मन्थलीको ढल प्रशोधन केन्द्र अब एमबीबीआर प्रविधिमा रूपान्तरण हुँदै, ५०० घरपरिवारको ढल व्यवस्थापन लक्ष्य

  वास खबर सम्बाददाता  82 पटक हेरिएको

मन्थली : रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बनेको ढल प्रशोधन केन्द्र हाईब्रिट टेक्नोलोजीमा रुपान्तरण गर्न थालिएको छ। विसं २०७६ सालमै निर्माण सम्पन्न भएको उक्त ढल प्रशोधन केन्द्र एबिआर (Anaerobic Baffled Reactor) प्रविधिमा आधारित भए पनि प्राविधिक तथा सञ्चालन सम्बन्धी विविध कारणले हालसम्म प्रयोगमा आउन सकेको थिएन।

अब भने सोही संरचनालाई सुधार गर्दै आधुनिक एमबीबीआर (Moving Bed Biofilm Reactor) प्रविधिमा रूपान्तरण गर्ने काम धमाधम भइरहेको छ। नयाँ प्रविधि लागू भएपछि मन्थली बजार क्षेत्रका करिब ५०० घरपरिवारबाट उत्पादन हुने ढललाई व्यवस्थित रूपमा प्रशोधन गर्ने लक्ष्य लिइएको छ।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय मन्थलीका प्रमुख राजेन्द्र श्रेष्ठका अनुसार पुरानो प्रणालीको सीमितताका कारण नयाँ प्रविधिमा जानुपरेको हो।

उहाँले भन्नुभयो,“एबिआर प्रणाली प्राकृतिक प्रक्रियामा आधारित भएकाले यसको सञ्चालन सरल भए पनि प्रभावकारिता र दीर्घकालीन व्यवस्थापनका हिसाबले केही चुनौती देखिएका छन्। त्यसैले अहिले हामीले एमबीबीआर प्रणालीमा रूपान्तरण गर्दै मन्थलीको ढल व्यवस्थापनलाई प्रभावकारी बनाउन काम गरिरहेका छौँ।”

एमबीबीआर प्रविधि जैविक प्रक्रिया (biofilm technology) मा आधारित आधुनिक ढल प्रशोधन प्रणाली हो, जसले प्लास्टिक मिडियामा सूक्ष्म जीवाणु विकास गराएर प्रदूषित पानीलाई छिटो र प्रभावकारी रूपमा प्रशोधन गर्छ। यस प्रविधि लागू भएपछि प्रशोधित पानीको गुणस्तर सुधार हुने मात्र होइन, वातावरणीय प्रदूषण नियन्त्रणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीहरूका अनुसार लामो समयदेखि बन्द अवस्थामा रहेको ढल प्रशोधन केन्द्र सञ्चालनमा आउने भएपछि मन्थली बजार क्षेत्रको सरसफाइ, दुर्गन्ध नियन्त्रण तथा समग्र वातावरणीय सुधारमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

यता आयोजनासँग सम्बन्धित प्राविधिक टोलीले संरचनागत सुधार, मेकानिकल जडान तथा परीक्षण कार्यलाई तीव्र बनाइरहेको जनाएको छ। काम सम्पन्न भएपछि ढल प्रशोधन प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याइने तयारी छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार