
रसुवा : रसुवाको कालिका गाउँपालिका–३, कटुन्जेमा जिल्लामै पहिलो पटक डिप बोरिङ गरेर जमिनमुनिबाट पानी निकाल्न सफल भएको छ। भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, काभ्रेपलाञ्चोकको २७ लाख रुपैयाँ लगानीमा डिप बोरिङ गरिएको हो।
पहाडी क्षेत्रमा गरिएको यो नौलो प्रयास सफल भएपछि स्थानीय बासिन्दामा ठूलो उत्साह छाएको छ। करिब १ हजार २ सय ८० मिटर उचाइमा गरिएको डिप बोरिङबाट पानी निस्किएपछि अहिले २४ घण्टासम्म लगातार पानी तानेर परीक्षण गर्ने कार्य भइरहेको छ ।
कालिका गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले आफ्नो कार्यकालमा तय गरिएको डिप बोरिङ मार्फत भूमिगत पानी निकाल्ने लक्ष्य सफल भएकोमा खुशी व्यक्त गर्नुभयो। परीक्षण सफल भएपछि थप आवश्यक संरचना निर्माण गरिने उहाँले बताउनुभयो।
सुख्खा रहेको उक्त क्षेत्रमा सिँचाइ तथा खानेपानीको वैकल्पिक स्रोतका रूपमा डिप बोरिङलाई लिइएको छ । बोरिङका क्रममा करिब ६० मिटर गहिराइमा पुग्दा नै पानी देखिएको थियो भने हाल १ सय ३५ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सम्पन्न भएको छ । ७० मिटर गहिराइदेखि निरन्तर पानी आउन सुरु भएको र अहिले जमिनमुनिबाट ठूलो फोहरा सहित पानी निस्किरहेको छ ।
डिप बोरिङ कार्यमा संलग्न प्राविधिक पप्पु विकले प्रारम्भिक परीक्षणमै आयोजना सफल देखिएको बताउनुभयो। “ड्रिल गरिएको स्थानबाट पर्याप्त मात्रामा पानी आउने देखिएको छ । दीर्घकालीन रूपमा प्रयोग गर्न सकिने सम्भावना उच्च छ,” उहाँले भन्नुभयो।
जिल्लामै पहिलो पटक पहाडी क्षेत्रमा गरिएको यो प्रयास हेर्न कटुन्जेका स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । सिँचाइका लागि वर्षाको भर पर्नुपर्ने र खानेपानीको समस्या झेलिरहेका स्थानीयहरू जमिनमुनिबाट पानीको फोहोरा निस्किएपछि अत्यन्त उत्साहित भएका छन् ।
यस सफलताले जिल्लाका अन्य सुक्खा क्षेत्रमा पनि डिप बोरिङ प्रविधि प्रयोग गर्न सकिने आशा जगाएको स्थानीयवासीले बताएका छन् । कटुन्जेमा निकालिएको पानीले आगामी दिनमा खानेपानी तथा सिँचाइको समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
वडा नम्बर ३ का वडा अध्यक्ष फणिन्द्र प्रसाद न्यौपानेले डिप बोरिङ मार्फत जमिनमुनिको पानी निस्किएको आफ्नै आँखाले देख्दा अत्यन्त खुशी लागेको बताउँदै यसलाई महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।


138 पटक हेरिएको 

