काठमाडौ : स्वास्थ्य मन्त्रालयले गरेको स्वास्थ्य संस्था सर्वेक्षण प्रतिवेदनले नेपालको २० प्रतिशत स्वास्थ्य संस्थामा सुरक्षित पानी र चर्पीको राम्रो व्यवस्था नभएको ठहर गरेको छ । स्वास्थ्य मन्त्रालयको जनसङ्ख्या प्रशासन, अनुगमन तथा मूल्याङ्कन महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनले खानेपानी र चर्पीको भौतिक पूर्वाधार भए पनि सेवाग्राहीका लागि प्रयोग गर्न योग्य नभएको जनाएको हो ।
जनसङ्ख्या प्रशासन, अनुगमन तथा मूल्याङ्कन महाशाखाका निर्देशक डा दीपेन्द्ररमण सिंहले सन् २०१५ मा गरेको अध्ययन प्रतिवेदन भएपनि अहिलेपनि ती स्वास्थ्य संस्थाको खानेपानी र चर्पीको अवस्थामा खासै सुधार नआएको बताउनुभयो ।
देशभरिका ९ सय ६३ वटा स्वास्थ्य संस्थामा गरिएको सर्वेक्षणमा बाल रोग, गर्भवती सेवा लिएका महिला, परिवार नियोजन सम्बन्धी परामर्श र जाँच अवलोकन गर्ने प्रोटोकललाई पनि समावेश गरिएको थियो ।