
ललितपुर : ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्ट सहितको आकाशे पुलमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै शौचालय, अपाङ्गतामैत्री शौचालय र बच्चाको डायपर परिवर्तन गर्ने कक्ष समेत रहेको छ। पैदलयात्रीलाई सुरक्षित रूपमा सडक वारपार गराउने उद्देश्यले निर्माण भइरहेको पुलमा आधारभूत सरसफाइ सुविधालाई समेत समेटिए पछि यो संरचना थप चर्चामा आएको छ।
ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको पुलमा लिफ्टको व्यवस्था गरिएको छ। यसले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी, बालबालिका तथा अन्य यात्रुलाई सडक वारपार गर्न सहज बनाउने अपेक्षा गरिएको छ। त्यस्तै, महिला–पुरुषमैत्री शौचालय र बच्चाको डायपर फेर्ने कक्षले सार्वजनिक स्थानमा सरसफाइ सुविधाको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।
सार्वजनिक पूर्वाधार निर्माण गर्दा सडक सुरक्षा र आवागमनलाई मात्र प्राथमिकता दिने अभ्यास बीच यस पुलमा शौचालय तथा सरसफाइ सुविधा समेत समावेश गरिनुलाई सकारात्मक रूपमा हेरिएको छ। विशेष गरी साना बालबालिकासहित यात्रा गर्ने अभिभावक, महिनावारीका बेला महिलाहरू, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि सार्वजनिक शौचालयको उपलब्धता महत्त्वपूर्ण हुन्छ।
सार्वजनिक स्थानमा शौचालयको अभाव हुँदा महिलाहरू, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न स्वास्थ्य अवस्थाका मानिसले बढी समस्या भोग्नुपर्ने हुन्छ। बच्चाको डायपर परिवर्तन गर्न उपयुक्त स्थान नहुँदा साना बालबालिका सहित यात्रा गर्ने अभिभावकलाई पनि कठिनाइ हुने गरेको छ। आकाशे पुलमै यस्ता सुविधा समेटिनुले सार्वजनिक पूर्वाधारलाई प्रयोगकर्ताको विविध आवश्यकतासँग जोड्ने प्रयासका रूपमा लिन सकिन्छ।

लिफ्ट सहितको आकाशे पुल निर्माणमा करिब चार करोड ६८ लाख रुपैयाँ लागत लागेको छ। २०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौता अनुसार एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, प्राविधिक समस्या तथा निर्माण प्रक्रियामा देखिएका जटिलताका कारण निर्धारित समयमा काम पूरा हुन सकेन।
हाल निर्माण अन्तिम चरणमा पुगेको यस पुललाई छठ पर्व अघि वा त्यस लगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यद्यपि, उद्घाटनको निश्चित मिति भने सार्वजनिक भएको छैन।
व्यस्त चक्रपथमा पैदलयात्रीलाई सुरक्षित रूपमा सडक वारपार गराउनुका साथै दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले पुल निर्माण गरिएको हो। लिफ्ट र शौचालय सुविधा सहितको संरचना सञ्चालनमा आएपछि यस क्षेत्रका पैदलयात्रीलाई आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ।
सार्वजनिक शौचालयलाई सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छतासँग जोडेर हेर्ने हो भने यस्ता पूर्वाधारको प्रभावकारिता निर्माणमा मात्र सीमित हुँदैन। नियमित सञ्चालन, सफाइ, पानी तथा साबुनको उपलब्धता र प्रयोगकर्ताको आवश्यकता अनुसारको व्यवस्थापनले मात्र यसको वास्तविक उपयोगिता सुनिश्चित गर्छ।


237 पटक हेरिएको 

