प्रधानमन्त्रीको गृहनगरका सबै वडा खुल्ला दिसामुक्त, एउटै वडामा छैनन् सय बढी चर्पी

हिमाल खरेल, दमक (झापा) : प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाका साविकका सबै वडा खुल्ला दिसामुक्त घोषणा भैसके । तर, नगरपालिकाको अद्यावधिक तथ्यांक अनुसार अझै २ सय ७० घरमा चर्पी नै छैन । “हामीले वडाबाट संकलन गरिएको तथ्यांकअनुसार त्यति घरमा चर्पी बनाउन बाँकी छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिना भन्नुहुन्छ, “जनप्रतिनिधि आइसकेपछि वडाअध्यक्षहरुमार्फत तथ्यांक संकलन गर्न भनेका थियौं । यो संख्या पाँच सयभन्दा बढी हुन्छ ।”

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाको तथ्यांक अनुसार दमकका १ सय १९ घरमा सुरक्षित चर्पी छैन । “नगरपालिकाका सबै वडा खुल्ला दिसामुक्त घोषणा हुँदा नगरपालिकाभरमा ७ सय ४९ घरधुरीमा चर्पी थिएन”, प्रमुख प्रशासकीय अधिकृत तिम्सिना भन्नुहुन्छ, “त्यसपछि पनि नगरपालिकाको सहयोगमा ३ सय ८३ घरधुरीमा चर्पी बने भने सोही अवधिमा ९६ घरधुरीले आफ्नै लगानीमा चर्पी बनाए ।”

नगरपालिकाले नै उपलब्ध गराएको तथ्यांकअनुसार हालको वडा नं. ३ का ९८ घरधुरीमा चर्पी छैन । “वडाभित्र रहेका सबै चर्पीलाई गणना गर्दाको तथ्यांक हो यो”, वडा नं. ३ का अध्यक्ष नवीन बरालको भनाइ छ, “असुरक्षित चर्पी त यसमा गणना नै गरिएको छैन ।”

 

दमक नगरपालिकामा आयोजना गरिएको छलफल कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षसमेत रहिसकेका दमक–८ का वडाध्यक्ष पशुपति राज गौतमले मापदण्ड अनुसारका चर्पी गणना गर्ने हो भने दमक नगरपालिकामा कम्तिमा पनि दुई हजार चर्पी बनाउनुपर्ने बताउनुभयो । “अहिलेसम्म चर्पी गणना गरिएको छ, सुरक्षित असुरक्षित हेरिएको छैन”, बैठकमा उहाँले फेहरिस्त प्रस्तुत गर्नुभयो, “वडा नं. १ को पूर्वी भेकको सुकुम्बासी बस्तीमा चर्पी नै छैन । वडा नं. ७ र ८ मा दर्जनौं घरधुरीमा चर्पी बनाउने जग्गा नै छैन । वडा नं. ५ को डिकिनी खोलामा चर्पीको दिसा सिधै खोलामा मिसाइएको छ ।”

असुरक्षित चर्पीको तथ्यांक नै छैन

दमक नगरपालिकासँग असुरक्षित चर्पीको तथ्यांक नै छैन । नगरपालिका र वडाअध्यक्षहरुसँगको तथ्यांक कूल चर्पीको तथ्यांक हो । “हामीलाई सुरक्षित असुरक्षित भन्नेबारे अहिलेसम्म कहीं कतैबाट जानकारी नै छैन”, वडा नं. ३ का अध्यक्ष बराल भन्नुहुन्छ, “यसभित्र कति असुरक्षित चर्पी छन्, हामीलाई केही पनि थाहा छैन ।”

सञ्चारकर्मीसहित जिल्लाका सरोकारवालाको टोली दमक नगरपालिकाको वडा नं. २ र ३ को स्थलगत भ्रमण गर्दा करिब २५ प्रतिशत चर्पी असुरक्षित भेटिए ।

 

राष्ट्रिय जनगणना २०६८ अनुसार दमक नगरपालिकामा रहेका १८ हजार १ सय ४ घरधुरीमध्ये ५ हजार ७ सय ९४ प्रतिशत असुरक्षित चर्पी रहेका थिए भने १० हजार ४ सय ७० सुरक्षित चर्पी रहेका थिए । यस तथ्यांकलाई आधार मान्ने हो भने कूल चर्पीको ३५.६२ प्रतिशत चर्पीहरु असुरक्षित चर्पी रहेको देखिन्छ ।

“सरसफाइ कभरेजमा पहिल्यैदेखि सचेत नगरपालिका भएकोले यहाँका अधिकांश घरायसी चर्पी १२ देखि १५ वर्षअघि नै बनाएको देखिन्छ”, शुक्रबारको अनुगमनमा पुगेका ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका झापा जिल्ला संयोजक विनोदप्रसाद शर्मा भन्हुन्छ, “सरसफाइ गुरुयोजना सार्वजनिक हुनुअघि सिमेण्टको प्यानमा पाइज जोडी दिसा जम्मा हुने खाडलसम्म लगेका असुरक्षित चर्पीहरुको स्तरोन्नति गर्नेतर्फ कोही पनि साझेदारहरु लागेको देखिएन ।”

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसमेत असुरक्षित चर्पीको तथ्यांक आफूहरुसँग नभएको बताउनुहुन्छ । “कुन सुरक्षित र कुन असुरक्षित भन्ने वर्गीकरण हामीसँग छैन । जस्तो भए पनि भएका चर्पीको तथ्यांकमात्र हो”,सुरक्षित चर्पीको मापदण्डको बारेमा छलफल भएपछि नगर प्रमुख ओलीले भन्नुभयो, “वाटरसिल प्यान नभएको चर्पी असुरक्षित मान्ने हो भने दमक नगरपालिकाभरिका करिब २५ प्रतिशत चर्पी फेर्नुपर्ने हुन्छ ।”

एउटै वडामा छैनन् सय घरमा चर्पी

वडा नं. २ का अध्यक्ष प्रजापति सापकोटा आफ्नो वडामा मात्र सयभन्दा बढी घरमा चर्पी नभएको बताउनुहुन्छ । “मापदण्डको कुरा गर्ने हो भने हाम्रो वडामा मात्र सयभन्दा बढी घरमा चर्पी बनाउनुपर्छ”, उहाँको भनाइ छ, “यसअघि पनि सबै घरमा चर्पी नबन्दै वडालाई खुल्ला दिसामुक्त घोषणा गरिएको थियो ।”

वडा नं. १ मा हालसालैमात्र ८० नयाँ घर थपिएको र तीमध्ये अधिकांश घरमा चर्पी नभएको वडाध्यक्ष तारा अधिकारीको भनाइ छ । यी थपिएको घरमा चर्पी भए नभएको तथ्यांक नगरपालिकासँग छैन । तथ्यांक अनुसार वडा नं. १ मा मात्र ७५ घरधुरीमा चर्पी बन्न बाँकी छ, जसमा यी घरधुरी जोड्दा १ सय ५५ घरमा सुरक्षित चर्पी बन्नुपर्ने हुन्छ ।

नगरपालिका सधैंभरि अन्यौलमै

सरसफाइ गुरुयोजना २०६८ अनुसार कुनै पनि इकाइ खुल्ला दिसामुक्त घोषणा हुनका लागि त्यसभित्रका सम्पूर्ण घरधुरीको सुरक्षित शौचालयमा पहुँच हुनु अनिवार्य छ । तर, दमक नगरपालिकाका तत्कालीन वडाहरु खुल्ला दिसामुक्त घोषणा हुँदा कुनै पनि वडाका सतप्रतिशत घरधुरीमा सुरक्षित चर्पीको पहुँच थिएन । स्थानीय तह पुनःसंरचना हुनुअघि खुल्ला दिसामुक्त घोषणा गरिएको साविक वडा नं. २ मा १८ घरधुरी चर्पीविहिन थिए भने वडा नं. ३ मा ७३ घर र वडा नं. ४ मा १५ घरधुरी चर्पी विहिन थिए ।

हाल वडा नं. ९ मा गाभिएको तत्कालीन वडा नं. १५ खुल्ला दिसामुक्त घोषणा हुँदा ५८ घरमा चर्पी थिएनन् भने हाल वडा नं. १० मा गाभिएका तत्कालीन वडा नं. १७ मा ३४, वडा नं. १८ मा ४० र वडा नं. १९ मा ३६ घरमा चर्पी नबन्दै खुल्ला दिसामुक्त घोषणा भए । “हामीलाई कसैले पनि कति चर्पी बन्यो भने खुल्ला दिसामुक्त घोषणा गर्न मिल्छ भन्ने कुरा बताएन”, तत्कालीन वडा नागरिक मञ्चका संयोजकसमेत रहेका वडा नं. ३ का वडाध्यक्ष नवीन बरालको भनाइ छ, “९०–९५ प्रतिशत पुग्यो भने गर्न पाइन्छ भन्ने थियो, गरियो ।”

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका प्राविधिक रुद्रबहादुर न्यौपाने दमक नगरपालिकाभित्र रहेका सबै वडा नागरिक मञ्चका संयोजक र सामाजिक परिचालकहरुका लागि सरसफाइ प्रवद्र्धनसम्बन्धी गोष्ठी सञ्चालन गरिएको बताउनुहुन्छ । “उहाँहरुका लागि हामीले गोष्ठी गरिएको हो, तर उहाँहरुले प्राविधिक विषय बिर्सिनुभयो होला”, न्यौपानेको भनाइ छ, “उहाँहरुले सबै घरधुरीमा चर्पी नबनीकनै वडा घोषणा गर्नुभएको हो भन्ने कुरा धेरै पछिमात्र थाहा पायौं ।”

सहजीकरण भएन

जनगणना २०६८ मा असुरक्षित प्यान भएकासहित ८९.८४ प्रतिशत घरधुरीमा चर्पी रहेका थिए । त्यसपछिका ६ वर्षमा असुरक्षित चर्पीलाई स्तरोन्नति गरी सुरक्षित बनाउनतर्फ कुनै पहल हुन नसक्नुमा निरन्तरको सहजीकरण नहुनु मुख्य कारण भएको बताउनुहुन्छ जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका सदस्यसमेत रहेका ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका जिल्ला संयोजक विनोदप्रसाद शर्मा ।

“सामाजिक रुपान्तरण अभियानको एउटा महत्वपूर्ण पक्ष निरन्तरको सहजीकरण हो, जुन दमकको खुल्ला दिसामुक्त अभियानमा शून्यजस्तै देखियो”, उहाँको भनाइ छ, “निरन्तरको सहजीकरणका कारण ६ महिना अघिसम्म चार हजार घरधुरीमा चर्पी बन्न बाँकी गौरीगञ्ज गाउँपालिका अबको एक हप्ताभित्रै सम्पूर्ण घरधुरीमा सुरक्षित चर्पी बनेर खुल्ला दिसामुक्त घोषणा हुँदैछ । १३ प्रतिशत घरधुरीमा मात्र चर्पी रहेको साविक पाठामारीमा २३ घरमा मात्र चर्पी बन्न बाँकी छन् ।”


पछिल्लो एक वर्षयता झापा जिल्लामा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा विभिन्न चार संस्थाले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरिरहेका छन् । तर, दमक नगरपालिकामा कुनै पनि संस्थालाई सहजीकरणको जिम्मेवारी छैन । “जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले नै दमक खुल्ला दिसामुक्त अवस्थामा पुगिसकेकोले बाह्य सहजीकरण आवश्यक नभएको भनियो”, शर्मा भन्हुन्छ, “त्यसैले दमकमा अभियान सहजीकरण हाम्रा साझेदार संस्थाको जिम्मेवारीमा आएन ।”

डिभिजन कार्यालयका प्राविधिक न्यौपाने समेत नगरपालिकाबाट प्राप्त तथ्यांकको आधारमा समितिले निर्णय गरेको र नगरपालिकाले पटक पटक खुल्ला दिसामुक्त घोषणा गर्न तयार रहेको विवरण आफूहरुलाई दिएकोले यहाँ सहजीकरणको जिम्मेवारी नदिइएको बताउनुहुन्छ । “आवश्यक पर्दा म आफै पनि नगरपालिका पुगेको छु, विभिन्न वडामा गएर अनुगमन गरेको छु”, उहाँले भने, “अहिले असुरक्षित चर्पी पनि धेरै देखिए।”


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार