पाँचथरको कुम्मायक गाउँपालिकाको खानेपानी कथा

पाँचथर : ‘खानेपानी अभाव भएपछि यहाँबाट धेरै जना बसाई गए, हामी चाहिं बसाई जान पनि सकेनौं, पानी आउँला र पिउँला भन्ने आशामा बसिरह्यौं, तमोर लिफ्ट खानेपानी आयोजना सम्पन्न भएपछि खानेपानीको दुःख हट्ला कि भन्ने आशाले धेरैको प्राण धानेको छ’ कुम्मायक गाउँपालिका ५ का दुर्गा बम्जनले खानेपानी अभावले गाउँ नै रित्तिएको बेलिविस्तार लगाउनुभयो ।

बम्जनले भने झैं पाँचथरको कुम्मायक गाउँपालिकाको रानीगाउँ, स्याबरुम्बा, यासोक र माङजाबुङका दुई सय भन्दा बढी परिवारले खानेपानी अभावमै गाउँ छाडे । गाउँमा भएका कुवा, पधेरा, धारा सबै सुकेपछि यी भेगका बासिन्दा अहिले झापा, मोरङ लगायत तराइका जिल्लामा विभिन्न पेशा व्यवसाय गर्दै आएका छन् ।

विगतमा पानीकै दुःखले गाउँ छाडे पनि अबको पुस्ता गाउँमै अडिने गाउँलेले आशा गरेका छन् । तमोर नदीको पानी तानेर गाउँमा पानी पु-याउने योजना अघि बढेपछि बसाई जान ठिक्क परेकाहरु पनि गाउँमै अडिएका छन् । ‘तमोर लिफ्ट खानेपानी आयोजनाले हामीलाई आशा जगाएको छ, काम पनि भइरहेको छ, कामना गरौं, अबको पुस्ताले पानी अभावमै आफ्नो थातथलो त्याग्नु नपरोस्’ स्याबरुम्बाका दुर्गा बम्जनले भन्नुभयो ।

तमोर लिफ्ट खानेपानी आयोजनाको नालीबेली  

पाँचथरको रानीगाउँ, स्याबरुम्बा, यासोक र माङजाबुङबाट धमाधम बसाई जान थालेपछि  जिल्ला बिकास समिति पाँचथरले २०६७ सालमै ती क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गरेर तमोर नदीको पानीलाई लिफ्टिङ गरी वितरण गर्ने योजना अघि सारिएको हो । पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालन भइरहेको यो खानेपानी आयोजना मेलम्ची खानेपानी आयोजना पछिको ठूलो आयोजना हो ।

२०६७ सालमा अवधारणा अघि बढेपनि लिफ्टिङ खानेपानी आयोजनाको काम भने गत बर्षदेखि मात्र शुरुवात भएको हो । आयोजनाको काम चौतर्फी भइरहेको र यही गतिमा काम अघि भइरहे अबको १ बर्षमा तमोर नदीको पानी पिउन पाइने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय  पाँचथरका इन्जिनियर रबिन्द्र रायले बताउनुभयो ।

अहिले दुई चरणमा फरक फरक निर्माण व्यबसायीले काम गरिरहेको र झण्डै ३० प्रतिशत काम सम्पन्न भएको प्रेरा स्वामीनारायण जेभीका इन्जिनियर रोशन यादवले जानकारी दिनुभयो । ‘आयोजनाको मुख्य पाइप लाइनको धेरैजसो काम भइसकेको छ, ठुला क्षमताका १० वटा रिजर्भ ट्याङ्की मध्ये ६ वटा निर्माण सम्पन्न हुने चरणमा छन्’ इन्जिनियर यादवले भन्नुभयो ।

उहाँका अनुसार तमोर नदीको पानीलाई विद्युतीय लिफ्टिङ गरी कुम्मायक गाउँपालिकाको पाँचै वडामा पानी वितरण हुनेछ । यो खानेपानी आयोजनाको ११ किलोमिटर वितरण लाइन हुनेछ भने ३ हजार ४३ धारा जडान हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय  पाँचथरका इन्जिनियर रबिन्द्र रायले बताउनुभयो । आयोजनाको कुल बजेट ५१ करोड ३० लाख रुपैयाँ रहेको छ ।

पाँच गाउँका ६० प्रतिशत खेत बाँझै

गाउँमा खानेपानीको हाहाकार भएपछि बसाई गएकाहरु सबैको खेतबारी बाँझै छन् । बसाई नगएकाहरुले पनि पानीकै अभावमा पशुचौपाया पाल्न छाडेका छन् । कुम्मायक १ का वडा अध्यक्ष देबेन्द्र लावती भन्नुहुन्छ ‘यो लिफ्टिङ खानेपानी आयोजना शुरु नहुँदा सम्म बसाई हिड्नेको ताँती थियो तर अहिले रोकिएको छ, तमोर लिफ्ट आयोजनाले आशा जगाएको त छ, तर यहाँका किसानले पशुचौपाया पाल्ने काम चटक्कै छाडेका छन् ।

‘पानी नभए पछि धान कसरी रोप्ने ? त्यसैले खेतबारी बाँझै छ परम्परगत पेशा बिस्थापित भयो,  पशुपालन नहुँदा मल हुदैन मल बिना खेतीपाती सम्भव छैन, पिउने पानी त नपाइने ठाउँमा सिचाईको कुरा नगरेपनि भयो ।

सुख्खा क्षेत्र भनेर चिनिएका रानीगाउँ, स्याबरुम्बा, यासोक र माङजाबुङका ६० प्रतिशत खेत बाँझै छन्’ कुम्मायक गाउँपालिका ४ का फगेन्द्र सम्बाहाम्फेले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार