महोत्तरी ६ चैत्र । महोत्तरीमा चर्पी बनाउन नयाँ जुक्ति निकालेको छ । केही गर्दा पनि चर्पी बनाउन क्रियाशील नभएकाहरुलाई भगवानको कसम खुवाएर चर्पी बनाउन लगाउने कामको शुरुवात गरिएको हो । यसका लागि अभियानकर्ताले भगवानको फोटो अंकित पोस्टर सम्बन्धित व्यक्तिको घरदैलामै लैजान्छन् ।
पोष्टर गोविन्द सुवेदीको फेसबुकबाट
पोस्टरमा पशुपतिनाथ, जानकी मन्दिर, बाबा बैद्यनाथ, गणेश, मक्का मन्दिना, हरिद्धार, चर्च, बैष्णो देवी, जलेश्वर महादेव र गौतम बुद्धको फोटो राखिएको छ । सरसफाइलाई धार्मिक आस्थासँग जोडेर अगाडि बढाउँदा अभियानले गति लिने अपेक्षाले यसो गरिएको जिल्ला खानेपानी तथा सरसफाइ समन्वय समिति महोत्तरीले जनाएको छ ।
पोष्टरमा ‘हामीलाई छोइ कसम खाउ, पहिले घरमा चर्पी बनाउ, अनि मात्र दर्शन गर्न आउ’ भन्ने वाक्यांश उल्लेख छ । यस्तो पोष्टर सरसफाइकर्मीले सेवाग्राहीको घरदैलोमा जाँदा लैजाने, चर्पी बनाउन बाँकी घरमा चर्पी बनाउन आग्रह सहित आफ्नो आस्थाको मन्दिर, देवी देवतामा हात राखी वाचा गर्न लगाउने र ठूलो बोर्ड र धार्मिक गान सहित गाडीमा राखी चर्पी नभएका वस्तीमा सरसफाइ तथा धार्मिक यात्रा गर्ने UN Habitat का District Coordinator गोविन्द सुवेदीले जानकारी दिनुभयो ।
राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयका अनुसार महोत्तरीका ६६ गाविसमध्ये ११ गाविस खुल्ला दिसामुक्त भएका छन् । बाँकी रहेका ५५ गाविसमा चर्पी बनाउने काम धमाधम चलिरहेको छ ।
यस्तै ३ नगरपालिका मध्ये बर्दिबास नगरपालिका मा खुल्ला दिसामुक्त भएको छ । महोत्तरीको ९५ हजार ७ सय १३ घर मध्ये ११ हजार ६ सय ७४ घरमा चर्पी बनेका छन् ।
जिल्लाको पशुपतिनगर, रतौली, खायरमारा, लच्मिनीया, बडिया बनचौरी, बेलगाछी, भरतपुर, गैडहाभेदपुर, हाथीलेट र पोखरीविन्दा गाविस खुल्ला दिसामुक्त घोषणा भएका छन् ।