तिलोत्तमा बन्दैछ, प्लाष्टिक झोला, चम्चा र गिलास निषेधित क्षेत्र

रुपन्देही : तिलोत्तमा नगरपालिकाले प्लाष्टिकका झोला, गिलास तथा चम्चा निषेध गर्ने भएको छ । विभिन्न चरणको छलफल पछि नगरपालिकाले यही मंसिर १५ गतेदेखि प्लाष्टिकका झोला, गिलास र चम्चाको प्रयोगमा निषेध गर्ने निर्णय लिएको हो ।

प्लाष्टिकका झोला, गिलास तथा चम्चाको प्रयोगमा प्रतिबन्ध लगाउन गत बैशाख देखि सचेतना अभियान सञ्चालन गरेको र मंसिर १५ देखि कार्यान्वयनमा जान लागेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

‘अब प्लाष्टिकका गिलास, झोला तथा चम्चाको प्रयोग गरेमा दण्ड जरिवाना लगाइनेछ र सबै संयन्त्रलाई परिचालन गरिनेछ’ प्रमुख घिमिरेले बताउनुभयो ।

नगरपालिकाले प्लाष्टिकबाट बनेका सामानमा प्रतिबन्ध लगाउन गत शुक्रबार नगरपालिकाका १ सय ८५ वटै टोल विकास समितिका सदस्य, कार्यपालिका सदस्य, सामुदायिक विद्यालय, संस्थागत विद्यालय तथा खानेपानी सरसफाइका पदाधिकारी सँग छलफल गरेको थियो ।
एक पटक प्रयोग गरेर फाल्ने खालका प्लाष्टिकका सामानले वरपरको वातावरण प्रदुषण हुने र भविश्यमा वातावरणीय असर पार्ने भएकाले यसको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार