काठमाडौ : ‘म तपाईहरूलाई सुन बनाउन सिकाउँछु । त्यो पनि कालो सुन’ फोहोर व्यवस्थापन तालिमको शुरुमै तालिम प्रशिक्षक डा. आनन्द शोभा ताम्राकारले भन्दा सहभागीहरू छक्क परेर उहाँको मुहारमा हेरिरहे । ‘सुन बनाउने, फेरि कालो सुन, कसरी होला ? सहभागीको मुहारमा कौतुहलता जागेको प्रस्टै देखिन्थ्यो ।
जब उहाँले फोहोरलाई गड्यौलाको सहायताले गलाउने, गड्यौलाले मल अर्थात भर्मीकम्पोष्ट बनाउने र त्यसलाई कालो सुनको ब्राण्डमा बेच्ने बताए पछि सहभागीमा झनै जिज्ञासा जाग्यो ।
उहाँले गड्यौलाको प्रयोग गरी बन्ने कम्पोष्ट मललाई कालो सुनको उपमा दिनु भएको हो । उहाँले बेथानचोकका किसानलाई गड्यौला पालन गरी फोहोरलाई कालो सुनमा परिणत गर्न सकिने उपायका विषयमा समेत प्रशिक्षण गराउनु भयो । उहाँले रातो गड्यौला (आइसेनिया फेडीटा) को प्रयोग गरी वहुपयोगी कम्पोष्ट मल बनाउन सकिने विधि सिकाउनुभयो ।
‘यसबाट धेरै नै फाइदा लिन सकिने रहेछ । हामीले हाम्रै खेतबारीमा तरकारी उत्पादन गर्दा रसायनिक मल र विषादी प्रयोग गर्दै आएका थियौं । रसायनिक पदार्थहरू किन्दा पैसाको पनि खर्च हुन्थ्यो । वातावरणलाई समेत असर पु-याउँथ्यो । ’ तालिमका सहभागी रेणुका फुयाँलले भन्नुभयो ‘तर यो गड्यौले मल उत्पादन गरी प्रयोग गर्न सके पैसा नि कम खर्च हुने अनि वातावरणमा समेत असर नपर्ने रहेछ, अर्को कुरा, गाईवस्तु नपाल्नेहरूले समेत सजिलै मल बनाउन सकिने रहेछ, । गाईवस्तुका लागि झै घाँस, स्याउला काटिरहनु पर्ने झन्झट पनि नहुने, खेर गएका पातपतिङ्गर, कपडा, कुहिने बस्तु गड्यौलालाई खान दिएर मज्जाले मल बनाउन पनि सकिने रहेछ ।’
उहाँले तालिम पश्चात तत्काल सानो क्षेत्रमा मल बनाएर हेर्ने र पछि यसको प्रभावकारिता हेरी ठूलो क्षेत्रमा विस्तार गर्ने योजना समेत सुनाउनुभयो ।
‘गड्यौला पालेर मल बनाउन सकिन्छ भन्ने सुनेका थियौं तर आज यो तालिममा सहभागी भएर यसबाट कम्पोष्ट मल बनाउन सकिने कुरा सिक्न पाउँदा धेरै खुशी लागेको छ । यसबाट मल बन्ने मात्र नभई, यसले हाम्रो स्वास्थ्यका लागि चाहिने औषधीको समेत काम गर्दो रहेछ । त्यो नयाँ कुरा समेत थाहा पाइयो, खेर गएको स्थान, खाली समयको सदुपयोग गरी बहुमूल्य मल बनाउन सकिने कुराको ज्ञान र सीप गाउँमा गएर अरूलाई समेत सिकाउने इच्छा छ ।” अर्का सहभागी रूपा लामाले आफ्नो अनुभव सुनाउदै प्रतिबद्धता पनि जनाउनुभयो ।
गाउँपालिका अध्यक्षले पनि भर्मीकम्पोष्ट बनाउने
तालिमका सहभागीले मात्रै नभई बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमिल्सिनाले पनि गड्यौला पालेर भर्मीकम्पोष्ट मल बनाउने सोचमा रहेको बताउनुभयो । यसको सुरूवात गाउँपालिकाको प्राङ्गणमै भर्मीकम्पोष्ट राखेर थालनी गर्ने उहाँले बताउनुभयो ।
‘यसले हाम्रो वातावरणीय क्षेत्रमा फाइदा त पुर्याउँछ नैे आर्थिक आम्दानी गर्न समेत सहयोग पुर्याउने देखिन्छ । पहेलो सुन भए चोरी हुने डर हुने तर यो कालो, घिन लाग्दो सुन त कसले चोर्ने? ” अध्यक्ष तिमिल्सिनाले ठट्यौली पारामा आफ्ना भनाइ राख्नुभयो ।
गड्यौले मलको सामूहिक खेती पनि गर्न सकिने
बहुपयोगी गड्यौले मललाई व्यक्तिगत तथा सामूहिक रूपमा समेत खेती गर्न वा पाल्न सकिन्छ । यसरी बृहत रूपमा गड्यौला पालन गरी फोहोर वा काम नलाग्ने, खेर गएका वस्तुहरूको प्रयोग गरी कम्पोष्ट मल तयार गर्न सकेमा मलमा हुने परनिर्भरता कम त हुन्छ नै यसलाई सही तरिकाले प्याकेजिङ् र लेवलिङ् गरी बेच्न र निर्यात गर्न समेत सकिने तालिमका प्रशिक्षक तथा वातावरणविद् डा. आनन्द शोभा ताम्राकारले बताउनुभयो । उहाँँले यसो भएमा फोहोरबाट मोहोर हैन, रूपैंयाँ अर्थात क्यास नै बनाउन सकिने दाबी गर्नुभयो ।
प्लास्टिकको बाटा तथा गड्यौलाको बीउ वितरण
तालिमका सहभागीलाई तत्काललाई नमूना अभ्यास वा उत्पादनका लागि एउटा प्लास्टिकको बाटा र बीउका रूपमा केही गड्यौला समेत वितरण गरिएको ग्रामीण प्रविधि केन्द्रका कार्यक्रम अधिकृत सुवास लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार ग्रामीण प्रविधि केन्द्र (सीआरटी) को पहलमा वातावरणमैत्री गाउँ विकास कार्यक्रम विगत साढे तीन वर्षदेखि नमूनाको रूपमा काभ्रे जिल्लाको च्याम्राङ्वेशी, ढुङ्खर्क, र चलाल गणेशस्थान गाउँमा सञ्चालन भइरहेको छ । संस्थाले यस क्षेत्रमा स्थानीय साधन, स्रोत, श्रम र सीपको प्रयोग गरी नवीकरणीय उर्जा कृषि, वन तथा वातावरण संरक्षण, सरसफाइ एवं फोहोर व्यवस्थापन जस्ता वातावरणमैत्री विभिन्न गतिविधिहरूको प्रवद्र्वन गर्दै आएको छ ।
बेथानचोक गाउँपालिका र ग्रामीण प्रविधि केन्द्र, नेपालले संयुक्त रूपमा काभ्रेको बेथानचोक गाउँपालिकाका किसानहरुले फोहोरलाई मोहोर बनाउन सिकाएका हुन् ।
यही माघ १९ गतेदेखि २१ गते सम्म बेथानचोक गाउँपालिकाको सभा हलमा आयोजना गरिएको ३ दिने फोहर व्यवस्थापन तालिममा फोहोरको उचित व्यवस्थापन गरी त्यसलाई उपयोगी मलमा बदली करेसाबारी तथा खेतबारीमा प्रयोग गरी फाइदा लिन डा. आनन्द शोभा ताम्राकारले प्रशिक्षण दिनुभएको थियो ।
वहाँले काठमाडौं आसपासमा फोहोरलाई मोहोर बनाउने अभियान चलाउनु भएको छ । डा. ताम्राकारले नेपाल लगायत विदेशमा समेत गड्यौले मल अर्थात भर्मीकम्पोष्ट मल उत्पादन सम्बन्धी विभिन्न तालिमहरू दिँदै आउनु भएको छ ।