पछिल्लो समय हरेक कार्यालय अपाङ्गमैत्री हुनुपर्छ भन्ने गरिन्छ । कार्यालय मात्रै होइन विद्यालयका कक्षा कोठा र शौचालय पनि अपाङ्गमैत्री हुनुपर्ने माग गर्विलो रुपमा उठेकै हो । यो आवश्यकता पनि हो । कार्यालय र विद्यालयमा अपाङ्गमैत्री भवन, शौचालय खोजी रहँदा आफ्नै घरमा निर्माणाधीन शौचालय अपाङ्गमैत्री बनाउन सकेका छौं कि छैनौं, आवश्यक छ कि छैन भन्ने खोज्न जरुरी छ ।
अनि अपाङ्गता भएका घरको परिवार र स्वयम् अपाङ्गता भएका व्यक्तिले अपाङ्गमैत्री भन्ने शब्द बुझेको छ कि छैन ? भन्ने बुझ्न आवश्यक छ ।
अहिले देशभर खुल्ला दिसामुक्त अभियान सञ्चालन भइरहेको छ । अभियान सञ्चालन भइरहेको धेरै घरमा शारीरिक अपाङ्गता भएका दाजु–भाइ, दिदी बहिनीहरु छन् । हर दिन रात प्रयोग गरिने शौचालय उनीहरुका लागि पनि सहज प्रयोग गर्न सक्ने बनाउनुपर्ने हुन्छ । तब मात्र अभियानको प्रभावकारिता अझ बढेर जान्छ ।
तर, दैवी विपत्तीमा परेर अपाङ्ग हुन पुगेका झापा शिवसताक्षी नगरपालिका–१० का कृष्ण राईलाई न अपाङ्गमैत्री भनेको के हो ? भन्ने नै थाहा छ न त उहाँको शौचालय बनाउनेहरुलाई नै । २०५८ सालमा झापा र इलामको चुरे क्षेत्रमा पर्ने दोमुखाको किस्ने भीरमा गएको पहिरोमा परेका राई अझै अपाङ्गता हुनुहुन्छ ।

बैशाखीको भरमा दुःख सुख बाहिर भित्र गर्नसक्ने राई त्यत्तिबेलाको घटना संम्झिंदै भन्नुहुन्छ, ‘दुईजना परेका थियौं, साथी त मरिगो, आफ्नो यो अवस्था छ ।’ उहाँले थप्नुभयो ‘घरमा खान छैन, कहाँको चर्पी बनाउनु ।’ निर्माणाधीन शौचालयमा पुग्न कठिन हुने बताउँदै कृष्णले भन्नुभयो ‘त्यहाँ पुग्न त कठिन हुन्छ नी, के गर्नु सबै आउँछन्, भन्छन्, कराउँछन्, कर लाग्यो, यति गरेपछि त होला नी भन्ने लागेको छ ।’
निर्माणाधीन चर्पीमा पनि पानी, झरी, हिलोमा आफूलाई जान असहज हुने कृष्णलाई घरभित्रै चर्पी भए सहज हुन्थ्यो भन्ने छ । ‘घर भित्रै भए राम्रो हुन्थ्यो मेरो अवस्थाले त्यसो भन्छ, अवस्था नहुनु सबै भन्दा साह्रो रैछ, घरकै अवस्था राम्रो छैन, के गर्नु र ?’
आफूलाई चर्पी जान असहज हुने बुझेका कृष्णले अपाङ्गमैत्री भनेको नबुझेको बताउनुभयो ।

नगरपालिकालाई खुल्ला दिसामुक्त बनाउने कार्य योजना अनुसार वडा नम्बर–१० दोमुखा स्थित सुकुम्वासी बस्तीमा बस्दै आएका कृष्णको घरमा शौचालय बनाउनका लागि वडाले कंक्रिटयुक्त रिङ लगेर राखिदिए । वडाले रिङ झारीदिएपछि शौचालय बनाउन नैतिक दवाव धेरैमा प-यो । सोही अनुसार नबनाएकाहरुले बनाउन थाले । कृष्णका घरमा शौचालय निर्माणका लागि खाल्डो खन्ने र रिङ राख्ने कार्य सकिएको छ । रिङको माथिबाट बाँसका टाटीबेरा लगाउने तयारीमा रहेका कृष्णको घरमा निर्माणाधीन शौचालयको रिङ जोड्नका लागि कृष्णकै छोरा र अर्पण भूजेल काम गरिरहेका छन् ।
कृष्णको छोरा आफ्नो साथी भएकोले काम सघाउन आएका हुन् अर्पण । कृष्णले भन्नुभयो ‘उपाय नै छैन हजुर कसरी बनाउँ, यति गर्दापनि ४/५ हजार लागि हाल्दो र छ , यिनलाई खाजा त खुवाउनै प¥यो ।’
शौचालय बनाउन तयारीमा जुटिरहेका कृष्णका छोरा र अर्पणले भने अपाङ्गमैत्री भनेको पहिलो चोटी सुनेको बताउनुभयो ।
२०५२ सालमा पाँँचथरबाट बसाई सरेर साविक सताक्षीधाम गाविसमा बसोबास गर्न आइपुगेका कृष्ण २०५८ सालमा पहिरोमा परेर अपाङ्ग हुनु भएको हो । हाल उहाँ ५५ वर्षको हुनुहुन्छ ।
कृष्ण राई जस्ता विभिन्न प्रकारका अपाङगता भएका व्यक्तिहरु धेरै छन् । उहाँहरुका लागि अपाङ्गताका प्रकार अनुसारका अपाङ्गमैत्री शौचालय निर्माण गरी प्रयोगमा नल्याएसम्म खुला दिसामुक्त घोषणा कार्यक्रमले सार्थकता पाउन मुश्किल छ ।
कस्ता अपाङ्गता भएका व्यक्तिहरुका लागि कस्तो चर्पी बनाउने भन्ने विषयमा खानेपानी तथा ढल निकास विभागले ‘अपाङता तथा शारीरिक कठिनाई भएका व्यक्तिहरुको लागि घरायसी चर्पीका सुविधाका प्रकारहरु’ शीर्षकको हाते पुस्तिका समेत तयार पारिसकेको छ ।


1062 पटक हेरिएको 

