बालबालिकाको पहलमा ‘फेरा गाउँ’ बन्यो, पूर्ण सरसफाइयुक्त गाउँ

रुकुम ३० फागुन । रुकुमको झुला गाविस ६ फेरामा रहेको बाल जागरण प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाको प्रयासबाट फेरा गाउँ नै पूर्ण सरसफाइयुक्त भएको छ ।

विद्यालयमा सञ्चालित सरसफाइ कार्यक्रमबाट सिकेका ज्ञान सीपलाई घरपरिवार हुदै गाउँसम्म फैलाएर गाउँलाई नै पूर्ण सरसफाइ घोषणा गरिएको हो ।

यसरी सम्भव भयो, पूर्ण सरसफाइ गाउँ

 

विद्यालयमा शुरुमा बाल क्लवको गठन भयो । बाल क्लवमै हात घुने अभ्यास, फोहोर व्यवस्थापन गर्ने तरिका लगायत सरसफाइ सम्बन्धी क्रियाकलाप बालबालिकाले सिके । विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालित विद्यालय सरसफाइ कार्यक्रम अन्तर्गत विद्यालयमा सरसफाइ प्रवद्र्धन सम्बन्धी क्रियाकलापहरु सन्चालन गरिएको थियो ।

बालबालिका विद्यालयमा सिकेका हात धुने तरिका, चर्पीको प्रयोग, सुरक्षित पानी तथा सुरक्षित खानाको प्रयोग, घर आँगन र वरपरको वातावरणको सरसफाइका विषयमा सिकेका कुरालाई घरका परिवार र समुदायमा पनि फैलाएपछि पूर्ण सरसफाइ गाउँ सम्भव भएको हो ।

‘हामीले स्कुलमा सिकेका कुराहरु आमा बुबालाई भन्यौं, सबै बालबालिकाले आमा बुबालाई भनेपछि गाउँमै सरसफाई सम्बन्धी क्रियाकलाप फैलिदै गयो र व्यक्तिगत सरसफाइ देखि घरआँगन, टोल वातावरण सरसफाइ हुदै गयो’ सरसफाईको अगुवाई गरेकी मनमाया जैसीले भन्नुभयो ।

गाउँमा बालबालिकाको यस्तो अभियानलाई विश्व खाद्य कार्यक्रमको सहयोगमा एकीकृत बिकास समाज नेपालले सघाउदै आएको छ । एकीकृत विकास समाजले रुकुमको १ सय ३८ वटा प्राथमिक विद्यालयका करिब १८ हजार ५ सय बालबालिका र अभिभावकलाई लक्षित गरी पुर्ण सरसफाइ सम्बन्धी क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

शुरुमा विद्यालयको हाताभित्र कागजका टुक्रा, प्लाष्टिक, काठका टुक्रा लगायत फोहोर बस्तुहरु छरिएका हुन्थे । विद्यालयको शौचालय अत्यन्तै फोहोर र दुर्गन्धित थियो ।’

विद्यालय सरसफाइ कार्यक्रमका जिल्ला सरसफाइ अधिकृत झनक प्रसाद जोशी भन्नुहुन्छ ‘विद्यालयको भान्सा कोठा, खाजा पकाउने भाँडा फोहोर हुन्थे, कक्षा कोठाको सरसफाइ पनि थिएन । तर अहिले विद्यार्थीले सरसफाइमा ध्यान दिन थालेका छन् ।खाजा खाँदा हात धोएर खाने गर्छन्, यही ज्ञान बालबालिकाले घरपरिवार र समाजमा फैलाएका हुन् ।’

बालबालिकाको अगुवाईमा सरसफाइ कार्यक्रम सञ्चालन गरी रुकुमको फेरालाई फागुन २९ गते आइतबार पूर्ण सरसफाइयुक्त गाउँ घोषणा गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार