काठमाडौ : नेपाल टेलिकमले वाग्मती सरसफाइका लागि आवश्यक सामग्री उपलब्ध गराएको छ । टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १५औं बार्षिकोत्सवका अवसरमा सरसफाइ अभियानमा प्रयोग गर्न कम्पनीको लोगो अङ्कित १२५ थान वाटरप्रुफ ट्र्याकसुट, ४०० जोर गमबुट, १०० थान फोहर तान्ने सुइरोलगायत सामग्री उपलब्ध गराइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।
टेलिकमले ५० थान दाँते, ४०० जोर बाक्लो पञ्जा, १०० थान डोको/थुन्से, ५०० थान मास्क र ५०० थान कम्पनीको लोगो अङ्कित क्याप समेत उपलब्ध गराएको छ । वाग्मती सफाइ महाअभियान आरम्भ भएको ३००औँ हप्ता पुगेको अवसरमा मनोहरा दोभानमा आयोजित विशेष कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका प्रमुख आशिष घिमिरेलाई सफाइ सामग्री हस्तान्तरण गर्नुभयो ।
नेपाल टेलिकमले वाग्मती सफाइ महाअभियान शुरु भएको दोस्रो हप्तादेखि नै हरेक हप्ता समूहगत रुपमा आप्mना ग्राहकलाई सफाइ अभियानमा संलग्न हुन कम्पनीका तर्फबाट निःशुल्क एसएमएस सम्प्रेषण गर्दै आएको छ ।
विसं २०७० जेठ ५ गते तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सफाइ महाअभियानको शुभारम्भ गर्नुभएको थियो । वाग्मती सरसफाइ अभियानमा अहिलेसम्म करीब १८ हजार मेट्रिक टन फोहर उठाइसकिएकोे छ । यस कार्यमा एक हजार ८५० सङ्घसंस्था आबद्ध रही करिब दश लाख स्वयंसेवी परिचालन भइसकेका छन् ।