सिंहदरबारको दिसाजन्य लेदोलाई सिंहदरबारमै व्यवस्थापन गरिदै

काठमाडौ ३ चैत । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रबाट निस्कने दिसाजन्य लेदोलाई सिंहदरबारभित्रै व्यवस्थापन गरिने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले दिसाजन्य लेदोलाई प्रशोधन गरी लेदोमा भएको पानीको मात्रालाई पुनः प्रयोग गर्न लागेको हो ।

दिसापिसाब मिश्रित दिसाजन्य लेदोलाई ओम्नी प्रोसेसर उपकरण मार्फत प्रशोधन गरिने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । अहिले सिंहदरभित्र कति दिसाजन्य लेदो निस्कन्छन्  भन्ने अध्ययन हुन सकेको छैन । हाल दिसाजन्य लेदोलाई ढल मार्फत व्यवस्थापन गरिदै आएको छ ।

सिंहदरबारलाई फोहर रहित बनाउन र पानीको उचित सदुपयोग गर्न मन्त्रालयले ओम्नी प्रोसेसर उपकरण जडान गर्न प्रस्ताव गरेको मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयको प्रस्तावलाई बिल गेट्स फाउन्डेसनले प्राविधिक सहयोग गर्ने चासो समेत दिएको छ । विल गेट्सले आफ्नो आम्दानीको ठूलो हिंसा फोहरजन्य पदार्थको पुनः प्रयोगमा विश्वभर लगानी गर्ने घोषणा गरेका थिए ।

सो उपकरणको मूल्य २८ करोड रुपैयाँ पर्ने र एक पटक जडान गरेपछि लामो समयसम्म पुनः प्रशोधनमा काम दिने सचिव उपाध्यायले बताउनुभयो ।  रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार