
टर्की : जलवायु परिवर्तन न्यूनीकरण र दिगो फोहोर व्यवस्थापनमा शून्य फोहोर (जिरो वेस्ट) को भूमिका प्रभावकारी बनाउने उद्देश्यले टर्कीको अन्टाल्यामा आयोजित कोप–३१ अन्तर्गत विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ ।
क्रिएसन नेपालले सन् २०२६ नोभेम्बर ११ मा नेपालको राष्ट्रिय पेभिलियनमा आयोजना गरेको उक्त संवादमा शून्य फोहोर व्यवस्थापन, चक्रीय अर्थतन्त्रको प्रवर्द्धन तथा जलवायु परिवर्तन न्यूनीकरणका लागि बहुपक्षीय सहकार्यको आवश्यकताबारे छलफल गरिएको थियो ।
कार्यक्रममा क्रिएसन नेपालकी महासचिव रोशना सुवेदीले सहजीकरण गर्नुभएको थियो । उहाँले दिगो फोहोर व्यवस्थापनका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज तथा समुदायको सक्रिय, समावेशी र एकीकृत सहभागिता आवश्यक रहेको बताउनुभयो ।
संवादमा नेपालका सांसद सागर ढकाल सहित अफ्रिका सर्कुलरका बीएसएफ सिस्टम्स विज्ञ पिओत्र बार्चाक, दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (साकेप) का महानिर्देशक नोर्बु वाङ्चुक, चिलीको राष्ट्रिय फोहोर संकलक संघकी अध्यक्ष तथा रेडलाक्रेको अन्तर्राष्ट्रिय सचिवालय सदस्य सोलेदाद मेल्ला र इन्टरएक्टिभका संस्थापक महाप्रबन्धक तथा उपाध्यक्ष एवं क्लाइमको टर्कीका कार्यकारी बोर्ड सदस्य भोल्कान उराल सहभागी हुनुहुन्थ्यो ।

छलफलका क्रममा बार्चाकले जैविक रूपमा कुहिने फोहोरको एकीकृत व्यवस्थापन, बीएसएफ प्रणाली तथा फोहोर व्यवस्थापनका व्यावहारिक समाधानबारे धारणा राख्नुभयो । उहाँले विश्वव्यापी अनुभवका आधारमा चक्रीय अर्थतन्त्रतर्फको संक्रमणलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, वाङ्चुकले दक्षिण एसियाली क्षेत्रीय दृष्टिकोण प्रस्तुत गर्दै दिगो फोहोर व्यवस्थापन र चक्रीय अर्थतन्त्रको प्रवर्द्धनका लागि क्षेत्रीय सहकार्य तथा साझेदारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
मेल्लाले फोहोर संकलन तथा व्यवस्थापनमा संलग्न श्रमिकहरूको योगदानको पहिचान र उनीहरूको सहभागिता बिना समावेशी फोहोर व्यवस्थापन प्रणाली सम्भव नहुने विषय उठाउनुभयो । उरालले भने उद्योग क्षेत्रबाट चक्रीय समाधान, स्रोतको पुनःप्राप्ति र दिगो फोहोर व्यवस्थापनका लागि अपनाउन सकिने व्यावहारिक उपायबारे आफ्नो धारणा प्रस्तुत गर्नुभयो ।
कार्यक्रमले फोहोरमैला व्यवस्थापनलाई सरसफाइको विषयमा मात्र सीमित नराखी जलवायु परिवर्तन न्यूनीकरण, प्राकृतिक स्रोतको संरक्षण र दिगो विकाससँग जोडेर अघि बढाउनुपर्ने सन्देश दिएको छ ।
शून्य फोहोरको अवधारणालाई व्यवहारमा उतार्न फोहोर उत्पादन घटाउने, पुनःप्रयोग र पुनर्चक्रणलाई प्रोत्साहन गर्ने तथा स्रोतको अधिकतम उपयोग गर्ने प्रणाली विकास गर्नुपर्नेमा समेत संवादले जोड दिएको छ ।
क्रिएसन नेपालले शून्य फोहोरतर्फको रूपान्तरणलाई गति दिन सरकार, निजी क्षेत्र, नागरिक समाज, समुदाय र आम नागरिकको साझा प्रयास आवश्यक रहेको जनाएको छ । संस्थाले यस अभियानको महत्वपूर्ण हिस्सा नागरिक स्वयं भएको उल्लेख गर्दै दिगो फोहोर व्यवस्थापन र चक्रीय अर्थतन्त्रको अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।
नेपाल सरकारको कृषि तथा वन मन्त्रालय अन्तर्गतको वातावरण सम्बन्धी निकायले राष्ट्रिय पेभिलियनमा संवाद आयोजना गर्न आवश्यक स्थान र अवसर उपलब्ध गराएकोमा क्रिएसन नेपालले सरकारप्रति आभार व्यक्त गरेको छ ।



56 पटक हेरिएको 

