१८ लाखमा मुहान खरिद गरी खानेपानी आयोजना सञ्चालन

धनकुटा, उषा खड्का : बालबालिका, युवायुवती र बृद्धबृद्धा सबैजसो कुवामा घण्टौं लाम लागेर पानी बोक्नु धनकुटाको थलथले बजारबासीको दैनिकी नै हो । थलथलेका झण्डै १ सय २० घरले करिब २ किलोमिटरको दुरीमा रहेको सानो कुवाको पानी जम्मा गरेर उपभोग गर्दै आएका छन् ।

तर अब यो सास्ती सधैंका लागि अन्त्य हुने भएको छ । खानेपानीको समस्या समाधान गर्न थलेथलेबासीले ९/९ लाखमा दुई वटा मुहान खरिद गरी खानेपानी आयोजना सञ्चालन हुन थालेपछि बर्षौदेखिको खानेपानी समस्या हल हुने भएको हो ।

बजारबासीले खानेपानी आयोजना सञ्चालनका लागि २०७१ सालमै दुई वटा मुहान किनेका हुन् । मुहान किन्नका लागि हरेक घरले २० हजार रुपैयाँ संकलन गरेको र २ वटा मुहानका लागि १८ लाख तिरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष हुकुमचन्द्र राईले बताउनुभयो ।

थलथले बजार खानेपानी तथा सरसफाइ आयोजना शुरु

खानेपानीको मुहान किनेको तीन बर्षपछि थलथलेमा बल्ल खानेपानी आयोजना शुरु भएको छ । पर्डेप नेपाल धनकुटाको समन्वय र खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्डवोर्ड) को आर्थिक सहयोगमा थलथले बजार खानेपानी तथा सरसफाइ आयोजना शुरु भएको हो ।

११ सय मिटरको लिफ्ट प्रणालीबाट सञ्चालन हुने खानेपानी आयोजनाका लागि ४० लाख ११ हजार रुपैयाँ फण्डवोर्डको अनुदान र उपभोक्ताको ६ लाख ५२ हजार नगद र ४ लाख २९ हजार श्रमदान हुने पर्डेप नेपालकी खानेपानी तथा सरसफाइ अधिकुत चन्द्रामाया थापाले बताउनुभयो ।

थलथलेकाबासिन्दा घरघरमा खानेपानीको धारा पु-याउन पाइप विछ्याउन, निर्माण सामग्री खरीद गर्न र संकलन गर्न व्यस्त छन् । आयोजना सम्पन्न भएपछि थलथलेका १०९ घर लाभान्वित हुनेछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार