संस्थागत सामाजिक उत्तरदायित्वलाई वास क्षेत्रमा उपयोग गर्ने बिषयमा छलफल

  वास खबर सम्बाददाता  188 पटक हेरिएको

जनकपुरधाम : मधेस प्रदेशमा सञ्चालित उद्योगहरु तथा बैंकहरुको संस्थागत सामाजिक उत्तरदायित्वलाई खानेपानी, सरसफाइ र स्वच्छता (वास) क्षेत्रमा उपयोग गर्ने बिषयमा छलफल गरिएको छ ।

मधेस प्रदेशको जनकपुरधाममा आयोजित “खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व उपयोग सम्बन्धी छलफल” मा उद्योग तथा बैंकहरुको सूची तयार गरी संस्थागत सामाजिक उत्तरदायित्वलाई वास क्षेत्रमा लगानी गर्ने बिषयमा सरोकारवाला एकमत भएका हुन्।

मधेस प्रदेशका उद्योग बाणिज्य संघका पदाधिकारी, नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघ, मधेस प्रदेशको बाणिज्य तथा उद्योग मन्त्रालय सहितको सहभागिता भएको छलफलमा संस्थागत सामाजिक उत्तरदायित्वलाई वास क्षेत्रमा उपयोग गर्ने बिषयमा आवश्यक नीति नियम बनाउने र अर्थ मन्त्रालय लगायत निकायहरु सँग अर्को बृहत कार्यक्रम आयोजना गर्ने निष्कर्षमा पुगेको माहुली सामुदायिक विकास केन्द्रका सन्तोष चौधरीले बताउनुभयो।

बाणिज्य तथा उद्योग मन्त्रालयको समन्वयमा Welthungerhilfe (WHH), सबल नेपाल र माहुली सामुदायिक विकास केन्द्र लगायत संस्थाहरुले आयोजना गरेको छलफल कार्यक्रममा Welthungerhilfe (WHH) का वास विज्ञ बिजु डंगोलले वास क्षेत्रको योजना बनाउन प्राविधिक सहयोग गरिरहेको जानकारी गराउँदै खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको योजना कार्यान्वयनका लागि विशुद्ध वास सेक्टरको मात्र दायित्व भन्दा पनि सबै सरोकारवालाको उत्तिकै जिम्मेवारी भएकाले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा जलेश्वर उद्योग बाणिज्य संघका अध्यक्ष शिवचन्द्र चौधरी यस प्रकारका कार्यक्रमहरू पहिले कसैले आयोजना नगरेको उल्लेख गर्दै अब प्राप्त प्रेरणालाई व्यवहारमा उतार्न आवश्यक रहेको धारणा राख्नुभयो। साथै, निजी क्षेत्र सधैं सहयोग र सद्भावका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा यस्ता सान्दर्भिक विषयवस्तुहरूलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले हाल सञ्चालनमा रहेका संस्थाहरूलाई एकीकृत गरी प्रभावकारी रूपमा अगाडि बढाउन स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो।

निजी क्षेत्र सधैं सहयोग र सहकार्यका लागि तयार रहेको उल्लेख गर्दै उहाँले यस प्रकारका कार्यक्रमहरु भैरहनुपर्नेमा जोड दिनुभयो।

फोटोहरु : सन्तोष चौधरी


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार