
विराटनगर : कोसी प्रदेशको फोहोर व्यवस्थापनलाई व्यवस्थित र दिगो बनाउने उद्देश्यले सुनसरीको दुहबीमा क्षेत्रीय फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ। सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्ने गरी कोसी प्रदेश सरकार, प्रदेश लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
विराटनगरमा सोमबार आयोजित कार्यक्रममा प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र निफ्राका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।
प्रदेश लगानी प्राधिकरणका अनुसार सुनसरीको दुहबी नगरपालिकामा स्थापना गरिने फोहोरमैला प्रशोधन तथा व्यवस्थापन परियोजनामा विकासकर्ता कम्पनी रिभाइभ इन्फ्राटेक एण्ड इन्भेस्टमेन्ट प्रालिलाई निफ्रा मार्फत कर्जा लगानी गर्ने सम्बन्धमा समझदारी भएको हो।
पाँच स्थानीय तहको फोहोर प्रशोधन गर्ने लक्ष्य
प्रारम्भिक अनुमान अनुसार करिब ५६ करोड रुपैयाँ लगानीमा निर्माण हुने प्रशोधन केन्द्रका लागि बूढीगङ्गा गाउँपालिकामा करिब १६ बिघा जग्गा उपलब्ध गराइएको छ। दुहबी नगरपालिकाको नेतृत्वमा अघि बढाइएको यस परियोजनाले दुहबी सहित बूढीगङ्गा, गढी, इनरुवा, इटहरी र विराटनगर क्षेत्रको फोहोर सङ्कलन तथा प्रशोधन गर्ने लक्ष्य राखेको छ।
प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. कोइरालाका अनुसार परियोजनालाई भविष्यमा धरान उपमहानगरपालिकादेखि विराटनगर महानगरपालिकासम्म विस्तार गर्ने योजना छ। उपलब्ध जग्गा र प्रशोधन क्षमताका आधारमा मोरङ र सुनसरीका थप क्षेत्रलाई समेत समेट्न सकिने सम्भावना रहेको उहाँले बताउनुभयो।
परियोजनालाई फोहोर सङ्कलन र विसर्जनमा मात्र सीमित नराखी प्रशोधनबाट उपयोगी वस्तु उत्पादन गर्ने तथा व्यावसायिक रूपमा सञ्चालन गर्ने अवधारणा अघि सारिएको छ।
दुहबी नगरपालिकाका प्रमुख वेद गच्छदारले निजी क्षेत्रसँगको सहकार्य र लगानीमैत्री वातावरण निर्माणमार्फत क्षेत्रीय फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। उहाँले छिमेकी पालिका समेत लाभान्वित हुने गरी क्षेत्रीय प्रशोधन केन्द्र स्थापना गर्न लागिएको उल्लेख गर्नुभयो।
नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा डेढ करोड रुपैयाँ विनियोजन गरेर फोहोर प्रशोधनको योजना सुरु गरेको थियो। त्यसपछि सङ्घीय सरकारको वातावरण विभागसँग सम्झौता गरी थप काम अघि बढाइएको थियो। पाँच टन कुहिने फोहोर प्रशोधन गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याइएको संरचना भने फोहोरको उचित वर्गीकरण नहुँदा र प्राविधिक जनशक्तिको अभावका कारण हाल बन्द अवस्थामा रहेको प्रमुख गच्छदारले जानकारी दिनुभयो।
फोहोरमा रहेका फलाम, ढुङ्गा र काठका टुक्रासमेत मेसिनमा पुग्दा प्रशोधन प्रक्रियामा समस्या आएको उहाँको भनाइ छ। उहाँले घरघरबाटै फोहोर वर्गीकरण गर्ने बानी विकास गर्न नागरिकलाई प्रेरित गर्ने कार्यक्रम आवश्यक रहेको बताउनुभयो। साथै, निजी क्षेत्रलाई लगानी गर्न सहज हुने गरी कानुनी तथा नीतिगत जटिलता हटाउन सङ्घीय र प्रदेश सरकारसँग आग्रह गर्नुभयो।
बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष जितनारायण थापाले घरघरबाट निस्कने फोहोरलाई व्यवस्थापन गरी आम्दानीको स्रोतमा रूपान्तरण गर्ने उद्देश्य सहित परियोजना अघि बढाइनु सकारात्मक भएको बताउनुभयो। उहाँले गाउँपालिकाले न्यून शुल्कमा वर्षभरि फोहोर सङ्कलन तथा व्यवस्थापन गर्दै आएको उल्लेख गर्दै यसबाट स्थानीय नागरिकले सहज र सुलभ सेवा पाउनुपर्नेमा जोड दिनुभयो।
निफ्राका अध्यक्ष महेश दाहालले स्थानीय तह, प्रदेश सरकार, निफ्रा र निजी क्षेत्रको सहकार्यमा फोहोरमैला व्यवस्थापनको नमुना परियोजना अघि बढाउन लागिएको बताउनुभयो। परियोजनामा निफ्राले वित्तीय लगानी गर्ने उहाँले जानकारी दिनुभयो। यसले अन्य नगरपालिकालाई समेत व्यवस्थित फोहोर व्यवस्थापनका लागि सफल मोडेल प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
लगानी सम्मेलनका परियोजना कार्यान्वयनमा
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको पूर्वाधार विकास र लगानी प्रवर्द्धनका दृष्टिले दुहबीको फोहोर प्रशोधन केन्द्र महत्त्वपूर्ण परियोजना भएको बताउनुभयो।
प्रदेश सरकारले २०८२ वैशाख १८ र १९ गते आयोजना गरेको लगानी सम्मेलनमा ५१ वटा परियोजनाका लागि एक खर्ब ५६ अर्ब रुपैयाँ बराबरको लगानी सम्बन्धी समझदारी भएको थियो। तीमध्ये निजी क्षेत्रबाट सञ्चालन हुने केही परियोजना सुरु भइसकेका छन् भने सार्वजनिक–निजी साझेदारीका परियोजनासमेत कार्यान्वयनको चरणमा रहेको उहाँले जानकारी दिनुभयो।
मुख्यमन्त्री कार्कीका अनुसार हालसम्म पाँच वटा परियोजनाको परियोजना विकास सम्झौता (पीडीए) भइसकेको छ भने थप १२ वटा परियोजना सम्झौताको चरणमा छन्।
प्रदेश सरकारले नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण गरिरहेको उल्लेख गर्दै उहाँले जलविद्युत्, कृषि, पर्यटनलगायतका क्षेत्रमा कोसी प्रदेशमा लगानीको ठूलो सम्भावना रहेको बताउनुभयो।
दुहबीमा प्रस्तावित क्षेत्रीय फोहोर प्रशोधन केन्द्र कार्यान्वयनमा आएमा सुनसरी र मोरङका विभिन्न स्थानीय तहको फोहोर व्यवस्थापनमा सहयोग पुग्नुका साथै फोहोरलाई स्रोत र आम्दानीमा रूपान्तरण गर्ने अवसर समेत सिर्जना हुने अपेक्षा गरिएको छ।


50 पटक हेरिएको 

