शिक्षकका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता तथ्यांक अद्यावधिक सम्बन्धी तालिम

  वास खबर सम्बाददाता  70 पटक हेरिएको

सर्लाही : खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रका तथ्यांक अद्यावधिक गर्ने कार्यमा राज्यकै निकायहरुको सहभागिता र नेतृत्व बढाउने उद्धेश्यले सर्लाहीमा सार्वजनिक विद्यालयका शिक्षक र स्वास्थ्य संस्थाका प्रतिनिधिका लागि एनवास तथ्यांक अद्यावधिक सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

मधेश प्रदेश सरकार अन्तर्गत ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय र एसएनभी नेपाल सँगको साझेदारीमा स्कलर्स कन्सल्ट प्रा.लि. र आईडिएस नेपालले संयुक्त रुपमा क्षमता विकास कार्यको सहजीकरण गरेको हो ।

सर्लाही जिल्लाका ९ वटा स्थानीय तहका शिक्षकका लागि सञ्चालन गरिएको सो तालिमबाट ३५० भन्दा बढी शिक्षक र स्वास्थ्य संस्थाका प्रतिनिधि लाभान्वित बनेका हुन् ।

तालिममा खानेपानी, सरसफाइ तथा स्वच्छताको विषयगत अवधारणा, संयुक्त अनुगमन कार्यक्रमका सूचकहरु, खानेपानी तथा सरसफाइ सुविधाहरुको वर्गीकरण, एनवास व्यवस्थापन सूचना प्रणाली, खानेपानी सरसफाइ तथा स्वच्छता योजनाका बारेमा सैद्धान्तिक जानकारी गराउनुका साथै एनवास औजार प्रयोग गरी तथ्यांक अद्यावधिक गर्ने व्यवहारिक सिकाइ समेत गराइएको थियो ।

तालिमपश्चात् सहभागीहरुले आफू आवद्ध संस्थाको खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी तथ्यांक अद्यावधिक गर्ने र सोको अनुगमन सम्बन्धित स्थानीय तहले गर्नेछ । तथ्यांक अद्यावधिक गर्ने कार्यमा सहजीकरण गर्ने संस्थाका प्रतिनिधिले सहयोग गर्ने जानकारी स्कलर्स कन्सल्टका प्रवन्ध निर्देशक नेत्र सापकोटाले दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार