उल्टो बग्दैछ जाडेखोलाको पानी, यसरी पूरा हुँदैछ २२२२ घरको सुरक्षित पानीको माग

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा पर्ने जाडेखोला मुहानको पानी अहिले ओरालो बगिरहेको छ । तर अब केही समयपछि नै जाडेखोला मुहानको पानी उल्टो बग्नेछ । अर्थात निरन्तर ओरालोतिर बगिरहेको पानी अब उकालो चढ्नेछ । जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जाडेखोलाको पानीलाई मुख्य पाइपलाइन मार्फत साढे १३ किलोमिटर उचाईमा चढाएर १४ वटा रिजर्भ्वायर ट्याङ्कीमा जम्मा गरी घरघर पठाउन लागेको हो ।

सम्झौता भएको २ बर्षभित्र सम्पन्न गर्ने गरी गत २०७५ असार २४ गते भएको सम्झौता अनुसार १४ वटा मुख्य तथा वितरण रिजर्भ्वायर ट्याङ्की मध्ये १० वटा ट्याङ्की निर्माण सम्पन्न भइसकेको जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार साढे १३ किलोमिटर मुख्य पाइपलाइन मध्ये साढे १ किलोमिटर र ७६.०९ किलोमिटर शाखा पाइपलाइन मध्ये २० किलोमिटर बिछ्याइसकेको छ ।

सम्झौता अनुसार २०७७ असार २४ गतेसम्म सम्पन्न गर्नुपर्ने भएपनि २०७६ सालभित्रै सम्पन्न हुने गरी काम भइरहेको सगरमाथा ड्रिलिङ एण्ड कन्ट्रक्सन कम्पनीका इञ्जिनियर सचिनकुमार मिश्रले जानकारी दिनुभयो । मिश्रका अनुसार करिब ६० प्रतिशत काम यही असार भित्र सम्पन्न गर्ने र २०७६ सालभित्रै खानेपानी उपलब्ध गराउने कम्पनीको योजना छ ।

सन् २०१७ मा गरेको सर्वेक्षण अनुसार खानेपानी आयोजना सम्पन्न भएपछि चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. १० ११ र १२ का २ हजार २२२ घरधुरी लाभान्वित हुनेछन् ।

खानेपानी समस्या झेल्दै आएका चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. १० ११ र १२ का बासिन्दा चाँडै निर्माण सम्पन्न गरी घरआँगनमै खानेपानी प्राप्त गर्न लालयित छन् । उनीहरु निर्माण कम्पनी सँगै उपभोक्ताले गर्नुपर्ने काममा रातदिन खटिरहेका छन् ।

स्थानीय बासिन्दाले खानेपानी आयोजना निर्माण कार्यमा देखिन सक्ने समस्याको समाधान तथा योजना निर्माणमा सहजीकरण गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा वडा अध्यक्षको संयोजकत्वमा सहजीकरण समिति समेत गठन गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार