खानेपानी शुद्धीकरण र सरसफाइ सम्बन्धी अनुसन्धानको अन्तर्राष्ट्रिय कदर, नेपाली वैज्ञानिक टिस्टा प्रसाई जोशी TWAS फेलोमा निर्वाचित

  वास खबर सम्बाददाता  146 पटक हेरिएको
🔗
177
Shares

काठमाडौ :  खानेपानी शुद्धीकरण र सरसफाइ सम्बन्धी अनुसन्धानमा पुर्‍याउनु भएको योगदानको अन्तर्राष्ट्रिय कदर स्वरूप नेपाली वैज्ञानिक टिस्टा प्रसाई जोशी सन् २०२७ का लागि The World Academy of Sciences (TWAS) को फेलोमा चयन हुनुभएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा वरिष्ठ वैज्ञानिक अधिकृतका रूपमा कार्यरत जोशीले पानीमा रहेका आर्सेनिक, भारी धातु तथा अन्य हानिकारक प्रदूषक तत्त्व हटाउन सक्ने सामग्री विकास गर्नुभएको छ। उहाँको अनुसन्धान पानी प्रदूषण नियन्त्रण, एन्टिबायोटिक प्रतिरोधी जीवाणु तथा माइक्रोप्लास्टिकको अध्ययनमा समेत केन्द्रित रहेको छ।

खानेपानीमा रहेका हानिकारक रासायनिक तथा जैविक प्रदूषकको पहिचान र नियन्त्रणका लागि उहाँले गर्नुभएको अनुसन्धानले सुरक्षित खानेपानीको पहुँच तथा जनस्वास्थ्य संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

विश्व विज्ञान प्रतिष्ठान (The World Academy of Sciences) -TWAS ले नोभेम्बर ६ मा सार्वजनिक गरेको घोषणा अनुसार विश्वभरबाट ८७ जना वैज्ञानिक प्रतिष्ठानको फेलोमा निर्वाचित भएका छन्। निर्वाचित हुने मध्ये २९ जना महिला वैज्ञानिक र ७७ जना ग्लोबल साउथ अर्थात् विकासशील तथा उदीयमान देशका अनुसन्धानकर्ता रहेका छन्।

नव निर्वाचित फेलोहरूले सन् २०२७ जनवरी १ देखि औपचारिक रूपमा प्रतिष्ठानको सदस्यता प्राप्त गर्नेछन्।

विश्व विज्ञान प्रतिष्ठान विज्ञान तथा प्रविधिको विकास र अनुसन्धानलाई प्रोत्साहन गर्ने अन्तर्राष्ट्रिय वैज्ञानिक संस्था हो। यस प्रतिष्ठानको फेलोमा नेपाली वैज्ञानिक जोशी निर्वाचित हुनुले नेपालको विज्ञान तथा अनुसन्धान क्षेत्रका लागि अन्तर्राष्ट्रिय पहिचान र गौरव थपिएको छ।

टिस्टा प्रसाई जोशी सन् २००० को सुरुवाती वर्षहरूमा अनुसन्धान विद्यार्थीका रूपमा पहिलोपटक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) पुग्नुभएको थियो। त्यहीँबाट उहाँमा नास्टमै काम गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने सपना आकार लिन थालेको थियो।

सन् २००४ मा उहाँ औपचारिक रूपमा प्रतिष्ठित संस्था नास्टमा आबद्ध हुनुभयो र आफ्नो अनुसन्धान यात्रा सुरु गर्नुभयो।नेपालमा विशेष गरी अधिकांश महिलाहरूले एउटा शैक्षिक उपाधि हासिल गरेपछि आफ्नो अध्ययनलाई निरन्तरता नदिने अवस्था भए पनि प्रसाईले भने थप अध्ययन र अनुसन्धानलाई अघि बढाउनुभयो।

उहाँले भन्नुभयो, “त्यसैले अर्को शैक्षिक उपाधि हासिल गर्ने चाहना सधैँ मनमा थियो। यही चाहना अनुसार सन् २००५ मा मानवशास्त्र (Anthropology) विषयमा स्नातकोत्तर (एमए) गरेँ। त्यसपछि आफ्ना दुवै शैक्षिक पृष्ठभूमिलाई जोडेर सूक्ष्मजीव विज्ञानको क्षेत्रमा अनुसन्धान सुरु गरेँ।”

तर उहाँको अध्ययन र अनुसन्धान यात्रा त्यतिमै रोकिएन। सन् २०१३ मा वातावरणीय इन्जिनियरिङ (Environmental Engineering) विषयमा विद्यावारिधि (पीएचडी) गर्न उहाँ चीन जानुभयो। उहाँले चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गतको विश्वविद्यालय (University of the Chinese Academy of Sciences) मा विद्यावारिधि अध्ययन सुरु गर्नुभयो।

त्यसयता उहाँ निरन्तर प्रयोगशालामा अनुसन्धान गर्दै आफ्नो काममा रमाइरहनुभएको छ।

आज टिस्टा प्रसाई जोशी नेपालका जलस्रोत र पानी प्रणालीलाई कसरी अझ प्रभावकारी तथा व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा अनुसन्धान गरिरहेका सीमित महिला वैज्ञानिक मध्ये एक हुनुहुन्छ। उहाँले नेपालका जलस्रोतको अवस्था, पानीको गुणस्तर र पानी प्रशोधन प्रणाली सुधारका क्षेत्रमा अनुसन्धान गर्दै आउनुभएको छ।

महिला वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको विकासका लागि प्रदान गरिने OWSD पुरस्कार प्राप्त गर्नु भएकी प्रसाईले उक्त पुरस्कार अन्तर्गत प्राप्त ५० हजार अमेरिकी डलरको अनुदानबाट नास्टमा अत्याधुनिक अनुसन्धान प्रयोगशाला स्थापना गर्नुभएको छ। उहाँले अन्य चार जना युवा महिला विद्यार्थीलाई अनुसन्धान तथा विद्यावारिधि अध्ययनमा मार्गदर्शन समेत गरिरहनुभएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार