डिवाससीसी काठमाडौले सरसफाइका बिषयमा महानगरपालिकासँग अन्तरक्रिया गर्ने

काठमाडौ : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) काठमाडौले सरसफाइ तथा स्वच्छताका बिषयमा काठमाडौ महानगरपालिकासँग अन्तरक्रिया गर्ने भएको छ । डिवाससीसी काठमाडौको बैठकले काठमाडौ महानगरपालिकासँग छलफल तथा अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।

महानगरपालिका सँग समन्वयको जिम्मा डिवाससीसी अध्यक्षलाई दिइएको छ । राष्ट्रिय सरसफाइ सप्ताहको अवसर पारी अन्तरक्रिया गर्न लागेको डिवाससीसीले महानगरपालिकाकै सहकार्यमा बीर अस्पताल तथा खुलामञ्चको सरसफाइ समेत गर्ने भएको छ ।

बैठकमा डिवाससीसीका सदस्य सचिव एवं खानेपानी तथा सरसफाइ डिभिजन नं. ५ का प्रमुख हरिदत्त पौडेलले काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न चर्पी बनाउन बाँकी घर पहिचान गरी चर्पी बनाउन लगाउनुपर्ने बताउनुभयो ।

बैठकमा सहभागीहरुको जिज्ञासा मेटाउँदै सदस्य सचिव पौडेलले चर्पी बनाएर प्रयोग गर्ने काम सरसफाइको आधारभूत तह मात्र भएको र ढल व्यवस्थापन तथा दिसाजन्य लेदो व्यवस्थापनको काम पूर्ण सरसफाइ अभियानका क्रममा गरिने बताउनुभयो ।

काठमाडौ महागरपालिका खुला दिसामुक्त घोषणा नभएसम्म राजधानी काठमाडौ खुला दिसामुक्त घोषणा नहुने र जिल्ला खुला दिसामुक्त घोषणा नहुँदा पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलाप पनि सञ्चालन हुन नसकेको उहाँको भनाई थियो ।

छिमेकी जिल्ला भक्तपुरमा पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलापहरु नियमित रुपमा सञ्चालन भईरहेको उदाहरण प्रस्तुत गर्दै उहाँले डिवाससीसी भक्तपुरले नै नियमित सरसफाइका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

काठमाडौ जिल्लाभित्रका ११ वटा स्थानीय तह मध्ये अब काठमाडौ महानगरपालिका मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयका अनुसार काठमाडौ महानगरपालिकामा अझै १ हजार ३०९ घरमा चर्पी बनाउन बाँकी छ । काठमाडौ महानगरपालिकाको ४ लाख ३६ हजार ३४४ घर मध्ये ४ लाख ३५ हजार ३५ घरमा शौचालय बनिसकेका छन् ।

संघीय राजधानी रहेको काठमाडौलाई नै खुला दिसामुक्त घोषणा गर्न समस्या भएपछि सरसफाइ अभियन्ता, सरकारी निकाय, विकास साझेदार तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सबैको चिन्ताको बिषय बन्न थालेको छ । हुन त अरु १२ जिल्ला पनि खुला दिसामुक्त घोषणा गर्न बाँकी छ तर काठमाडौ खुला दिसामुक्त घोषणा नहुँदा बाँकी ती जिल्लामा समेत सरसफाइ अभियान सञ्चालन गर्न समस्या भईरहेको सरसफाइ अभियन्ताको अनुभव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार