काठमाडौ २८ फागुन । काठमाडौकी श्रुति शर्मा हत्तपत्त सार्वजनिक शौचालय प्रयोग गर्नुहुन्न । प्रयोग गर्नै पर्ने अवस्था आएपनि उहाँ साथी बिना प्रयोग गर्ने आँट गर्नुहुन्न । सार्वजनिक शौचालयमा चुकुलको व्यवस्था नहुँदा उहाँलाई यस्तो समस्या पर्ने गरेको हो ।
शौचालयमा फोहोर फाल्ने भाँडो र चुकुलको व्यवस्था नहूँदा सबैभन्दा बढी समस्या महिलालाई पर्ने गरेको छ । भित्र शौच गर्दैगर्दा बाहिरबाट कोही आउने हो कि भन्ने भयले धेरैजसो महिला शौचालय प्रयोग गर्नै हिच्किचाउछन् । वातावरण विज्ञान विषयमा अध्ययनरत सदिक्षा चौहान भन्नुहुन्छ ‘काठमाडौको कुनै पनि सार्वजनिक शौचालय भरपर्दो छैनन् भित्र पसेपछि नाक समाउनु कि ? ढोकालाई धकेल्नु कि ? साह्रै समस्या हुन्छ ।’
काठमाडौ उपत्यकामा सञ्चालित सार्वजनिक शौचालयहरु सबै प्रयोगकर्ताका लागि उपयुक्त छैनन्, सबैजसो शौचालय पुरुषले नाक थुनेर पिसाब फेर्न मात्र सकिने अवस्थामा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता राष्ट्रिय महासंघका कार्यक्रम अधिकृत वेदव्यास लामिछानेले बताउनुभयो ।
जत्ति शौचालय बनाएका छन् ती उपयुक्त स्थानमा बनेका छैनन् । जहाँ मानिसको बढी चाप हुन्छ त्यही शौचालय हुनुपर्नेमा मानवीय चाप नभएको र अनुपयुक्त ठाउँमा शौचालय बनाएको अनुभव छ, वातावरण र जनस्वास्थ्य संस्था एन्फोका कार्यक्रम व्यवस्थापक राजेन्द्र श्रेष्ठको । उहाँ भन्नुहुन्छ ‘शौचालय मानिसको ओहोदोहोर हुने व्यस्त स्थानमा हुनुपर्नेमा एकान्तमा पनि राखिएको पाइएको छ । सबै त होइन, एकाध ठाउँहरुमा भेटिएको छ, जस्तो जयवागेश्वरीको एउटा ठाउँ छ जहाँ मानिस पुग्दै पुग्दैन’
सार्वजनिक शौचालय प्रयोगकर्ताहरुले भने झैं अनुसन्धानबाट पनि उपत्यकाका सार्वजनिक शौचालयहरु प्रयोग गर्न लायकका छैनन् भन्ने पुष्टी भएको छ । काठमाडौ उपत्यकामा सन्चालन भएका सार्वजनिक शौचालयहरुको अवस्थाका बारेमा लामो समय लगाएर अनुसन्धान गरेपछि वाटर एडले यस्तो निष्कर्ष निकालेको हो ।
सार्वजनिक शौचालय कुनै निश्चित लिंग र शारीरिक क्षमता भएका व्यक्तिले मात्र प्रयोग गर्ने होइन, भिन्न शारीरिक क्षमता भएका व्यक्तिहरुले समेत प्रयोग गर्ने हुँदा यसको संरचना पनि सबैका लागि उपयुक्त हुने तरीकाले बनाएको हुनुपर्छ । यसका साथै शौचालय प्रयोग गर्नका लागि आवश्यक पर्ने न्यूनतम सामग्री शौचालय भित्र हुनैपर्छ । यस तर्फ ध्यान जानुपर्ने शौचालय प्रयोगकर्ताहरु बताउँछन् ।