काठमाडौ : सरकारले पानीको बहुउपयोगका लागि देशभरिका नदीको बेसिन योजना बनाउन सुरु गरेको छ । विश्व बैंकको सहयोगमा जल तथा ऊर्जा आयोगले जलविद्युत् विकास गुरुयोजना तथा वातावरण र सामाजिक मूल्यांकन सहितको नदी बेसिन योजनाको निर्माण सुरु गरेको हो ।
आयोगले पानीको क्षमता र यस मार्फत खानेपानी, सिँचाइ र जलविद्युतमा गर्न सकिने बहुउपयोगबारे बेसिन योजना बनाईनेछ । तीन बर्षभित्र सम्पन्न गर्ने गरी नदी बेसिनको गुरुयोजना निर्माण सुरु गरिएको आयोगका सहसचिव माधव बेल्वासेले बताउनुभयो ।
अहिले नदीको अध्ययन गर्न प्रदेश १, २ र ३ मा सरोकारवालासँग छलफल भइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार देशभरिका मुख्य नदी कोसी, गण्डकी, कर्णाली, बाग्मती, पश्चिम राप्ती, बबई, महाकाली, कमला, कन्काई र मेची नदीको बेसिन अध्ययनको काम आयोगले अघि बढाएको छ ।
अध्ययनले कुन कुन बेसिनको कुन कुन ठाउँमा कति पानी रहेको र सो को उपयोग कसरी गर्ने भन्ने विषय समेट्ने सहसचिव बेल्वासेले जानकारी दिनुभयो । ‘आर्थिक, सामाजिक, वातावरणीय र प्राविधिक रूपमा विश्लेषण गर्ने गरी अध्ययन सुरु गरेका छौं, अध्ययनले खानेपानी, सिँचाइ र जलविद्युतका साथै यसको पर्यटकीय, सांस्कृतिक र अन्य क्षेत्रमा कसरी के – के गर्ने भन्ने थाहा हुनेछ’ उहाँले भन्नुभयो ।
करिब ७० करोडको लागतमा निर्माण हुन लागेको नदी बेसिनका लागि चालू आर्थिक वर्षका लागि १० करोड रुपैयाँ छुट्याइएको छ ।
अध्ययन अन्तर्गत सबै प्रदेशमा गएर प्रदेश सरकार, स्थानीय तहका साथै खानेपानी उपयोगका क्षेत्रमा कार्यरत संघसंस्था र सरोकारवालासँग छलफल गर्ने योजना आयोगको छ । यसले नदीको उद्गमस्थलदेखि सिमानासम्मका लागि पानीको उपयोगको कार्ययोजना बन्नेछ ।