स्याङजा : स्याङ्जाको पुतलीबजारमा खिलुङकालिका एग्रो फार्मले ३ हजार ५ सय घनमिटर क्षमताको बायोग्यास परियोजना स्थापना गरेको छ । २ लाख कुखुरा पालिरहेको खिलुङलाई कुखुराको सुली व्यवस्थापन गर्न सजिलो हुने र मल कारखाना पनि चलाउन मिल्ने भएपछि बायोग्यास परियोजना सञ्चालन गरिएको हो ।
परियोजनाबाट दैनिक ३ सय ५० किलोवाट विद्युत उत्पादन भइरहेको प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत अर्यालले जानकारी दिनुुभयो । दैनिक उत्पादन हुने ३५० किलोवाट विद्युतबाट फार्मले दैनिक १२ मेट्रिक प्रांगारिक मल उत्पादन गरिरहेको छ । सोही विजुुलीले मल कारखाना सञ्चालन गर्छ ।
फार्ममा एक लाख ५० हजार लेयर्स र ५० हजार ग्रोइङ कुखुरा छन् । फार्ममा हाल दैनिक चारदेखि पाँच टनसम्म सुली उत्पादन हुने गरेको छ । करिब ४० रोपनी क्षेत्रफलमा रहेको फार्ममा दुई लाख कुखुराका लागि चारवटा सुविधा सम्पन्न जर्मनी प्रविधियुक्त भवन निर्माण गरिएको छ । एउटा भवनमा ५० हजार चल्ला हुर्काउन र अन्य तीन भवन अण्डा उत्पादनका लागि निर्माण गरिएको छ ।
बन्द घरभित्र रहेका ती चल्लाले चार महिनामा अण्डा दिन्छन् । वातावरणमैत्री बन्द घरभित्र रहेका ती कुखुराका लागि आवश्यकता अनुरूपका दाना, पानी लगायत अन्य आवश्यक खाद्यवस्तु मेसिनद्वारा उपलब्ध गराइनेछ भने मेसिनद्वारा नै अण्डा पनि एकीकृत रूपमा जम्मा हुन्छ ।