोहोर ढुवानी गर्ने, प्रशोधन केन्द्रसम्म पुर्याउने र सुरक्षित रूपमा व्यवस्थापन गर्ने कामहरू योजनाबद्ध रूपमा सञ्चालन हुन थालेका छन्। निश्चित सेवा शुल्क तोक्ने, सेवा माग अनुसार समयमै सेवा उपलब्ध गराउने तथा सेवा दर्ता प्रणाली विकास गर्ने अभ्यासहरू विस्तार हुँदै जाँदा सरसफाइ सेवा क्रमशः पेशागत र व्यवस्थित बन्दै गएको छ।
यसका साथै सरसफाइकर्मीहरूको क्षमता विकास पनि व्यवसायिकताका लागि महत्वपूर्ण पक्ष बनेको छ। अहिले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले सरसफाइकर्मीलाई उपकरण सञ्चालन, स्वास्थ्य सुरक्षा, जोखिम व्यवस्थापन तथा व्यवसाय सञ्चालन सम्बन्धी तालिम प्रदान गरिरहेका छन्। यस्तो तालिमले उनीहरूलाई केवल श्रमिक मात्र नभई दक्ष सेवा प्रदायकका रूपमा विकास गर्न सहयोग गरेको छ। तालिम र सीपले उनीहरूमा आत्मविश्वास बढाएको छ र पेशाप्रति सम्मानको भावना पनि बलियो बनाएको छ।
सरसफाइ सेवाको व्यवसायिक विकाससँगै संस्थागत संरचना पनि विस्तार हुँदै गएको छ। कतिपय स्थानमा सहकारी, निजी कम्पनी वा सेवा समूहहरू गठन गरी सरसफाइ सेवा सञ्चालन गर्न थालिएको छ। यसले सेवा प्रदायकलाई व्यवस्थित रूपमा काम गर्न, उपकरणमा लगानी गर्न तथा सेवाको दायरा विस्तार गर्न सहज बनाएको छ। स्थानीय सरकारसँगको सहकार्य, नीति निर्माण तथा नियमन प्रणालीले पनि सरसफाइ सेवालाई दिगो र प्रभावकारी बनाउन सहयोग पुर्याइरहेको छ।
यस परिवर्तनसँगै सरसफाइ क्षेत्रमा युवाहरूको आकर्षण पनि क्रमशः बढ्दै गएको देखिन्छ। पहिले सामाजिक रूपमा हेपिने वा अपमानजनक ठानिने पेशा अहिले आयआर्जनको सम्भावना बोकेको व्यवसायको रुपमा विकास हुँदै गएको मन बहादुर पोडेको भनाइ छ । ‘पहिले मैले पनि परम्परागत तरिकाले नै सरसफाइको काम गर्दै आएको थिएँ । अहिले समयसँगै आधुनिकीकरण बनाउँदै लगेको छु । मैले पनि कम्पनी नै दर्ता गरेर सरसफाइ सेवा प्रदान गर्दै आएको छु’ उहाँले भन्नुभयो ।
उहाँले टिम वर्क ड्रेन क्लिन सर्भिस नामक कम्पनी सञ्चालन गर्दै आउनु भएको छ।
व्यवस्थित सेवा प्रणाली, निश्चित आम्दानी र प्रविधिको प्रयोगले यस क्षेत्रमा नयाँ रोजगारीका अवसरहरू सिर्जना गरिरहेको उहाँको भनाइ छ।
यसरी हेर्दा प्रविधिको प्रयोग, सुरक्षा उपाय, सीप विकास र संस्थागत व्यवस्थापनले सरसफाइ क्षेत्रलाई जोखिमपूर्ण र असंगठित कामबाट सुरक्षित, सम्मानजनक र व्यवसायिक पेशामा रूपान्तरण गर्ने दिशातर्फ अघि बढाएको छ।
यदि यस क्षेत्रमा थप प्रविधि विस्तार, नियमित तालिम, नीतिगत समर्थन र सामाजिक सम्मानको वातावरण सुदृढ गर्न सकियो भने सरसफाइ सेवा अझ प्रभावकारी, सुरक्षित र दिगो बन्ने निश्चित छ।


289 पटक हेरिएको 

