काँच ही बाँस के बहंगिया,
बहंगी लचकत जाय ख।
होई ना बलम जी कहरिया,
बहंगी घाटे पहुँचाय ।
काँच ही बाँस के बहंगिया,
बहंगी लचकत जाय ।
बाटे जे पूछेला बटोहिया,
बहंगी केकरा के जाय ।
तू त आन्हर हौवे रे बटोहिया,
बहंगी छठ मैया के जाय ।
हुनवे जे बारी छठी मैया,
बहंगी उनके के जाय ।

छठको अवसरमा मिथिला क्षेत्रमा गाइने लोक भाकाको गीत हो यो । अहिले मधेश प्रदेशको केन्द्र जनकपुरधाममात्र होइन, सिंगो मधेश प्रदेश र देशभर नै यी र यस्तै गीत तथा भजन घन्किरहेका छन् ।
हिन्दू धर्मावलम्वीमात्र होइन, पूर्वीय दर्शनमा आस्था राख्ने जो कोही पनि आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिने र सोमबार उदाउँसो सूर्यलाई अर्घ दिएर यस वर्षको छठलाई मैझारो गर्ने तरखरमा छन् ।

छठ पर्वको आगमनसँगै जनकपुरधामका पोखरी र तलाउ दुलहीझैँ सिँगारिएका छन् । गंगासागर, धनुषसागर, श्रीराम तलाउ, अर्गजा पोखरी, गोरधुवा पोखरी लगायतका जवाशयमा सरसफाइ, सजावट र व्यवस्थापनले रौनक थपेको छ । घाटहरू झिलिमिली बत्ती, फूलमाला र पूजाका सामग्रीले सजिएका छन् ।
सूर्यलाई अघ्र्य दिन तयार पारिएका यी जलाशयले जनकपुरको धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई एकैसाथ उजागर गरेका छन् ।

यी घाटमा छठ मनाउने व्रतालु र श्रद्धालुको उत्साहसँगै जातजाति, भाषा र समुदायबीचको आत्मीयता पनि देखिन्छ । एउटै जलाशयको किनारमा भेला भएर सूर्यको आराधना गर्ने परम्पराले सामाजिक एकता र धार्मिक सद्भावको सन्देश दिन्छ । छठ केवल आस्थाको पर्व होइन, साझा संस्कृति र सामुदायिक एकताको उत्सव पनि हो ।

सिँगारिएका यी पोखरी र तलाउले एउटा सुन्दर सन्देश पनि दिएका छन् :जलाशय हाम्रो धार्मिक सम्पदा मात्र होइनन्, भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने साझा प्राकृतिक सम्पत्ति हुन् । छठको यो रौनक पर्वपछि पनि कायम रहोस्, नेपालकामात्र नभै विश्वकै जलाशय सधैँ सफा, सुन्दर र स्वच्छ रहून् ।




66 पटक हेरिएको 

