काठमाडौ : काठमाडौ उपत्यकामा टैंकर मार्फत खानेपानी आपूर्ति गर्दै आएको टैंकर व्यवसायीलाई अनुमति पत्र लिन अन्तिम मौका दिइएको छ ।
अनुमति पत्र नलिई टैंकर सेवा सन्चालन गरिरहेका व्यक्ति, फर्म, संस्था, कम्पनी, उद्योग वा व्यवसायीलाई अन्तिम पटक सात दिनको समय सीमा तोकेको हो ।
बोर्डको नियम र टैकर व्यवसाय सेवा सञ्चालन सम्बन्धी निर्देशिका बमोजिम अनुमति पत्र लिएर मात्र टैंकरबाट खानेपानी आपूर्ति गर्न गराउन विभिन्न समयमा सूचना जारी गरिएपनि कतिपय व्यवसायीले अझै अनुमति विनै खानेपानीको आपूर्ति गर्दै आएको काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।
बोर्डले दिएको मौकालाई बेवास्ता गरी अनुमति विना खानेपानीको आपूर्ति गरे, गराएको पाएमा नियमावली तथा निर्देशिकामा तोके बमोजिम कार्वाही गरिने बोर्डले जनाएको छ ।
काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड पहिलो संशोधन नियमावली २०७३ को नियम १५ (क) २ को देहाय २ (अ) र टैंकर व्यवसाय सेवा सन्चालन सम्बन्धी निर्देशिका २०७३ मा सम्बन्धित निकायबाट अनुमति पत्र लिएर मात्र खानेपानीको विक्री वितरण गर्न पाउने व्यवस्था गरिएको छ ।
४ सय २१ वटा टैंकरलाई अनुमति पत्र र स्टिकर वितरण
बोर्डले आर्थिक बर्ष २०७३/०७४ मा ४ सय २१ वटा टैंकरलाई अनुमति पत्र प्रदान गरी स्टिकर उपलब्ध गराएको छ ।
ती मध्ये १४ वटा टैंकरलाई निलो, ३ सय ५६ वटालाई हरियो र ५१ वटालाई पहेंलो स्टिकर वितरण गरिएको छ । बोर्डले निलो रङको स्टिकर पिउन योग्य, हरियो स्टिकर घरायसी प्रयोजनका लागि र पहेलो स्टिकर प्राप्त टैंकरको पानी अन्य प्रयोजनमा प्रयोग गर्न सकिने जनाएको छ ।


1902 पटक हेरिएको 

