बन्द अवस्थामा रहेको टेकुको फोहोरबाट ऊर्जा परियोजना पुनः सञ्चालनमा

कुहिने फोहोरबाट बायोग्यास र जैविक मल उत्पादन गर्दै चक्रीय अर्थतन्त्र प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा

  वास खबर सम्बाददाता  12 पटक हेरिएको
🔗
13
Shares

काठमाडौं : लामो समयदेखि बन्द अवस्थामा रहेको काठमाडौंको टेकुस्थित फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजना पुनः सञ्चालनमा आएको छ। काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा परियोजनाको पुनर्निर्माण सम्पन्न गरी परीक्षण सञ्चालन तथा हस्तान्तरण गरिएको हो।

युरोपेली संघको सहयोगमा सन् २०१७ मा स्थापना गरिएको उक्त परियोजना सञ्चालनमा आउन नसकी बन्द अवस्थामा थियो। महानगरपालिका र केन्द्र बीच गत साउन १८ गते भएको समझदारी अनुसार पुनर्निर्माणको काम सम्पन्न भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा परीक्षण सञ्चालन तथा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा मन्त्री श्रेष्ठले फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजना सहरी फोहोर व्यवस्थापनलाई ऊर्जा उत्पादनसँग जोड्ने महत्त्वपूर्ण पहल भएको बताउनुभयो। यसले स्थानीय स्रोतको सदुपयोग, नागरिकलाई स्वच्छ तथा किफायती ऊर्जा उपलब्ध गराउने र स्वच्छ वातावरणमा बस्न पाउने अधिकार सुनिश्चित गर्न योगदान पुर्‍याउने उहाँको भनाइ थियो।

नेपालले हरेक वर्ष एलपी ग्यास लगायत पेट्रोलियम पदार्थको आयातमा ठूलो रकम खर्च गरिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले स्वदेशमै उपलब्ध जैविक स्रोतबाट ऊर्जा उत्पादन गर्नु आर्थिक, वातावरणीय तथा ऊर्जा सुरक्षाका दृष्टिले महत्त्वपूर्ण हुने बताउनुभयो।

ऊर्जा विकासलाई जलविद्युत् उत्पादनमा मात्र सीमित नराखी सौर्य ऊर्जा, बायोग्यास, फोहोरबाट ऊर्जा तथा अन्य नवीकरणीय ऊर्जा स्रोतको विकास र उपयोगमा समेत जोड दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो। ऊर्जा स्रोतको विविधीकरण र स्थानीय स्तरमा उपलब्ध स्रोतको उपयोगबाट दिगो तथा भरपर्दो ऊर्जा प्रणाली निर्माण गर्न सकिने उहाँको भनाइ थियो।

मन्त्री श्रेष्ठले नियुक्त भएदेखि नै बन्द अवस्थामा रहेको टेकुको परियोजना पुनः सञ्चालनमा ल्याएर नमुना परियोजनाका रूपमा विकास गर्न चासो देखाउँदै आवश्यक प्रक्रिया अघि बढाउन केन्द्रलाई निर्देशन दिनुभएको थियो।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले परियोजनाको पुनर्निर्माण निर्धारित समयमै सम्पन्न भएकामा खुसी व्यक्त गर्नुभयो। आगामी दिनमा पनि यस्ता परियोजना सञ्चालन तथा विस्तारका लागि महानगरपालिका र केन्द्रबीच सहकार्य जारी राख्न महानगरपालिका इच्छुक रहेको उहाँले बताउनुभयो।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले परियोजना निर्धारित समयमै सम्पन्न गरी हस्तान्तरण गरिएको बताउनुभयो। उहाँले परियोजना पुनर्निर्माणमा सहयोग गर्ने काठमाडौं महानगरपालिका, विश्व बैंक, प्लान्टको आपूर्तिकर्ता तथा जडानकर्ता कम्पनी जेवन वेस्ट म्यानेजर प्रालिलगायत सरोकारवाला निकायलाई धन्यवाद दिनुभयो। आगामी दिनमा पनि यस्ता आयोजनामा महानगरपालिका र केन्द्रबीचको सहकार्यलाई निरन्तरता दिइने उहाँले बताउनुभयो।

सन् २०१४ देखि विश्व बैंकको सहयोगमा सञ्चालन हुँदै आएको ‘नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम–विस्तारित बायोग्यास आयोजना’ अन्तर्गत नगरपालिकाको फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजना तथा ठूला क्षमताका व्यावसायिक बायोग्यास प्लान्ट निर्माणमा सहयोग हुँदै आएको छ। हाल उक्त कार्यक्रम विश्व बैंकको मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको छ।

कार्यक्रम अन्तर्गत हालसम्म सातवटा नगरपालिकामा फोहोरबाट ऊर्जा परियोजना कार्यान्वयन भएका छन् भने २० भन्दा बढी ठूला क्षमताका व्यावसायिक बायोग्यास परियोजनालाई सहयोग उपलब्ध गराइएको छ।

केन्द्रले देशभर नगरपालिकाको फोहोरबाट ऊर्जा उत्पादन गर्ने तथा व्यावसायिक क्षेत्रमा बायोग्यास उत्पादन गर्ने सम्भाव्यता समेत अध्ययन गरेको छ। यसैगरी, ४८ मिलियन अमेरिकी डलर बराबरको परियोजना प्रस्ताव हरित जलवायु कोषमा पेस गरी स्वीकृतिको प्रक्रियामा रहेको छ। पेरिस सम्झौताको दफा ६.२ अन्तर्गत फोहोरबाट ऊर्जा उत्पादनमा आधारित कार्बन परियोजना विकासको काम पनि केन्द्रले अघि बढाएको छ।

फोहोरबाट ऊर्जा उत्पादन गर्ने यस्ता प्लान्टले सहरी क्षेत्रको प्रमुख चुनौतीका रूपमा रहेको कुहिने फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। फोहोरबाट बायोग्यास तथा जैविक मल उत्पादन गर्न सकिने भएकाले यसले स्रोतको पुनःप्रयोग र चक्रीय अर्थतन्त्र प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार