
जाजरकोट : जाजरकोटको भेरी नगरपालिकाले सरसफाइ सेवालाई सुरक्षित रुपमा व्यवस्थापन गर्न मानव मलमूत्र संकलनदेखि प्रशोधन सम्मको प्रणाली विकास गर्ने तयारी अघि बढाएको छ। यस अघि नै भ्याकु ट्रक सञ्चालनमा ल्याएर सेप्टिक ट्यांकी तथा अन्य शौचालयजन्य फोहोर संकलन र ढुवानी सेवा दिँदै आएको नगरपालिकाले अब मानव मलमूत्रको सुरक्षित व्यवस्थापनको प्रक्रिया अगाडि बढाएको हो ।
यसका लागि नगरपालिकाले मानव मलमूत्र प्रशोधन केन्द्र (एफ.एस.टी.पी) निर्माणको तयारी थालेको छ ।मानव मलमूत्र प्रशोधन केन्द्र निर्माणका लागि उपयुक्त प्रकृतिको जग्गा पहिचान गरि सकिएको भेरी नगरपालिकाका नगर प्रमुख प्रकाश चन्द्र (सीपी) घर्तीले बताउनुभयो।
नगर प्रमुख घर्तीले तीव्र बजारीकरण र बढ्दो शहरीकरणसँगै नगरभित्र सरसफाइ व्यवस्थापनको चुनौती पनि बढ्दै गएको बताउनुभयो। सुरक्षित सरसफाइलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न नगरपालिकाले फेकल स्लज व्यवस्थापनको एकीकृत प्रणाली निर्माण गर्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो।

“हामीले सबैका लागि दिगो खानेपानी तथा सरसफाइ आयोजना (सुस्वा) सँग सहकार्य गर्ने सन्दर्भमा विभिन्न चरणको तालिम लिईसकेका छौं, तीब्र शहरीकरणमा गैरहेको यो नगरपालिकाले समयमै प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक छ । नगर प्रमुख घर्तीले भन्नुभयो, “त्यसो भएकाले गर्दा हामी फेकल स्लज ट्रिटमेन्ट प्लान्ट निर्माणको तयारीमा जुटेका छौं।”
उहाँका अनुसार मानव मलमूत्र प्रशोधन केन्द्र निर्माणका लागि आवश्यक जग्गाको पहिचान भइसकेको छ। यससँगै नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभाग सँग पनि सहकार्यको प्रक्रिया अगाडि बढिसकेको उहाँले बताउनुभयो।
भ्याकु ट्रक सञ्चालनमा, तर प्रशोधन केन्द्रको अभाव
भेरी नगरपालिकाले केही समय अघिदेखि नै भ्याकु ट्रक खरिद गरी नगरवासीलाई सेवा प्रदान गर्दै आएको छ। सेप्टिक ट्यांकी तथा शौचालयबाट निस्कने मानव मलमूत्रजन्य फोहोर संकलन गरी ढुवानी गर्ने व्यवस्था भए पनि त्यसको अन्तिम प्रशोधन गर्ने उपयुक्त संरचना नहुँदा नगरपालिकालाई चुनौती रहेको छ।

हाल संकलन गरिएको फेकल स्लजलाई मानव बस्तीभन्दा टाढाको जंगल क्षेत्रमा लगेर विसर्जन गर्नुपर्ने अवस्था छ। यसरी अस्थायी रूपमा विसर्जन गर्दा वातावरणीय प्रदूषण, जलस्रोत प्रदूषण र सार्वजनिक स्वास्थ्यमा जोखिम सिर्जना हुन सक्ने सम्भावना रहन्छ।
यस कारण नगरपालिकाले भ्याकु ट्रक मार्फत हुने संकलन सेवालाई मात्र पर्याप्त नठानी अब सुरक्षित संकलन, ढुवानी, प्रशोधन र अन्तिम व्यवस्थापन सहितको पूर्ण फेकल स्लज व्यवस्थापन प्रणाली विकास गर्ने लक्ष्य लिएको नगर प्रमुख घर्तीले बताउनुभयो।
फेकल स्लज ट्रिटमेन्ट प्लान्ट निर्माण भएपछि नगरभित्रका घर, होटल, विद्यालय, सरकारी तथा अन्य संस्थाका सेप्टिक ट्यांकीबाट संकलन गरिएको मानव मलमूत्रलाई व्यवस्थित रूपमा प्रशोधन गर्न सकिने उहाँको अपेक्षा छ। यसले हाल जंगल क्षेत्रमा विसर्जन गर्नुपर्ने बाध्यताको अन्त्य गर्नुका साथै वातावरण र सार्वजनिक स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो।
सुरक्षित सरसफाइको अवधारणा अनुसार शौचालय निर्माण हुनु मात्र पर्याप्त हुँदैन। शौचालयबाट निस्किएको मानव मलमूत्र सुरक्षित रूपमा संकलन, खाली, ढुवानी, प्रशोधन र अन्तिम व्यवस्थापन हुनुपर्छ। यही सेवा श्रृंखलालाई पूरा गर्न भेरी नगरपालिकाले एफएसटीपी निर्माणको तयारी थालेको हो।

तीव्र रूपमा विस्तार भइरहेको बजार क्षेत्र र बढ्दो जनघनत्वलाई ध्यानमा राख्दा भविष्यमा मानव मलमूत्र व्यवस्थापन थप जटिल बन्न सक्ने भएकाले नगरपालिकाले समयमै पूर्वाधार निर्माणको तयारी गरेको नगर प्रमुख घर्तीले बताउनुभयो । हिले सञ्चालनमा रहेको भ्याकु ट्रक सेवालाई एफएसटीपीसँग जोड्न सके भेरी नगरपालिकामा फेकल स्लज व्यवस्थापनको तुलनात्मक रूपमा व्यवस्थित प्रणाली विकास हुने सम्भावना छ।
नगरपालिकाले उपयुक्त जग्गा पहिचान गरिसकेको र संघीय सरकारको सम्बन्धित निकायसँग सहकार्यको प्रक्रिया पनि अगाडि बढेको अवस्थामा आगामी चरणमा प्राविधिक अध्ययन, विस्तृत योजना तथा लगानी व्यवस्थापनलाई गति दिनुपर्ने देखिन्छ।


206 पटक हेरिएको 

