जनकपुर : धनुषाको बाढी प्रभावित क्षेत्रमा दुषित पानीका कारण रोग फैलिन नदिन पानी शुद्धीकरणका लागि १ लाख ५५ हजार ४ सय ७० थान अक्वाट्याब बितरण गरिएको छ ।
धनुषाको पुर्वी भेगका खजुरी चन्हा, प्र.खे. महुवा, बल्हा कठाल, इर्नवा, बल्हा सघारा, लक्कड, झिटकैयामा, सिंग्याही मडान, हरिने, गोठकोयलपुर, चोराकोयलपुर, बालाबाखर, पर्टेवा, सुगानिकास, नौवाखोर प्रसाही, धवौली र लग्मा गढागुठी लगायतका ठाउँमा पानी शुद्धिकरण गर्न अक्वाट्याब बितरण गरिएको हो ।
वास क्लस्टर धनुषाको सहयोगमा समाज उत्थान युवा केन्द्रले विभिन्न सरसफाइ सामग्री समेत वितरण गरिएको छ । केन्द्रका वास अफिसर सुजित कुमार मण्डलका अनुसार धनुषाको पर्टेवामा ७५, लग्मा गढागुठीमा ६० र गोठकोयलपुरमा ८० बाढी प्रभावित घरलाई बाल्टिन, मग, सावुन र अक्वाट्याब बितरण गरिएको छ ।
गर्भवतीलाई हाइजिन किट
धनुषाको गोठकोयलपुरका ४० गर्भवतीलाई हाइजिन किट र पियुस बितरण गरिएकोछ । यस्तै डुमारिया चोक, लक्कड, लग्मा गढागुठी र माचि झिटकैयामा १ हजार ४ सय अक्वाट्याब बितरण गरिएको छ । स्वास्थ्य शिविरमा सरसफाइ स्टल मार्फत ती आक्वट्याब वितरण गरिएको मण्डलले जानकारी दिनुभयो ।
‘बाढीका कारण पानीका मुहानहरु दुषित भएकाले फोहोर खानेपानी र सरसफाइ अभावमा जण्डिस, हैजा, आँउ, झाडापखाला जस्ता रोगहरुको फैलिन सक्ने भएकाले वास क्लस्टरको सहयोगमा हामीले अक्वाट्याब वितरण मात्र गरेनौं, यसको प्रयोग गर्ने तरिका पनि सिकायौ’ समाज उत्थान युवा केन्द्रका वास अफिसर सुजित कुमार मण्डलले भन्नुभयो ।
पानी शुद्धिकरण गर्ने घरेलु तरिकाका विषयमा केन्द्रका सरसफाइ टोलीहरुले जानकारी गराएको थियो । ‘पानी शुद्धिकरण गर्ने औषधि अक्वाट्याब्स वा पियुस हालेको ३० मिनेट पछि पानी पिउन र पानी सुरक्षित छ भन्ने एकीन भएपछि मात्र पिउन सल्लाह दियौं, हामीले दिएको सरसफाइ शिक्षाका कारण अहिलेसम्म धनुषामा सरुवा रोग फैलिएको सुनेका छैनौं’ मण्डलले भन्नुभयो ।
धनुषामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, महिला बालबालिका कार्यालय, युनिसेफ, युएन ह्याबिट्याट, समाज उत्थान युवा केन्द्र, समाज बिकास पथ, जानकी महिला जागरण समाज, पिपुल्स प्रमोट सेन्टर, प्याक नेपाल र हिमालय युवा क्लव लगायत संघ संस्थाले पनि पानी शुद्धिकरण गर्ने औषधीहरु, ब्लिचिङ पाउडर, वाटर प्युरिफायर, बाल्टिन, मग, सावुन, हाइजिन किट र अक्वाट्याब बितरण गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख राम गोबिन्द यादबले जानकारी दिनुभयो ।


1039 पटक हेरिएको 

