सल्यान : चारैतिर भिरालो जमिन, बीचमा उच्च डाँडा, डाँडाको वरिपरि १०/१५ घर छरिएका छन् । प्रायः घरहरु टीन वा जस्तापाताले छाएका छन् । जस्तापाताले घर छाउनुको उद्देश्य बर्षातमा परेको पानीलाई संकलन गरेर राख्नका लागि हो । सल्यानको कुपिण्डेदह गाविस, साविकको वडा नंं. ९ जयतपानीको हरेक घरको घैंटो यत्तिबेला पानीले टम्म भरिएका छन् ।
पानीले घैटो भरिएपछि आफूहरुलाई सुखी र सम्पन्न ठान्दारहेछन् यहाँका गाउँले । पानी नहुँदा सधैं तनाव मात्र झेलिरहनुपर्ने, कष्ट सहनुपर्ने, पानी भर्न पाइने हो कि होइन भनेर चिन्ता गर्दै दिन जाने भएकाले घैटो भरिएपछि मन पनि भरिने जयतपानीबासी बताउँछन् । पानी बोक्दा बोक्दा अनेकौं रोगका शिकार भएका उनीहरु घरमा पानी भए ढुक्क हुने र आनन्दको निद्रा पर्ने बताउँछन् ।
‘बाटैमा घर छ, यहाँबाट आवातजावत गर्ने मानिसहरु पनि चौतारोमा बिसाएर पानी माग्छन्, पानी छैन भन्न मिलेन, पानी दिंदा मनै कटक्क हुन्छ, तर अब घैटौ पानीले भरिएपछि त्यस्तो समस्या हुदैन’ जयतपानीकी सम्झना हमालले भन्नुभयो ।
सल्यानको व्यापारिक केन्द्र सल्लीबजार र सदरमुकाम खलंगा जोड्ने सडक यातायात यही गाउँ भएर गएको छ । त्यसैले जयतपानीमा आवातजावत गर्ने मानिस कहिल्यै टुट्दैन ।

स्वास्थ्य चौकी र स्कुलमा पनि आकाशेपानी
उच्च ठाउँमा रहेको जयतपानी गाउँको घर, स्कुल, स्वास्थ्य चौकी सबैतिर आकाशेपानी संकलन गर्ने विधि जडान गरिएको छ । आकाशेपानी संकलनकै लागि जस्तापाताको छाना हालिएको छ भने घरको छानामा पाईप जडान गरिएका छन् । अनि उक्त पाईप सिमेन्टको ट्याङ्कीसम्म पु-याइएको हुन्छ ।
ट्यांकीमा हाते पम्प जडान गरिएको हुन्छ । जमिनमुनिको पानी ताने झैं हाते पम्पलाई दबाएपछि पानी तानिन्छ । आकाशेपानी संकलन गर्न थालेपछि जयतपानीका बासिन्दाको दैनिकी मात्र फेरिएको छैन, स्वास्थ्य चौकीको सेवा नियमित भएको छ भने विद्यालयको पढाई पनि सुध्रिएको शिक्षकहरु बताउँछन् ।
घैंटो भरिएपछि आनन्दको निद्रा
सल्यान, जाजरकोट, सुर्खेत लगायत आसपासको जिल्लामा यसपटक राम्रै गरी पानी प-यो । जसका कारण घरघरमा रहेको घैंटो खाली राख्नुपरेन । कुपिन्डेदहको ७७ घरमा आकाशेपानी संकलन गर्ने प्रविधि जडान गरिएको छ । १० हजार लिटर पानी अट्ने क्षमताका ती सबै ट्याङ्की भरिएको जयतपानीका जसबहादुर हमालले बताउनुभयो । ‘अहिले बर्षामा त नजिकै मूलहरु फुटिरहेको हुन्छ, त्यस्तो पानीको हाहाकार हुँदैन, तर जब हिउँद लाग्छ यहाँ पानीको हाहाकार चरम समस्या हुन्छ, तर हामीले यसपटक सुख्खा समयका लागि पुग्ने पानी जम्मा गरिसकेका छौं’ हमालले भन्नुभयो ।

‘पानीको अभावमा हामीले न भोक भन्न पाइन्थ्यो, न निन्द्रा लाग्दा आनन्दले सुत्न पाइन्थ्यो, खासमा पानीको चिन्ताले राम्रो निन्द्रा पनि पर्दैनथ्यो, अब मन ढुक्क भएपनि निद्रा पनि लाग्ने रहेछ’ जयतपानीकै अम्बिका हमालले भन्नुभयो ।
आकाशेपानीलाई शुरुमा कपडा धुने, सरसफाइ गर्ने जस्ता काममा मात्र प्रयोग गरेका जयतपानीका बासिन्दाले अहिले पिउन पनि थालेका छन् । ट्याङ्कीमा भएकाले पिउँदा चिसो र तिर्खा मर्ने खालको हुने उपभोक्ताहरु बताउँछन् ।
बीएसपी नेपालको आर्थिक सहयोग र पार्ड नेपालको सहकार्यमा २५ हजार रुपैयाँ अनुदान र स्थानीयबासिन्दाको सक्रियतामा आकाशेपानी संकलन गर्ने ट्यांकीहरु निर्माण गरिएका हुन् । सल्यानको कुपिण्डेदह गाविस सहित अन्य चार गविसमा यस्ता ट्यांकीहरु निर्माण गरिएका छन् ।


909 पटक हेरिएको 

