पर्वत : सडकमा जथाभावी थुक्ने, फोहोर फाल्ने बानी छ भने त्यागिहाल्नुस् । नत्र कारबाहीमा पर्नुहुनेछ । जिल्ला प्रहरी र पर्वत ट्राफिक प्रहरीले ‘क्लिन सडक’ अभियान सुरु गरेर सडकमा फोहोर फाल्ने तथा जथाभावी थुक्नेलाई कारबाही सुरु गरेको छ ।
सडकमा हुइँकिने सवारीसाधनका यात्री र पैदलयात्रीले जथाभावी फोहोर फाल्दा वातावरणस्य प्रदूषण बढेको र बजार क्षेत्रमा दुर्गन्ध फैलिंँदै गएपछि पर्वत प्रहरीले यस्तो अभियान सुरु गरेको हो । जिल्ला प्रहरी र ट्राफिक प्रहरीले पहिलो चरणमा कुश्मा नगरपालिकासँग मिलेर सफाइ अभियान सुरु गरिसकेको छ ।
पहिलो चरणमा कुश्मा नगरपालिका–७ अन्तर्गत पर्ने बान्द्रेबिंडीदेखि शिवालयचोक हुँदै दुर्लुङचोकसम्म निगरानी बढाइएको ट्राफिक प्रमुख रामकृष्ण गौलीले बताउनुभयो । ‘पहिलो चरणमा एउटा फोहोर फाल्नेलाई १० वटा टिप्न लगाएका छौं,’ उहाँले भन्नुभयो ‘यो सचेतनामूलक कारबाहीमा पर्छ । केही समयपछि स्थानीय तहसँग मिलेर ५ सय जरिवाना गर्ने नियम बनाइँदैछ ।’
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने पोखरा–बाग्लुङ सडकमा समेटिएका मोदी गाउँपालिका र कुश्मा नगरपालिकासँग मिलेर जरिवाना गरिने उहाँले बताउनुभयो । पहिलो चरण सकि एलगत्तै मालढुंगा–बेनी सडकछेउमा पनि यो अभियान सुरु गरिने ट्राफिकले जनाएको छ ।
ट्राफिक प्रहरीलाई यो अभियान सुरु गर्न जिल्ला प्रहरी कार्यालयले अवधारणा दिएको हो । प्रहरी प्रमुख डीएसपी भुवनेश्वर तिवारीले प्रहरीको रचनात्मक कार्यक्रम अन्तर्गत यो अभियान सुरु गरिएको जानकारी दिनुभयो । ।
जिल्ला बाहिरबाट आउने यात्रीलाई यो कुरा बुझाउन केही समस्या हुने प्रहरीले जनाएको छ । प्रहरीले सडकछेउका पसल र सार्वजनिक सवारीमा अनिवार्य डस्टबिन राख्न निर्देश गरिसकेको छ । सडकछेउका पसल, निजी घरधनी र सार्वजनिक सवारीधनीले डस्टबिन राख्न सुरु गरिसकेका छन् ।
अभियानअन्तर्गत प्रहरी र ट्राफिकले स्थानीय तहसँग मिलेर सडक छेउमा चेनतामूलक होर्डिङ बोर्ड राख्ने तयारी गरेको छ । ‘स्थानीयलाई अन्तरक्रिया र स्थानीय सञ्चार माध्यमबाट सचेत गराउन सकिन्छ,’ प्रहरी प्रमुख तिवारीले भन्नुभयो ‘बाहिरबाट आउने यात्रीलाई सचेत गराउन सडकछेउमा होर्डिङबोर्ड राख्नुपर्छ ।’ प्र
हरी र ट्राफिकको यो अभियानलाई स्थानीय तह र सामाजिक संस्थाहरूले सकारात्मक अभ्यासको सुरुवात भनेका छन् । ‘सडकभरिको फोहोरले कुश्मा भन्नै लाज मान्नुपर्ने अवस्था थियो,’ सामुदायिक सेवाकेन्द्रका अध्यक्ष शिव सुवेदीले भने, ‘यो अभियान सञ्चालन गर्नैपर्ने थियो । प्रहरीले सुरु गरेको छ । हामी पनि यसमा सँगै साथ दिन्छौं ।’
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले प्रहरीले सुरु गरेको यो अभियानले सफा र सुन्दर कुश्मालाई पर्यटकीय नगर बनाउन इँटा थप्ने दाबी गर्नुभयो । ‘कुश्मा पर्यटकीय नगरी बन्ने क्रममा छ, यसका लागि सफाइ अभियानले महत्त्वपूर्ण भूमिका खेल्छ ।’उहाँले भन्नुभयो ।