सर्वोच्चको आदेशपछि सिद्धार्थ नगरको फोहोर उठेन

  वास खबर सम्बाददाता  88 पटक हेरिएको

भैरहवा : सर्वोच्च अदालतले सिद्धार्थनगरको डण्डा खोला किनारमा फोहोर नफयाँक्न अन्तरिम आदेश जारी गरेपछि मंगलबारबाट फोहोर संकलन प्रभावित भएको छ । खेला किनारमा फोहोर फयाँक्दा पर्यावरणमा असर गर्नुकासाथैं बुटवल–बेलहिया खण्ड हुँदै ओहोरदोहोर गर्ने सर्वसाधारणदेखि पर्यटक प्रभावित भएका थिए ।

दुर्गन्धले घरभित्र बस्ने वातावरण खलबलिएको जनाउँदै दरखसवाका बासिन्दाले विरोध जनाउँदै आएका थिए । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको गत शुक्रबारको संयुक्त इजलासले डण्डा खोला क्षेत्रमा फोहोर नफयाँक्न अन्तरिम आदेश जारी गरेको थियो । अनियन्त्रित फोहोर डम्पिङ गर्दा दुर्गन्ध र प्रदूषण फैलिएकाले फोहार डम्पिङमा रोक लगाउन माग गर्दै अधिवक्ता विवेक बख्रेल र कानुनकी विद्यार्थी अन्जली सिलवालले गत चैत १६ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरुले प्रधानमन्त्री कार्यालय, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग, गृह मन्त्रालय, लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र सिद्धार्थनगर नगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरेका थिए । भैरहवाको देवकोटा चोक र नेपाल–भारत नाका बेलहियाको बीचमा रहेको खण्डा खोला पुलको छेउमा फोहोर फयाँक्दा हिँड्डुल गर्ने अवस्था थिएन ।

गत चैत १७ गते रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालले विपक्षीका नाममा कारण देखाउ आदेश गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाएका थिए । छलफलपछि यस्तो अन्तरिम आदेश जारी भएको हो । नगरपालिकाले फोहोरको समस्या हल गर्न एक महिना अघिदेखि स्थानीयसँग कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गर्दै आएको थियो । त्यसका लागि नगर क्षेत्रमा रहेका व्यवसायिक र सामाजिक संघसंस्थालाई पत्राचार गरिएको थियो ।

मंगलबार बिहान नगरपालिकाले सामाजिक सञ्जालमार्फत सूचना जारी गरेर अर्को व्यवस्था नभएसम्म आफ्नो घर वा व्यवासयिक प्रतिष्ठानबाट उत्सर्जन हुने फोहोर बाटोमा नफ्याँकी कुहिने र नकुहिने छुटयाएर बोरा वा प्लालिष्टकका झोलामा संकलन गरेर स्वयं व्यवस्थापन गर्न भनेको छ । फोहोर फयाँक्न नपाएपछि घरमै थुप्रिने चिन्ता बढेको छ ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीले पनि सोमबार सूचना प्रकाशित गरेर आफू मातहतका प्रतिष्ठानलाई होटल परिसरभित्रै सुरक्षित रुपमा फोहोर संकलन तथा व्यवस्थापन गर्न अनुरोध गरेको छ । संगठनका अध्यक्ष राजेश महोत्राले प्रेस विज्ञप्ती जारी गरेर कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्न भनेका छन् । ‘वातावरणीय सरसफाई र स्वास्थ्य मापदण्ड पालनामा संवेदनशील रहन अनुरोध छ,’ विज्ञप्तीमा भनिएको छ, ‘छिट्टै फोहोर व्यवस्थापनको समस्या समाधानका लागि पहल भइरहेकाले सम्पूण व्यवसायीलाई सहयोगका लागि अनुरोध छ ।’

डण्डा खोलामा फयाँकिएको फोहोरका कारण सबैभन्दा बढी भारतबाट आउने पर्यटक प्रभावित भएका थिए । डण्डा खोला पुल पार गर्दा नाक थुन्नु पर्ने अवस्था छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सर्वोच्च अदालतको आदेश आउनु पूर्व नै फोहोर व्यवस्थापनको वैकल्पिक उपायका बारेमा छलफल सुरु गरिएको बताए ।

यसै विषयमा मंगलबार पनि नगरपालिकामा जनप्रतिनिधिको बैठक बस्न लागेको छ । ‘डण्डा खोलाको विकल्पमा नगरपालिकाले आफ्नै जग्गा खोजेर फोहोर व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘यसमा सबै वडा पनि तयार छन् ।’ फोहोर उत्सर्जन कम गर्न घरघरमै कुहिने र नकुहिने फोहोर अलग गराउन नगरबासीसित अनुरोध गरिरहेको उनले बताए । ‘अदालतको आदेशपछि छिटो विकल्प खोज्न बाध्य भइयो,’उनले भने ।खबर कान्तिपुरबाट।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार