वास मेला सम्पन्न

काठमाडौं : राष्ट्रिय सरसफाइ सप्ताह र सिठि नखः को अवसरमा काठमाडौको बसन्तपुरमा भइरहेको वास मेला सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको मेलामा खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित नयाँ नयाँ प्रविधि, उत्पादित बस्तु तथा ज्ञान अभिबृद्धिका विभिन्न स्टलहरु राखिएका थिए । २ दिनको अवधिमा ४ वटा प्यानल डिस्कसन गरिएको थियो भने दिसाजन्य लेदोको व्यवस्थापनमा आधारित नाटक समेत प्रदर्शन गरिएको थियो ।

वास मेलाको पहिलो दिन स्थानीय तहमा दिसाजन्य लेदो व्यवस्थापन नीतिको आवश्यकतामा आधारित भएर प्यानल छलफल गरिएको थियो । छलफलबाट दिसाजन्य लेदोको व्यवस्थापन अपरिहार्य रहेको र यसका लागि स्थानीय सरकारले अहिलेदेखि नै एक्सनमा जानुपर्ने निचोड निकालिएको थियो ।

यस्तै शहरी स्वच्छताका बिषयमा गरिएको अर्को महत्वपूर्ण छलफलमा फोहोर जथाभावी विसर्जन, फोहोरपानी प्रशोधन बिनै विसर्जन गर्दा शहरी वातावरणमा असर पुग्ने भएकाले फोहोर पानी प्रशोधन गरेर मात्र विसर्जन गर्नुपर्ने र यसका लागि ढल प्रणालीका साथै फोहोर प्रशोधन केन्द्रहरु निर्माण गर्नुपर्ने बिषय उठेका थिए । हाल काठमाडौ उपत्यकाको केही स्थानमा फोहोर प्रशोधन केन्द्रहरु निर्माण भईरहेको र गुहेश्वरीमा निर्माण भईरहेको प्रशोधन केन्द्र साउन पछि सञ्चालनमा आउने जानकारी गराईको थियो ।

वास मेलाको दोस्रो दिन मूलधारका मिडियाहरुमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी समाचार किन प्राथमिकतामा पर्दैन ? भन्ने बिषयमा सम्पादक तहमा छलफल गरिएको थियो । यस्तै अन्तिम शत्रमा फोहोर व्यवस्थापनका चुनौती र समाधानका बिषयमा छलफल गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार