
जाजरकोट : जाजरकोटको नलगाड नगरपालिकामा भूकम्प प्रभावित समुदायलाई लक्षित गरी सञ्चालित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) रिकभरी परियोजना सम्पन्न भएको छ । परियोजना अन्तर्गत निर्माण तथा मर्मत सम्भार गरिएका २७ वटा खानेपानी योजना बाट ८ हजार ७०० भन्दा बढी नागरिक लाभान्वित भएका छन् ।
इस्लामिक रिलिफ क्यानाडा र इस्लामिक रिलिफ जर्मनीको आर्थिक सहयोगमा सोसेक नेपालद्वारा सञ्चालित परियोजनाको सामाजिक परीक्षण, समापन बैठक तथा योजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा परियोजनाबाट हासिल उपलब्धि, खर्च विवरण तथा आगामी दिनमा योजनाहरूको दिगो सञ्चालनका विषयमा छलफल गरिएको थियो ।

परियोजनाको कुल लागत ६ करोड ७० लाख ७२ हजार ८०६ रुपैयाँ रहेको छ । यस मध्ये इस्लामिक रिलिफ क्यानाडाको ५ करोड ८५ लाख २७ हजार ९७४ रुपैयाँ, इस्लामिक रिलिफ जर्मनीको ८५ लाख ४४ हजार ८३२ रुपैयाँ र नलगाड नगरपालिकाको १५ लाख रुपैयाँ लागत साझेदारी रहेको थियो ।
परियोजना अन्तर्गत क्यानडाको आर्थिक सहयोगमा २१ वटा र जर्मनीको सहयोगमा ६ वटा गरी २७ वटा खानेपानी योजना सम्पन्न गरिएको हो । खानेपानीको पहुँच विस्तारसँगै पुराना योजनाहरूको मर्मत सम्भार तथा नयाँ योजनाहरूको निर्माण गरिएको परियोजनाले जनाएको छ ।

नलगाड नगरपालिकाका नगरप्रमुख डम्बरबहादुर रावतले खानेपानी आयोजनाहरूको दिगो सञ्चालनका लागि स्थानीय जनशक्तिको क्षमता विकास आवश्यक रहेको बताउनुभयो ।
उहाँले ग्रामीण खानेपानी योजना मर्मत सम्भार सम्बन्धी तालिमले नगरपालिकाभित्र निर्माणाधीन तथा निर्माण सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय स्तरमै मर्मत सम्भार गर्न सक्ने जनशक्ति तयार हुँदा खानेपानी सेवाको निरन्तरता समेत सुनिश्चित हुने उहाँको भनाइ थियो ।
परियोजनाले खानेपानी योजनाहरूको दिगोपनका लागि उपभोक्ता समितिलाई व्यवस्थापन तालिम, पानी सुरक्षा योजना तालिम तथा गाउँ मर्मत सम्भार कार्यकर्ता तालिम समेत प्रदान गरेको छ । यसबाट खानेपानी आयोजनाको व्यवस्थापन, सुरक्षा र नियमित मर्मत सम्भारमा समुदायको क्षमता अभिवृद्धि गर्ने काम गरिएको छ ।

सरसफाइ तथा स्वच्छताको क्षेत्रमा ३१४ घरधुरीमा शौचालय निर्माण गरिएको छ । त्यसैगरी विद्यालय तथा स्वास्थ्य संस्था सहित नौवटा स्थानमा खानेपानी सुविधा र इन्सिनरेटर जडान गरिएको परियोजनाले जनाएको छ ।
समुदायमा सरसफाइ सम्बन्धी व्यवहार परिवर्तन र जनचेतना अभिवृद्धिका लागि स्वच्छता सचेतना कक्ष (हाइजिन अवेयरनेस क्लास) समेत सञ्चालन गरिएको थियो । परियोजना अवधिमा १ हजार १८२ वटा कक्षा सञ्चालन गरी समुदायका बासिन्दालाई व्यक्तिगत सरसफाइ, घरायसी स्वच्छता तथा सुरक्षित सरसफाइ अभ्यास बारे जानकारी प्रदान गरिएको थियो ।
परियोजना कार्यान्वयनका क्रममा जलस्रोतको विवाद, प्रतिकूल मौसम तथा निर्माण सामग्रीको मूल्यवृद्धि जस्ता चुनौती सामना गर्नुपरेको थियो । यद्यपि समुदायको सक्रिय सहभागिता र स्थानीय सरकारको सहयोगका कारण निर्धारित कार्यक्रम सम्पन्न गर्न सफल भएको परियोजनाले जनाएको छ ।
कार्यक्रममा नगर उपप्रमुख देवका लामिछाने, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, इस्लामिक रिलिफ नेपालका वास अफिसर तथा एमईएल अफिसर अधिश कुमार खड्का र निरज कुमार थारु, उपभोक्ता समितिका प्रतिनिधि, सरोकारवाला निकाय, पत्रकार तथा परियोजनाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
योजना हस्तान्तरणसँगै निर्माण गरिएका खानेपानी संरचनाको सञ्चालन तथा मर्मत सम्भारको जिम्मेवारी स्थानीय समुदाय र सम्बन्धित उपभोक्ता समितिमा रहनेछ । परियोजनाबाट खानेपानीको पहुँच विस्तार हुनुका साथै शौचालय प्रयोग, व्यक्तिगत सरसफाइ र समुदायको स्वच्छता अभ्यासमा समेत सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।


235 पटक हेरिएको 

