ललितपुरः बर्षातको समयमा फैलिन सक्ने पानीजन्य रोग नियन्त्रणका लागि ललितपुर महानगरपालिकाले कार्ययोजना बनाएर कार्यान्वयन गर्ने भएको छ । महानगरको स्वास्थ्य शाखाले हैजा जस्तो महामारी फैलिन नदिन पूर्वतयारी गर्ने र रोग लागिहालेमा प्रतिकार्य गर्ने सहितको कार्ययोजना बनाएको हो ।
स्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले पानीजन्य रोगहरु नियन्त्रणका लागि विपद व्यवस्थापन समूह जस्तै आकस्मिक प्रतिकार्य समूह गठन गर्ने र क्षमता अभिवृद्धिका लागि तालिमहरु सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
बालबालिका केन्द्रित जोखिम मापन तथा योजना तर्जुमा सार्वजनिकीकरण कार्यक्रममा शाखा प्रमुख महर्जनले हैजा लगायत पानीजन्य रोगको रोकथामका लागि के गर्ने ? कसरी गर्ने ? कहाँ गर्ने ? कहिले गर्ने र यसका लागि जिम्मेवारी बाँडफाँट गरी अनुमानित बजेट समेत प्रस्ताव गरिएको कार्ययोजना प्रस्तुत गर्नुभयो ।
उहाँले मनसुन पूर्वको अवस्थामा पूर्वतयारी अपनाउनुपर्ने क्रियाकलापहरु सरसफाइ, पानी शुद्धिकरण गरेर पिउने लगायत तरिकाहरु अपनाउने र मनसुनको समयमा पानी जाँच गर्ने, खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सचेतना फैलाउने र पानी शुद्धिकरणका लागि आवश्यक सामग्री वितरण गर्ने कार्ययोजना रहेको बताउनुभयो ।
यसका लागि सम्बन्धित वडा कार्यालय र त्यस क्षेत्रमा खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थालाई समेत मुख्य जिम्मेवारी प्रदान गरी बजेट विनियोजन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
ललितपुरको ग्रामीण भेगमा हरेक बर्ष हैजाका बिरामी भेटिदै आएको छ । सन् २०१६ मा १५० जनामा देखिएको हैजा अहिले घट्दै गएको छ । काठमाडौ उपत्यकामा सन् २०१७ मा २ जना र २०१८ को मनसुनमा ३ जनामा हैजा भेटिएको थियो ।