खानेपानीको स्रोतमै शव जलाउँछन्, त्यही पानी पिउँछन् महानगरका बासिन्दा

कास्की :  मर्दीखोलाको माथिल्लो भेगमा शवदाह गरिन्छ, त्यही मर्दीखोलामा बाँध बाँधेर ल्याएको पानी पोखरा – लेखनाथ महानगरपालिकाका बासिन्दाले उपभोग गर्छन् । यो अहिलेको समस्या मात्र होइन, मर्दीखोलाको बाँध बाँधेर खानेपानी ल्याउनु अघि नै माथिल्लो क्षेत्रमा दर्जन बढी घाट थिए, जहाँ अहिले पनि शव जलाईरहन्छ ।

कतिपय उपभोक्तालाई आफूले पिउने पानीको स्रोतमा शवदाह गरिन्छ भन्ने थाहा छैन कतिले भने थाहा भएर पनि पिइरहेका छन्, किनकि यसको विकल्पमा पानीको अर्को स्रोत पनि छैन । तर पोखरामा खानेपानी वितरण गरिरहेको नेपाल खानेपानी संस्थानले भने यो कुरा थाहा पाएर पनि अहिलेसम्म यसको रोकथामका लागि खासै उपाय अपनाएको छैन । संस्थान प्रमुख निरण महर्जन भन्नुहुन्छ ‘स्थानीय बासिन्दासँग बेला बेलामा कुरा चलाएकै हो, तर मानिसको धर्म संस्कारसँग जोडिएको कुरालाई हाम्रो प्रयासले मात्र परिवर्तन गरेर अन्यत्र शवदाह गराउने कुरा गाह्रो रहेछ, त्यसैले अहिलेसम्म सकिएको छैन ।’

संस्थानले मर्दी खोलाको पानीलाई विन्ध्यवासिनीमा रहेको ८ वटा रिजभ्र्वायर ट्याङ्क मार्फत वितरण गरिरहेको छ । यसका साथै संस्थानले अर्मला, बिसौनी र लामाचौरबाट पनि पानी वितरण गरिरहेको छ । तर सबै पानीको गुणस्तर नभएको उपभोक्ता बताउँछन् ।

घाट निर्माणको काम चल्दै

पानीको स्रोतमै शव जलाउने विषयमा बेला बेलामा सार्वजनिक कार्यक्रममै आवाज उठ्न थालेपछि घाट निर्माण परियोजना अन्तर्गत घाट निर्माण भइरहेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनुभयो । उहाँका अनुसार पोखरामा आउने पानीको मुख्य मुहानमाथि शैदी घट्टा, सिदिङ्ग, लुम्रे, घलेल,खोराकोमुख, रिभानमा महिला पुरुषका लागि सार्वजनिक शौचालय, कपडा धुने ठाउँ र शव दहन गृह बनाइने भएको छ । ती संरचना निर्माणपछि पोखरा आउने पानीको मुहानमा लास जलाइने छैन ।

नेपाल खानेपानी संस्थान, पोखरा लेखनाथ महानगरपालिका र पोखरा उद्योग वाणिज्य महासंघको लगानीमा चार ठाउँमा घाट निर्माण भइरहेको अध्यक्ष पालिखेले जानकारी दिनुभयो । ‘९० लाखको लागतमा चार वटा घाट निर्माण भइरहेका छन्, त्यसपछि शव जलाएको ठाउँको पानी पिउनु पर्दैन’ अध्यक्ष पालिखेले भन्नुभयो ‘हामी यसै आर्थिक वर्षभित्र सकिने गरिने काम गरिरहेका छौं, यो परियोजना सम्पन्न भएपछि पानीको मुहानमा शव जल्ने छैन ।’

पानी प्रशोधन केन्द्र बनाइने

खानेपानी संस्थानले उपभोक्तालाई पानी वितरण गर्नु अघि प्रशोधन गरेर मात्र वितरण गर्न पानी प्रशोधन केन्द्र निर्माण गरिने भएको छ । संस्थानले जापानी सहयोग नियोग (जाइका) को सहयोगमा पानी प्रशोधन केन्द्र बनाउने भएको हो । प्रशोधन केन्द्र निर्माणका लागि कास्कीको पुरुन्चौरमा २ सय रोपनी जग्गा अधिग्रहण भइसकेको नेपाल खानेपानी संस्थान पोखराका प्रमुख निरण महर्जनले बताउनुभयो ।

उहाँका अनुसार जाइकाको ४ अर्ब ९४ करोड अनुदानबाट बन्ने प्रशोधन केन्द्रबाट दैनिक चार करोड १० लाख लिटर पानी प्रशोधन गर्न सकिनेछ । ‘अबको चार वर्षभित्र हामी प्रशोधन केन्द्र निर्माण गरिसक्नेछौं, महानगरबासीलाई सुरक्षित पानी वितरण गर्ने काममा हामी एक पछि अर्को काम गरिरहेका छौं’ संस्थान प्रमुख निरण महर्जनले भन्नुभयो । संस्थानले वितरण गरेको पानीका कारण पानीजन्य रोग फैलिएको गुनासो बेला बेलामा आइरहन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार