
नवलपुर : नवलपुरमा सञ्चालित चौधरी ग्रुपका उद्योगहरूबाट निस्कने फोहोरको असुरक्षित व्यवस्थापनका कारण क्षेत्रमा तीव्र दुर्गन्ध फैलिएको छ । अध्ययन टोलीले यस्तो फोहोरले भूमिगत पानीका स्रोत समेत प्रदूषित हुने उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ ।
उद्योगहरूबाट निस्कने फोहोर तथा दुर्गन्धित पानी प्रशोधन नगरी सिधै खोलामा मिसाइएको पाइएको छ । यसले जङ्गली जनावरको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भन्दै संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । विशेषगरी स्थानीय बासिन्दा दुर्गन्धका कारण सबैभन्दा बढी प्रभावित बनेका छन् । अध्ययन प्रतिवेदनका अनुसार अप्रशोधित पानी देवचुलीको कर्कदाहा खोला हुँदै नारायणी नदीमा पुग्ने र सोही पानी जङ्गली जनावरले प्रयोग गर्ने गरेका छन् ।
प्रदूषणका कारण अन्य जलस्रोतसमेत प्रभावित भएको भन्दै स्थानीयले पटक–पटक विरोध जनाउँदै उद्योगको कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । नवलपुर भ्रमणका क्रममा तत्कालीन गृहमन्त्री सुदन गुरुङलाई स्थानीयले ज्ञापनपत्र बुझाएका थिए । यसअघि ‘प्रदूषणले वासस्थान फेर्दै जनावर’ शीर्षकमा पनि यस विषयमा समाचार प्रकाशित भइसकेको थियो ।
चौतर्फी दबाबपछि प्रधानमन्त्रीको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाको संयोजकत्वमा अनुगमन तथा निरीक्षण समिति गठन गरेको थियो । उक्त समितिमा चितवन राष्ट्रिय निकुञ्ज, नगरपालिकाको वातावरण शाखा, सम्बन्धित वडाध्यक्षहरू, सबडिभिजन वन कार्यालय तथा उद्योग प्रतिनिधिहरू सहभागी थिए । सात दिनसम्मको अध्ययनपछि समितिले प्रतिवेदन तयार गरेको हो ।
प्रतिवेदनले हानिकारक र अप्रशोधित पानी नारायणी नदीमा मिसिँदै गएको र त्यसले जङ्गली जनावरमा असर पार्ने भएकाले तुरुन्त यस्तो निकास बन्द गर्नुपर्ने सुझाव दिएको छ । साथै नियम उल्लङ्घन गर्ने उद्योगमाथि थप कारबाहीका लागि केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको समितिका संयोजक रानाले जानकारी दिनुभयो ।
देवचुली नगरपालिकाभित्र फैलिएको चौधरी ग्रुपको औद्योगिक क्षेत्रमा विभिन्न उद्योग सञ्चालनमा छन् । तीमध्ये केही उद्योगबाट निस्कने फोहोर पानी सामूहिक प्रशोधन प्लान्टमा पठाइए पनि क्षमता भन्दा बढी हुँदा प्रशोधनबिनै खोलामा मिसिने गरेको अध्ययनले देखाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको चासो
उद्योगबाट निस्केको रसायनयुक्त पानी जङ्गली जनावरले प्रयोग गर्ने गरेको पाइएपछि चितवन राष्ट्रिय निकुञ्जले पनि यस विषयमा चासो देखाएको छ । निकुञ्जले उद्योग क्षेत्रदेखि नारायणी नदीसम्म विभिन्न स्थानबाट पानीको नमुना संकलन गरी परीक्षण गरेको थियो ।
निकुञ्ज प्रमुख डा. गणेश पन्तका अनुसार उद्योग नजिक पानीमा सबैभन्दा बढी प्रदूषण देखिए पनि नदीतर्फ जाँदा बहावका कारण यसको प्रभाव केही घटेको पाइयो । “तलतिर जाँदा असर कम हुनु स्वाभाविक भए पनि यस्तो अवस्था स्वीकार्य होइन,” उहाँले भन्नुभयो ।
समितिले यसअघि उद्योग र स्थानीयबीच भएका सहमतिहरू पनि कार्यान्वयन नभएको उल्लेख गरेको छ । विशेषगरी २०८१ मङ्सिर ११ गते भएको सहमति अनुसार नयाँ बोइलर जडान तथा प्रशोधन प्लान्टको क्षमता वृद्धि गर्ने काममा प्रगति नदेखिएको जनाइएको छ ।
यसैबीच, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले उद्योगलाई नियमित रूपमा उत्सर्जनसम्बन्धी स्वअनुगमन प्रतिवेदन पेश गर्न दिएको निर्देशनसमेत पालना नभएको पाइएको छ । उद्योगहरूले हालसम्म धुलो, धुवाँ, ध्वनि तथा पानीको गुणस्तरसम्बन्धी कुनै पनि प्रतिवेदन सम्बन्धित निकायमा बुझाएका छैनन् ।


107 पटक हेरिएको 

