काठमाडौ : सामान्यतयः मानिसहरु दिसापिसाब लाग्यो भने चर्पी खोज्न थाल्छन् । अझ खुला ठाउँमै दिसापिसाब गर्न बानी परेकाहरु त चर्पी हुनु र नहुनु सँग खासै मतलब राख्दैनन् ।
तर सरसफाइविद नमस्तेलाल श्रेष्ठलाई भने चर्पीमा प्रवेश गर्न दिसापिसाब लागिरहनुपर्दैन । चर्पी देख्यो कि पसिहाल्ने उहाँको विशेषता हो । चर्पीको बाहिरी रुप हेरेर मात्र चित्त नबुझ्ने भएकाले चर्पीको बनावट देखि भित्री बाहिरी अवस्था नियाल्न उहाँ प्रायः चर्पीमा प्रवेश गरिहाल्नुहुन्छ ।

सरसफाइको अनुगमनका क्रममा मात्र होइन, अरु बेला पनि चर्पी भन्यो कि उहाँको ध्यान गईहाल्छ । श्रेष्ठ भन्नुहुन्छ ‘साधारणतयः हामी अनुगमन गर्दा चर्पी छ कि छैन भने सोध्छौं, छ भन्ने जवाफ पायौं भने हामी ए ! छ भने अघि बढ्छौं, तर अनुगमन गर्ने तरिका यो होइन, वास्तविकता बुझ्न चर्पी छ भनेर मात्र पुग्दैन, चर्पी भएपनि त्यसमा दिसापिसाब गर्दा सजिलो सँग बस्न सकिन्छ कि सकिदैन ? कति सफा राखेको छ ? हावा आउने जाने भेन्टिेलेशनको व्यवस्था छ छैन ? ढोका बन्द गर्न मिल्छ कि मिल्दैन ? यो सबै कुरा केवल बाहिरी अवस्था हेरेर मात्र पुग्दैन, भित्रै प्रवेश गरेर हेर्नुपर्छ ।’ दिसापिसाब नलागे पनि चर्पी प्रवेश गर्नुको रहस्यका विषयमा सरसफाइविद श्रेष्ठले बताउनुभयो ।

चर्पीको प्राविधिक, सामाजिक पक्षको विश्लेषणले यसको दिगोपन र निरन्तरतासँग पनि सम्बन्ध राख्छ । सरसफाइविद श्रेष्ठ भन्नुहुन्छ ‘दिसापिसाब गर्न नै असजिलो छ, ढोका बन्द गर्नै मिल्दैन वा असुरक्षित छ भने मानिसले त्यो प्रयोग गर्दैन र खुला ठाउँमा दिसा गर्ने सम्भावना बढी हुन्छ, त्यसैले चर्पीको प्राविधिक पक्षका विषयमा जानकारी गराउन पनि चर्पीको भित्री बाहिरी अवस्था हेर्नैपर्छ ।’
सही तरिकाले गरेको अनुगमनले चर्पी बनाउने घर, चर्पी प्रयोगकर्ता र सरसफाइ अभियानलाई समेत मद्दत पुग्छ । चर्पीको अवस्था हेरेपछि यसको सवल पक्ष र सुधारात्मक पक्षका विषयमा तत्काल छलफल गर्न सके सम्बन्धित घरधनी र चर्पी बनाउने मिस्त्रीले चर्पीको सुधार गर्नुपर्ने कुराहरु थाहा पाउने श्रेष्ठ बताउनुहुन्छ । ‘चर्पीमा जाने बाटो, सेफ्टिक ट्याङक, आदि निर्माणसँग जोडिएका कुराहरुलाई समेत सही अनुगमन गरेर तत्काल सुझाव दिन सके चर्पी बनाउनेले पनि किफायती, दिगो बनाउने विधि अपनाउन सक्छन्’ श्रेष्ठले भन्नुभयो ।
सम्मानित भएको महसुस गराउने
सरसफाइको अनुगमन गर्दा चर्पी भए भित्रै पसेर हेर्नुहुन्छ नभए पनि उहाँले चर्पी बनाउनुपर्छ भनेर एकोहोरो दबाब दिने काम मात्र गर्नुहुन्न । उहाँको गज्जबको सूत्र छ, त्यो हो ‘सम्मानित भएको महसुस गराउने’
यसका लागि उहाँले चर्पीको नभएको घरको बलियो पक्ष तत्काल पत्ता लगाउनुहुन्छ । जस्तो : कोही जागिरे हुनुहोला ? कसैको बालबालिका बोर्डिङ स्कुलमा पढिरहेका होलान् ? कोही गाउँको सम्मानित व्यक्ति हुन सक्नुहुन्छ ।

उहाँले यही पक्षलाई बलियो ढंगबाट प्रस्तुत गरेर हामी सम्पन्न छौं, तर चर्पी चाहिं छैन भन्ने बोध तत्कालै गराउनुहुन्छ । हामीसँग सबथोक भएर पनि चर्पी छैन भन्ने महसुस जब आफैले गर्छन्, चर्पी बनाउछौं भन्ने प्रतिबद्धता पनि उसैले जाहेर गर्छन् ।
सरसफाइविद श्रेष्ठ भन्नुहुन्छ ‘तपाईको घरमा चर्पी रहेनछ, चर्पी बनाउनुहोस् भनेर मात्र बनाउने मानिस कमै हुन्छन्, पहिलो कुरा मैले चर्पी बनाउनुपर्छ भन्ने कुराको बोध गराउन जरुरी हुन्छ । यसका लागि धेरै उपायहरु हुन सक्छ, तर म चाहिं कसैको राम्रो कुरालाई प्रस्तुत गरेर उसैलाई खुसी तुल्याएर चर्पी छैन र बनाउनुपर्छ भन्ने कुराको बोध गराउँछु, अनि बनाउने प्रतिबद्धता पनि उनीहरुबाटै खोज्छु ।’
‘हाम्रो संस्कार नै छ, भेट्न साथ नमस्कार गर्ने, मीठो बोल्ने । यही राम्रो संस्कारलाई हरेक घरमा पुग्दा, हरेक व्यक्ति सँग भेट्दा किन प्रयोग नगर्ने ?’ सरसफाइविद श्रेष्ठ भन्नुहुन्छ ‘व्यक्ति विशेषको कुनै राम्रो कुरा छ भने उनको प्रशंसा गरिदिने, घरआँगन सफा देख्यो भने सफा छ भनिदिने । किनभने मानिसले एकैपटक नकारात्मक सुन्न चाहँदैनन्, प्रशंसा गरेकै सुन्न चाहन्छन् । यदि सुनिहालेमा पनि ग्रहण गर्दैनन् । त्यसैले हामीले बानी व्यहोरामा परिवर्तन ल्याउन त्यो घर र व्यक्तिसँगको राम्रो पक्ष पत्ता लगाएर सम्मानित भएको महसुस गराउनुपर्छ ।
उहाँको भनाइमा कोही व्यक्तिलाई सम्मानित भएको महसुस हुनासाथ थप कुरा गर्न उत्सुक हुन्छन् । यो एउटा यस्तो जागृतिमूलक तरिका हो, जसले आफूसँग बढी आकर्षण गराएर बढी भन्दा बढी कुरा कुरा गर्न सजिलो हुन्छ ।


1028 पटक हेरिएको 

