
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका अब आधुनिक फोहोर व्यवस्थापन प्रणालीतर्फ प्रवेश गर्ने तयारीमा छ । धनगढी–७ स्थित पटेला जंगलमा एक अर्ब आठ करोड २७ लाख २५ हजार ४८९ रुपैयाँ लागतमा अत्याधुनिक प्रविधिसहितको एकीकृत फोहोर व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएको छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण तथा अनुदान सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास कार्यक्रम अन्तर्गत संघीय सहरी विकास तथा भवन कार्यालय कैलालीले यो आयोजना कार्यान्वयन गरेको हो ।
निर्माणको अन्तिम चरणमा पुगेको यस केन्द्रमा अहिले केही प्राविधिक तथा पूर्वाधार सम्बन्धी काम मात्र बाँकी रहेको इन्जिनियर सौरभ कलौनीले बताउनुभयो। उहाँका अनुसार केन्द्रसम्म पुग्ने पहुँच सडकमा रंगरोगन र केही साना फिनिसिङ कार्यहरू मात्र बाँकी छन् । साथै, फोहोर संकलन गर्ने सवारी साधनहरूलाई नयाँ प्रणालीअनुसार परिवर्तन गर्नुपर्ने भएकाले त्यसका लागि सम्बन्धित विभागमा पत्राचार भइसकेको उहाँले जानकारी दिनुभयो। सबै प्रक्रिया पूरा भएपछि करिब एक महिनाभित्रै केन्द्र सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
यो आयोजना सन् २०१५ मा एडीबीसँग भएको ऋण तथा अनुदान सम्झौता अनुसार अनिवार्य रूपमा निर्माण गर्नुपर्ने पूर्वशर्त थियो । तर, लामो समयसम्म आयोजना कार्यान्वयनका लागि आवश्यक जग्गा प्राप्त हुन नसक्दा परियोजना अघि बढ्न सकेको थिएन । प्रारम्भिक रूपमा पाँच वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको भए पनि जग्गा व्यवस्थापन र अन्य प्रशासनिक ढिलाइका कारण झन्डै १० वर्षपछि मात्र निर्माण सम्पन्न हुन पुगेको हो ।
निर्माण सम्झौता अनुसार केन्द्र सञ्चालनको प्रारम्भिक तीन वर्षसम्म जिम्मा निर्माण कम्पनीले नै लिनेछ । त्यसपछि मात्र सम्पूर्ण व्यवस्थापन धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिने व्यवस्था छ । हाल सञ्चालन सम्बन्धी आवश्यक तयारी अन्तिम चरणमा पुगेको र प्रविधि हस्तान्तरणपछि स्थानीय सरकारले पूर्ण रूपमा व्यवस्थापन गर्ने इन्जिनियर कलौनीले स्पष्ट पार्नुभयो।
निर्माण कम्पनीका इन्जिनियर गोविन्दकुमार मण्डलका अनुसार आयोजना सम्पन्न भएपछि तत्काल सञ्चालनमा ल्याइनेछ । केन्द्र सञ्चालनसँगै वातावरणीय सुधार र हरियाली प्रवर्धनका गतिविधि पनि सँगै अघि बढाइने उहाँले जानकारी गराउभयो।
यो फोहोर व्यवस्थापन केन्द्र ३२ बिघा क्षेत्रफलमा फैलिएको छ र यसले धनगढीको करिब ३० वर्षसम्म उत्पन्न हुने फोहोर व्यवस्थापन गर्न सक्ने क्षमता राख्छ । हाल धनगढी उपमहानगरपालिकामा दैनिक करिब ६० टन फोहोर उत्पादन हुने गरेको छ । त्यसमध्ये केही भाग धनगढी–२ स्थित दक्षिण बेहडी क्षेत्रमा वर्गीकरण गरी पुनः प्रयोगयोग्य सामग्री बिक्री गर्ने गरिएको छ भने करिब ८ देखि १० टन फोहोर जैविक मल तथा बायोग्यास उत्पादनका लागि अन्य साझेदार संस्थालाई दिइन्छ । बाँकी फोहोर भने यही नयाँ केन्द्रमा व्यवस्थापन गरिने योजना छ ।
उपमहानगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर दिजराज भट्टका अनुसार नयाँ केन्द्रले दैनिक १३.६६ टनसम्म फोहोर प्रशोधन गर्ने क्षमता राख्छ । उहाँले एक महिनाभित्रै सबै फिनिसिङ कार्य सम्पन्न गरी औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। केन्द्रमा फोहोरलाई तीन भागमा वर्गीकरण गर्ने प्रणाली राखिएको छ— कुहिने फोहोरबाट जैविक मल उत्पादन, प्लास्टिकजन्य फोहोर पुनः प्रयोग, र पुनः प्रयोग गर्न नसकिने फोहोरलाई सुरक्षित रूपमा डम्पिङ साइटमा व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ ।
यो आयोजनाको निर्माणका लागि २०७९ पुस १४ गते चिनियाँ कम्पनी प्रोभेन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्स कम्पनी लिमिटेडसँग सम्झौता गरिएको थियो । तर, निर्माण स्थल निर्धारण, रुख कटान अनुमति तथा जमिन तयारीमा ढिलाइ हुँदा परियोजना करिब दुई वर्ष ढिला सुरु भएको हो । यसै कारण परियोजनाको लागतमा पनि करिब ११ करोड ४४ लाख ८५ हजार ६४० रुपैयाँ वृद्धि भएको इन्जिनियर कलौनीले बताउनुभयो। उहाँका अनुसार जग्गा फिलिङ, साइट तयारी र ढिलाइका कारण लागत समायोजन (cost variation) आवश्यक परेको हो ।
अब सबै प्रक्रिया पूरा भएपछि धनगढीमा पहिलो पटक आधुनिक, वैज्ञानिक र दिगो फोहोर व्यवस्थापन प्रणाली औपचारिक रूपमा सञ्चालनमा आउनेछ, जसले शहरको सरसफाइ, वातावरणीय सुधार र दीर्घकालीन फोहोर व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


227 पटक हेरिएको 

