कमलामाई नगरपालिका प्लाष्टिकको बोतल किन्दै

सिन्धुली :  सिन्धुलीको कमलामाई नगरपालिकाले प्लास्टिकजन्य फोहोर किन्ने भएको छ ।  नगरपालिकाकाले एउटा खानेपानीको खाली बोत्तलको ५० पैसा, चाउचाउ, चक्लेटका खोल लगायत अन्य प्लास्टिकजन्य फोहोर किलोको ५० रुपैयाँमा किन्ने जनाएको छ । फोहोर किन्नका लागि नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर नागरिकसँग आग्रह गरेको छ ।

नगरपालिकालाई प्लास्टिकमुक्त नगर बनाउनका लागि फोहोर किन्ने अभियानको थालनी गरिएको नगरप्रमुख खड्गबहादुर खत्रीले बताउनुुभयो । नगरवासीले प्लास्टिकजन्य फोहोर बेचेर आम्दानी गर्न सकिने उहाँले बताउनुुभयो ।
‘यस कार्यक्रमबाट स्थानीय र नगरपालिका दुवैलाई फाइदा पुग्नेछ, प्लास्टिकजन्य फोहर जथाभावी नफालिकन संकलन गरेर आय आर्जनमा वृद्धि गर्न सकिन्छ’ उहाँले भन्नुुभयो ।

फोहरको दीर्घकालीन सदुपयोग तथा व्यवस्थापनका लागि भने अब छिटै सर्वपक्षीय छलफलबाट निर्णय गरिने नगरप्रमुख खत्रीले बताउनुुभयो । नगरपालिकाले यसअघि नै प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाए पनि खासै प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।

नगरभित्र कुनै पनि प्रकारको प्लास्टिकका झोला प्रयोग गरेको पाइएमा जरिवाना गरिने भनिए पनि कसैलाई कारबाही भएको छैन । न त व्यवसायीले प्रयोग गर्न नै छाडेका छन् ।

गत वर्ष नगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय भेलाको आयोजना गरी असोज १ गतेदेखि प्लास्टिक झोला प्रयोग गर्न नपाइने घोषणा गरेको थियो । सो भेलाले प्लास्टिक झोलाको नियन्त्रणका लागि नियमित अनुगमन गरिने र प्रयोग गरेको पाइएमा जरिवाना असुल गर्ने जनाएको थियो । व्यवसायीले बिक्री गरेको पाइएमा पनि जफत र जरिवाना हुने बताएको थियो । तर हालसम्म एक पटक मात्रै बजारको अनुगमन गर्न भ्याएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार