काठमाडौंमा वायु प्रदूषण नियन्त्रणका लागि २७ रणनीतिक क्षेत्र सहित कार्य योजना

  वास खबर सम्बाददाता  44 पटक हेरिएको
🔗
14
Shares

काठमाडौं : काठमाडौं महानगरपालिकाले सहरको वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका लागि २७ वटा रणनीतिक क्षेत्र समेटेर ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०८३’ कार्यान्वयन गर्ने तयारी गरेको छ।

महानगरपालिकाले धुलो, धुवाँ, फोहर जलाउने प्रवृत्ति र सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणदेखि स्वच्छ चुलोको प्रयोग, हरियाली विस्तार तथा प्रदूषणको जोखिममा रहेका नागरिकको स्वास्थ्य सुरक्षासम्मका कार्यक्रमलाई कार्ययोजनामा समेटेको छ।

कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार महानगरपालिकाले वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका लागि १० वटा मुख्य उद्देश्य सहित कार्ययोजनाको मस्यौदा तयार गरेको छ।

कार्ययोजनामा सडकबाट उड्ने धुलो, सवारीसाधनबाट निस्कने धुवाँ, फोहरमैला व्यवस्थापन, घरभित्रको वायु प्रदूषण, हरियाली प्रवर्द्धन र जनस्वास्थ्य सुरक्षालाई प्राथमिकता दिइएको छ।

प्रमुख राईले भौगोलिक बनावटका कारण काठमाडौंमा वायु प्रदूषणको असर बढी पर्ने भएकाले यसको नियन्त्रणका लागि साझा प्रयास आवश्यक रहेको बताइन्।

उनले भनिन्, ‘कामपा नसर्ने रोग र चोटपटकबाट नागरिकलाई बचाउन प्रतिबद्ध विश्वका सहरहरूको सञ्जालको सदस्य पनि हो। विश्व स्वास्थ्य सङ्गठन र ब्लुमवर्ग फिलान्थ्रोपिजसँगको सहकार्यमा सञ्चालन हुने कार्यक्रममध्ये वायु प्रदूषण नियन्त्रण पनि महत्वपूर्ण विषय हो। साझा प्रयत्नबाट हामी वायु प्रदूषण घटाउन चाहन्छौँ।’

नीतिगत सुधार देखि स्वच्छ प्रविधिको प्रवर्द्धन सम्म

कार्य योजनाले वायु प्रदूषण रोकथाम तथा न्यूनीकरणका लागि नीतिगत, कानुनी, संस्थागत र आर्थिक व्यवस्था सुदृढ गर्ने लक्ष्य लिएको छ।

यस अन्तर्गत महानगरपालिकाका विद्यमान नीति, नियम, कार्यविधि तथा मापदण्डको समीक्षा र परिमार्जन गरिनेछ। साथै, प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ पुनरावलोकन गर्नुका साथै विद्यालय र अस्पताल जस्ता संवेदनशील क्षेत्रलाई लक्षित गरी विशेष व्यवस्था गरिने कार्ययोजनामा उल्लेख छ।

वायु प्रदूषण न्यूनीकरणका लागि विद्युतीय सवारीसाधन र विद्युतीय चुलोजस्ता स्वच्छ प्रविधिको प्रयोगलाई समेत प्रोत्साहन गरिनेछ।

३२ वटै वडा र विषयगत विभागलाई जिम्मेवारी

वायु प्रदूषण नियन्त्रणका सबै काम एउटै विभागबाट सम्भव नहुने भएकाले महानगरपालिकाले कार्यक्रमको प्रकृति अनुसार विभिन्न विभाग तथा ३२ वटै वडा कार्यालयलाई जिम्मेवारी तोकेको छ।

कार्ययोजना कार्यान्वयनका लागि यातायात तथा सडक सुरक्षा योजना, सार्वजनिक निर्माण विभाग, उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, स्वास्थ्य विभाग, शिक्षा विभाग, सूचना प्रविधि विभाग र वडा कार्यालयहरूको भूमिका निर्धारण गरिएको प्रमुख राईले जानकारी दिइन्।

महानगरपालिकाले कार्ययोजना अन्तर्गतका कार्यक्रमलाई समय सीमा सहित अघि बढाउने जनाएको छ। केही कार्यक्रम तत्कालै सुरु गरी निरन्तर सञ्चालन गर्ने, केही महिनाभित्र र केही एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यस्तै, दीर्घकालीन प्रकृतिका कार्यक्रम दुईदेखि पाँच वर्ष भित्र पूरा गर्ने योजना महानगरपालिकाको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार